ad ad

राजनीति


सरकार बिचौलियाले बनाइदिएको हो, बहुमतको घमण्ड गर्न खोजे दुर्भाग्य : प्रचण्ड

सरकार बिचौलियाले बनाइदिएको हो, बहुमतको घमण्ड गर्न खोजे दुर्भाग्य : प्रचण्ड

नेपालखबर
साउन २२, २०८१ मंगलबार ११:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडेको आरोप लगाएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा अध्यक्ष प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको जिकिर गरे। 

‘सरकारले दलाल, बिचौलिया, तथाकथित उद्योगी व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको छ। सरकारले यो दुःसाहस नगरोस्, राज्यको अर्बौं सम्पतीलाई छुट दिने किसिमले चलखेल नगरोस्। मलाई सबै थाहा छ, मैले बोल्छु नै एकदिन। सरकार विल्कुल गलत बाटो छ,’ प्रचण्डले भने। 

साथै, उनले अहिलेको सरकार नै विचौलियाले बनाइदिएको बताउँदै उनीहरूकै सेवा गरिरहेको जिकिर गरे। 

‘सरकार नै विचौलियाले बनाइदिएको छ। त्यसैले सरकारले उनीहरूको सेवा त गर्ने नै भयो,’ उनले भने।

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने उनको भनाइ थियो। सरकारले  यो विषयलाई गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी प्रचण्डले दिएका छन्। 

‘हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिओस्। सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ,’ उनले भने।

फरक प्रसंगमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको भन्दै विधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि समर्थन गर्ने बताए।

‘हामी संविधान संशोधनको विरोधी होइन, संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर अझ त्यसलाई परिमार्जन गर्न, जनतालाई अझ धेरै अधिकार दिनका लागि यो देशका सबै जाति, उत्पिडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि संविधान संशोधनको पक्षमा छौँ,’ उनले भने। 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा जोड दिँदै प्रचण्डले सरकार दलाल, विचौलिया, उद्योग व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको आरोप लगाए।

‘तर अहिलेको सरकारको प्रकृति, विगतको उनीहरूको इतिहास, पृष्ठभूमि सबै हेर्दा उनीहरुले खोजेको परिमार्जन होइन । संविधानलाई अझ बढी जनतालाई सम्पन्न बनाउनको लागि होइन, जनताको अधिकार कटौति गर्ने उद्देश्य अन्तरनिहित भएको हुनाले त्यसको आलोचना गरेको हो,’ उनले भने, ‘दुई पार्टी मिलेर मात्रै संविधान संशोधन गर्नसक्ने स्थिति छैन। अहिलेको पार्टीहरुको प्रतिनिधि सभा र राष्ट्रिय सभामा जस्तो उपस्थिति छ, उनीहरुले मात्रै गर्दैमा संविधान संशोधन संविधानतः कानुनतः हुनसक्ने स्थिति नै छैन। यसको कुनै तात्विक अर्थ छैन।’

उनले संविधान संशोधनको विषयलाई अधिकार कटौती गर्नेगरी दुस्साहस भएको खण्डमा सडकबाटै प्रतिवाद गर्ने चुनौती पनि दिएका छन्। 

‘त्यो दुःसाहस गरियो, जनताले प्राप्त गरेको समानुपातिकता, समावेशिताको अधिकार कटौती गर्ने दुस्साहस गरियो भने त्यो नेपाली जनतालाई पनि सह्य हुन्न। हामी विगतमा जस्तै सडकमा गएर प्रतिवाद गर्न बाध्य हुन्छौँ,’ अध्यक्ष प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .