ad ad

कला


नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १२:४१,

श्रृंखलावद्ध प्रस्तुती लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ।

त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले केहि वर्षयता लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दैआएको छ। सन् २००९ बाट सुरुभएको यस्तो यात्राको यो चौथो श्रृंखला हो। यसपटक नेपथ्यको भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ।

केहि दसक यता अष्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन्। नेपाली संगीतको आस्वादलाई आफुसँगै बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ।
यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ। त्यहाँस्थित फोर्टिच्यूड म्यूजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपाली लोकरकको चीरपरिचित स्वर नेपथ्यले गुञ्जाउने छ।

ब्रिसबेनपछि नेपथ्यले उत्तर तर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ प्रस्तुती दिएपछि अन्तिम प्रस्तुतीको लागि मेलवर्न पुग्ने छ। यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ।

 नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो। आफ्नो प्रिय ब्याण्डले फेरि अष्ट्रेलियाको यात्रा गर्न थालेकोमा त्यहाँस्थित नेपालीहरु अत्यन्त खुशी रहेको ‘नेपाली टच’का दिपेश पुनले बताए। अष्ट्रेलिया स्थित नेपाली टचको संयोजनमा नेपथ्यको कार्यक्रमहरुको स्थानीय आयोजना ब्रिसवेनमा माउन्ट ८८४८ इभेन्ट, डार्विनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एंड ३ इभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलवर्नमा नेप्ले इभेन्ट ले गर्नेछ भने सिड्नीको आयोजना नेपाली टच आफैले गर्ने छ।

‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममै पहिले कहिलै प्रस्तुत् नगरेका केहि गीत पनि यसपालाको अष्ट्रेलिया यात्रामा सुनाउने भएका छौं।’ आफ्नो घर परिवार र समाजभन्दा टाढा रहेका नेपालीहरुलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए।

 अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

कार्यक्रमको निर्माण पक्ष नेपालयले जिम्मा लिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .