ad ad

कारोबार


आम्दानीको बलियो स्रोत भुइँकटहर खेती

आम्दानीको बलियो स्रोत भुइँकटहर खेती

नेपालखबर
साउन २२, २०८१ मंगलबार ११:३५, नवलपरासी पूर्व

नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकिएका छन्।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्‍याउन व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाएका छन् । गत वर्ष खर्च कटाएर दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेका मगरले यस वर्ष भुइँकटहर राम्रो भएकाले तीन लाख बढी आम्दानी हुने बताए । ‘गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ’, उनले भने।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उनको भनाइ छ।

उनले अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको बताए । ‘यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ’, तुलबहादुरले भने।

अहिले भुइँकटर प्रतिगोटा ५५ देखि एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उनले बताए।

पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार लैजानुपर्ने बाध्यता रहेकोमा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताए। गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार लैजान समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उनले बताए।

उनले गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको बताए।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन्। दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ। 

गत वर्षमात्र यहाँका किसानले करिब ५० लाख रुपैयाँ बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .