विक्रमले किराना पसल चलाउने बाजे जगतकृष्ण कर्माचार्यको संघर्षका कथा सुने, तर देख्न पाएनन्। बुझ्ने हुँदा ठूलाबा, बा र काकाले काँध थापिसकेका थिए। व्यवसायले व्यापकता पाउँदा सानो किराना पसल चलाउने कमाचार्य परिवार पोखराको व्यावसायिक घराना बनिसकेको थियो।
८ कक्षा पढ्दा नै उनले पुस्तौली बिँडो थाम्न सुरु गरे। उद्योगी र थोक विक्रेताको परिचय बनाएको ‘कर्माचार्य हाउस’मा बसेर बिल काट्ने, गोदामको रेखदेखलगायतका काम गर्न थाले। व्यापारीको छोरा- उच्च शिक्षामा वाणिज्य शास्त्र रोजे। बहुराष्ट्रिय कम्पनीको बजार विस्तार नीति, विज्ञापन बजार र त्यसले पार्ने प्रभाव, उपभोक्ताको चाहना पढाइकै क्रममा बुझे। एमबीएपछि उनी पूर्णकालीन व्यापारी बने।
कर्माचार्य ग्रुपकै कर्माचार्य बेक्स एन्ड फुड्सका लागि नयाँ उत्पादनको सिर्जना, ब्रान्डिङ र रि-इन्जिनियरिङको जिम्मेवारी लिए।
भयो कस्तो भने भारतमा डाइजेस्टिभ बिस्कुट लन्च भयो। बिपासा बसु अभिनित म्याक्भिटी डाइजेस्टिम बिस्कुटले बजार पिट्यो। विक्रमले सोचे, ‘अब डाइजेस्टिभको जमाना आयो।’
कर्माचार्य बेक्स एन्ड फुड्सले पनि आफ्नै ब्रान्डको डाइजेस्टिभ बजारमा ल्यायो। मिस नेपाललाई मोडल बनाएर बिस्कुटले आक्रामक प्रचार गर्यो। बिस्कुट चल्यो। किन त?
‘नेपालको बजारलाई भारतीय मिडियाले प्रभावित गर्छ, त्यहाँका बहुराष्ट्रिय कम्पनीहरुले मिडियाको प्रयोग गर्छन् र उपभोक्ता लोभ्याउँछन्, भारतीय मिडिया नेपालमा निर्वाध रुपले हेर्न पाइन्छ, त्यहाँ आउने विज्ञापन हेरेर उपभोक्ता प्रभावित हुन्छन्’, उनी उदाहरण दिँदै भन्छन्, ‘कुनै बेला नेपालीहरुले नुहाउने साबुन भनेकै मायालु भनेर बुझ्थे तर भारतीय टीभी च्यानल भित्रिएसँगै लिरिलले बजार लियो, हामी एभरेस्ट टुथपेस्टले ब्रस गर्थ्यौँ, त्यसको गुणस्तर पनि राम्रो थियो तर जब क्लोजअपले आक्रामक ब्रान्डिङ थाल्यो, नेपाली बजार पनि उसलै लियो, हाम्रा कम्पनी थला परे।’
४४ वर्षीय विक्रम राष्ट्रवादीजस्ता सुनिए। उनले थपे,‘नेपाललाई बहुराष्ट्रिय कम्पनीहरुको प्रभावबाट मुक्त गर्न नसकिने तर उनीहरुसँग प्रतिस्पर्धा गर्नाका लागि ब्रान्डिङ, प्याकेजिङ र विज्ञापनमा नयाँ सीप प्रयोग गर्नैपर्छ।’
कर्माचार्य डाइजेस्टिभ बिस्कुट अहिले नेपालको रुचाइएको ब्रान्ड हो। यो ब्रान्डले अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुमा चाहिँ राज्यको पनि सहयोग रहेको उनले बताए।
‘राज्यले कच्चा पदार्थ र तयारी वस्तु आयातमा फरक भन्सार दर कायम गरेको छ, त्यो भनेको उद्योगलाई प्रोत्साहन नै हो’, उनले थपे, ‘उत्पादनमूलक उद्योगले आजको दिनमा २० प्रतिशत आयकर तिरे हुन्छ, सय जनाभन्दा बढीलाई रोजगारी दिनेको हकमा थप २ प्रतिशत छुट छ, अहिले हामी १८ प्रतिशत आयकर तिर्छौं तर ट्रेडिङ व्यवसायमा त्यो दर २५ प्रतिशत छ, राज्यले उद्योगलाई सुविधा दिन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। कर्माचार्य समूह राज्यले दिएको सुविधाबाटै यहाँसम्म आएको भन्न लजाउनु पर्दैन।’
देशका ठूला घरानाहरु आयातित सामान बिक्रीमा लागिरहेका बेला कर्माचार्य समूहले भने बिस्तारै आफूलाई उद्योगमा अभ्यस्त बनाउँदै लगेको छ। गण्डकी आयल मिलबाट उत्पादित कोसेली तेल होस् कि डेरी, चामल होस् कि चकलेट- सबैमा भाग्य अज्माउँदै कर्माचार्य समूह अगाडि बढेको छ। तेस्रो पुस्ताका विक्रमको काँधमा यी उद्योगलाई अगाडि बढाउने जिम्मेवारीमात्र छैन, नीति निर्माण तहलाई झक्झक्याउँदै उद्योगमैत्री वातावरण पनि बनाउनु छ। नेपाल बिस्कुट उत्पादकक संघको महासचिव तथा लेखनाथ उद्योग वाणिज्य संघको सदस्यको हैसियतले उनले त्यो काम गरिरहेका छन्।
खुला सीमाका कारण हुने चोरी व्यापार नियन्त्रण, लागत घटाउन व्यवसायीहरुलाई विभिन्न छुट दिँदै उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको मत छ।
‘उद्योग खोल्दा फाइदा छ भन्ने कुरा सरकारले बुझाउनुपर्यो, नेपालमा अहिले आफैंले किन उद्योग गर्ने, बाहिरबाट सामान ल्याएर बेच्दा नाफा हुन्छ भन्ने घातक सोचको विकास भएको छ, यो डरलाग्दो छ’, उनले भने, ‘उद्योग क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा भार घट्दै छ। राजनीतिक दलहरुले भनेजस्तो ‘दलाल पुँजीपति’ सोचको विकास भएको छ, यसलाई निरुत्साहित गर्नैपर्छ।’
जसरी अहिलेका युवा पुस्तामा पढ्न विदेश जाने भन्ने लहर चलेको छ, त्यस्तै उद्योग हैन, व्यापार गर्नुपर्छ भन्ने गलत सोच व्यवसायीहरुमा पनि बढ्दै गएकामा उनी चिन्तित देखिए। उद्योगमा सुरुमा लगानी बढी लागे पनि उत्पादनले बजार लिन थालेपछि भने नाफामात्रै हुन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनले बताए।
४ सय जनालाई रोजगारी दिइरहेका विक्रमका सपना ठूला छन्। त्योभन्दा यो देशमै केही गरौँ भन्ने भावना छ। सुझावकै शैलीमा उनले थपे, ‘हाम्रो देश समृद्ध हुन कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास हुनुपर्छ, एउटै क्षेत्रमा मात्र निर्भर हुँदा अर्थतन्त्र जुनसुकै बेला पनि हल्लन सक्छ। कोभिडकालीन समयमा पर्यटन उद्योग थला पर्दा श्रीलंकामा भएको त्यही हो।’
विक्रम शान्त र भावुक देखिए। कुरा सकिएको हो र?
‘हैन हजुर, अझै केही भन्नु छ। यो देशमा जग्गा किनेर उद्योग खोल्न गाह्रो छ। सरकारले औद्योगिक क्षेत्र स्थापना गर्नुपर्छ। पोखरामै पनि राजनीतिक नेतृत्वमा यहाँ औद्योगिक क्षेत्र हैन, पर्यटनमात्र चल्छ भन्ने ‘प्रि-माइन्ड सेटअप’ छ, त्यसलाई बदल्नुपर्छ। मुख्य कुरा- अर्थतन्त्र एउटा क्षेत्रमा मात्र टेकेको हुनुहुँदैन।’
हो, यी युवा उद्योगी औपचारिक र अनौपचारिक कार्यक्रममा उद्योगमैत्री नीतिबारे चर्चा गर्छन्। नीतिगत तहमा रहेका व्यक्तिहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउनुपर्ने उनी बताउँछन्।
हो, उनै कर्माचार्य यही महिनाको तेस्रो साता आयोजना हुने लेखनाथ उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन्। प्रतिस्पर्धा त, व्यवसायमा पनि गर्नैपर्छ तर लेखनाथ क्षेत्रका उम्दा उद्यमी लामो यात्रामा निस्केका छन्। देशमै केही गरौं भन्ने पुस्ताको प्रतिनिधि पात्र बनेका छन्।
Shares
प्रतिक्रिया