ad ad

कला


ब्रिसबेनमा ‘रातो र चन्द्रसूर्जे’

ब्रिसबेनमा ‘रातो र चन्द्रसूर्जे’

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ११:१८,

काठमाडौंको एउटा रात्री क्लबमा पूर्व राजाले नृत्य गरेको गीत ‘रातो र चन्द्रसूर्जे’ नेपाली समुदायका बीच थप चर्चित भइरहेकै बेला त्यसलाई झण्डै डेढ दसकदेखि गाउँदै आएको नेपथ्यले ब्रिसबेनमा सुनाउँदा यताका दर्शक पनि उत्तिकै उत्साहित बन्नपुगे।

ब्याण्डको यसवर्ष श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको प्रथम विन्दु ब्रिसबेनमा यसरी मंगलबार नेपथ्यको कन्सर्ट भब्य रुपमा सफल भएको छ। अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा नेपथ्यको यो चौथो प्रस्तुती हो।

एक दसक अघिसम्म पनि मुश्किलले करिब हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनौट गर्नेहरु विस्तारै बढ्दै गएका छन्। सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्यूड म्यूजिक हल’को क्षमता भरिनेगरि दुइ हजारभन्दा बढी दर्शक कार्यक्रममा अटाएका थिए। स्थानीयका अनुसार आजसम्मै कुनै पनि नेपाली कार्यक्रममा यति धेरै दर्शक जुटेको संभवत यो पहिलोपटक थियो।

‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुती पनि बन्नपुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेत भन्छन्, ‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो।’

सबै पुस्ताका दर्शकले भरिएको हलमा वृद्ध बा आमादेखि साना केटाकेटीसम्म लिएर आउने को संख्या उल्लेख्य थियो। चाहे विचारले होस् वा व्यावसायले, यति विविधताले भरिएका दर्शक एकै ठाउँमा रमाइलो गर्न आइपुगेको पनि आफूले पहिलोपटक देखेको सुनिल थप्छन्।

‘संगीतले कसरी फरक फरक मानिसलाई एकै ठाउँमा ल्याएर जोड्दो रहेछ भन्ने यसले साबित गरिदिएको छ,’ उनले आफ्नो अनुभवसहित थपे, ‘धेरै नेपाली कार्यक्रम आयोजना गर्दैआएको भएता पनि सबैलाई एक ठाउँमा जोड्नसक्ने हिसाबले चाहिँ नेपथ्य साँचो अर्थमै नेपाली बीच एकताको दूत बन्दै गएको पाएँ।’

मंगलबार ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा सुरु गरेको यात्रा को छ प्रस्तुति मध्ये पहिलो कार्यक्रम सम्पन्न गरेको छ।

‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भिर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन्।’

कन्सर्ट अवधिमा उनले विदेसमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे।

04_Nepathya_frontman_Amrit_Gurung_in_Brisbane._Photo-Saurav_Katwal.jpg

कार्यक्रममा ‘यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतहरु बज्दा सधैँजस्तै श्रोता दर्शक चरम आनन्दमा पुगेका थिए। त्यसैगरि नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका श्रोतादर्शक असाध्यै रमाएका देखिन्थे। विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरुले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरुबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन्। कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो।

‘सबै उमेर र वर्गका दर्शकहरुलाई यसरी एकै ठाउँमा आएर नेपाली संगीतमा रमाएको देख्दा गौरव महशुस भइरहेको छ,’ अमृतले भने, ‘तपाइहरुको यो साथ र माया को निम्ति म धन्यवाद दिन चाहन्छु।’

नेपथ्यको अष्ट्रेलिया श्रृंखलालाई सिड्नीस्थित ‘नेपाली टच’ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ले आयोजना गरेको थियो।

टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ तारिख फेरि नेपथ्य घन्किने छ। त्यहाँस्थित स्थानिय आयोजक ‘गोर्खा पल्टन’ले नेपथ्यलाई शुक्रबार बेलुकी ‘इटालियन क्लब’मा उपस्थित गराउँदैछ।

अष्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपाला आफूलाई यस मुलुककै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत पहिलोपटक उभ्याउँदैछ।

यो यात्राको अन्त्य भने डिसेम्बरको २३ तारिख मेलबर्नको क्राउनस्तिथ‘पाल्म्स’मा पुगेर हुनेछ।

ब्याण्ड र व्यवस्थापनको १२ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .