चालू आर्थिक वर्षको १० महिनामा महंगी, आयातनिर्यात घटेको छ भने नेपाल भित्रिने रेमिट्यान्स उल्लेख्य रुपमा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा प्रमुख सूचकहरु सुधारात्मक देखिएका छन्।
बैंकका अनुसार वैशाख मसान्तसम्म आयात २.४ प्रतिशतले, निर्यात ३.६ प्रतिशतले र वस्तु व्यापारघाटा २.३ प्रतिशतले घटेको छ।
तर रेमिट्यान्स १९.२ प्रतिशत र विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको छ। यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा पनि बढेको छ।
यस्तो छ देशको प्रमुख वित्तीय सूचकको अवस्था—
महंगी घट्यो
२०८१ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशतमा सीमित रहेको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा महंगी वृद्धिदरमा कम भएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ। भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ।
आयातनिर्यात घट्यो
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बस्तु आयात र निर्यात दुवै घटेको छ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई १ खर्ब २६ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो।
सोही अवधिमा वस्तु आयात २.४ प्रतिशतले कमी आई १३ खर्ब ३ अर्ब ३६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो।
बढ्यो रेमिट्यान्स
चालू आवको १० महिनामा १९.२ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा रेमिट्यान्स बढेको उल्लेख गरेको हो।
समीक्षा अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३.४ प्रतिशतले बढेको थियो।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७.१ प्रतिशतल वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो।
चालू खाता १ खर्ब ९३ अर्बले बचतमा
समीक्षा अवधिमा चालू खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो।
विदेशी विनिमय सञ्चिति बढ्यो
चालू आवको १० महिनामा वैदेशिक विनियम सञ्चिति रकम १९ खर्ब माथि पुगेको छ।
वैशाख मसान्तसम्म यस्तो सञ्चिति कुल १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो। गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको सञ्चिति चालू आवको १० महिनामा २६.२ प्रतिशतले बढेको हो।
उक्त सञ्चित रकमले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्नेछ।
कर्जा प्रवाह ४.७ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४.७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५३ अर्ब १७ करोड अर्थात ३.३ प्रतिशतले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।
२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ३.९ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ।
२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०८० वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो।
कहाँ कति विस्तार?
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.८ प्रतिशतले, नगद प्रवाह कर्जा २५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४४.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ प्रतिशतले र हायर पर्चेज कर्जा २१.८ प्रतिशतले घटेको छ।
Shares
प्रतिक्रिया