कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो?
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?
तिम्लाई कल्ले किन्दियो ?
केही दिनअघि सार्वजनिक भएको गीत ‘सकम्बरी’मा गायक प्रकाश सपूतले यस्तै प्रश्न गरेका छन्। प्रकाशले गीतमार्फत रहर र बाध्यतामा पिल्सिएर गाउँबाट सहर आइपुगेकी एक युवतीलाई यस्ता थुप्रै प्रश्न गरेका छन्।
गीतको भिडिओमा बाध्यताको भूमरीमा अल्झिएकी युवती फूलमाया उर्फ सकम्बरीको देह व्यापारलाई देखाइएको छ। कतिले गीतको प्रशंसा पनि गरिरहेका छन्, तर केहीले प्रकाशमाथि थुप्रै प्रश्न तेर्स्याएका छन्।
प्रकाशले भिडिओमा महिलालाई केवल वस्तुका रूपमा प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ। समाजमा विद्रोह गरेर स्थापित भएका महिलाको गीतले अनादर गरेको आरोप उनीहरूको छ।
फेसबुकमा सृजना पोखरेल लेख्छिन्, ‘महिलाहरू अलिकति सफल, धनी हुनेबित्तिकै बदनाम गर्न शब्दको कमी थियो क्यारे, अब गीत नै आइदियो। लय हाली हाली बदनाम गर्न सजिलो होस् भनेर होला। अझ त्यही गीतलाई ‘नारीवादी’को पदक पनि चाहिएको छ।'
उनले अगाडि लेखेकी छन्, 'सबै आफै किनेको हो दाइ। अरुले किन्देकै भएपनि, तिम्रो मतलबको कुरा होइन। नियत सही होला, तर सधैं नियतकै डोरी पक्डिरहेर पुग्दैन। अबदेखि यस्ता गीत बनाउँदा सम्झिनुहोला, अन्तिममा केही भावनात्मक संवाद राखेर गीत प्रगतिशील बन्दैन। बच्चाबच्चाको जिब्रोमा गीतका शब्द झुन्डिन्छन्, संवाद होइन।’
गीतलाई लिएर साबित्री ढकाल लेख्छिन्, ‘शरीर बेचेर होस् या श्रम, त्यो श्रमिकको आफ्नो कमाइ हो, कसैको निगाहा होइन! लौ न चरी यति संदेश पुर्याइदेउ सकम्बरीको टिमलाई।’
पछिल्लो गीतलाई लिएर धेरैले प्रकाशले महिलाको संवेदनालाई बेचेको भन्ने सवाल उठिरहेका छन्।
कवि शेखर विकल्पले पनि सामाजिक सञ्जालमार्फत प्रकाशमाथि प्रश्न उठाएका छन्। उनले गीतले पारिजातकृत शिरिषको फूलकी सकम्बरी पात्र साहित्यकै मानक भएको तर उनको चेतना सौन्दर्यकै हुर्मत लिनेगरी प्रकाशले आधुनिक पात्रको धज्जी उडाएको आरोप लगाएका छन्।
'पुँजीवादको जगमा टेकेर मार्क्सवादलाई दुत्कार्ने दुष्प्रयास गरे जस्तो देखिन्छ। गीतको विषयवस्तु पनि हिन्दी नेपाली सिनेमाकै धेरैपटक दोहोरिएको पट्यार लाग्दो कथा छ,' उनले भनेका छन्, 'नारी भावनाको अतिशय बेचेर दुईचार दिन दुईचार जनाको वाहवाही त बटुल्लान् तर यसले दीगो प्रभाव राख्दैन।'
यस्तै भेषराज बुढाथोकीले प्रकाशले अधिकांश गीतमा महिलाले शरिर बेच्छन् भन्ने विषयबस्तुमा गीत गाइरहनुको पछाडिको कारण सोधेका छन्।
'महिला दिदीबहिनीहरू त्यति कमजोर पनि हुँदिनन् , जति प्रकाश सपूतले पीर र सकम्बरीमार्फत देखाए,' उनले प्रश्न गरेका छन्, 'प्रकाश अधिकांश गीतमा महिलालाई कमजोर देखाएर , शरीर बेचेको पटकथा किन घुसाउछन्?महिलाले शरीर बेच्छिन् वाला थिम किन गाइरहेका होलान्?'
यस्तै एलिसा एकलासले आफ्नो कलेज अनुभूति साझा गर्दै प्रकाश पनि त्यही समाजको उत्पादन भएको बताएकी छन्।
'ब्याचलर पढ्दाखेरी हो, मलाई अग्रज (उमेरले भनौं) भनिने मान्छेहरुले सोध्थे- बा आमाले देको पैसाले काठमाडौंमा काम नगरी बस्न पुग्छ? कहिलेकाहीँ हामीलाई नि यसो सम्झिनु नि, परेको बेला हेल्प गरौंला,' उनले लेखेकी छन्, 'इज्जतै फाल्दिनी- यो त हरेक पेशामा लागेका महिलाको 'सक्सेस'पछाडि समाजिक सत्ता र त्यसका पहरेदारले झुन्ड्याइदिने पदक हो, प्रकाश सपूत पनि यही समाजको मान्छे हो, उसलाई थाहा छ यो समाजको सत्तालाई कसरी रेप्रिजेन्ट गर्नुपर्छ।'
यी र यस्तै थुप्रै प्रश्न सपूतमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले उठाएका छन्।
पीर र सकम्बरी गीतमार्फत प्रकाशले नारीलाई निरीह पात्रको रूपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा उनीमाथि प्रश्न उठिरहेका छन्। यसअघि प्रकाशले पीर गीतमार्फत पूर्वलडाकु महिलाले देह व्यापार गरेको दृश्य प्रस्तुत गरेका थिए। चौतर्फी आलोचना भएपछि उनले उक्त दृश्य हटाएका थिए।
अहिले पुन: गाउँबाट संघर्षका लागि आउने एक महिला दलदलमा फसेर देह व्यापारमा रूमलिएको र त्यो गलत भएको पाठ गीतमार्फत प्रस्तुत गर्ने प्रयास प्रकाशले गरेका छन्।
प्रश्न उठिरहँदा प्रकाश भने मौन छन्। सांगीतिक कार्यक्रमका लागि देश बाहिर पुगेका प्रकाशले यी सवालको कुनै जवाफ दिएका छैनन्।
दुई दिनअघि युट्युबमा राखिएको यो गीत ३० लाख बढीले हेरिसकेका छन्।
Shares
प्रतिक्रिया