ad ad

कला


प्रकाश सपुतको ‘सकम्बरी’प्रति रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति, भिडिओ हटाउन माग

प्रकाश सपुतको ‘सकम्बरी’प्रति रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति, भिडिओ हटाउन माग

नेपालखबर
बैशाख ६, २०८० बुधबार ८:४४, काठमाडौँ

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ अपाच्य भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। 

संघले विज्ञप्ति जारी गरी सकम्बरी गीत तथा भिडिओले महिलाको अस्मिताविरुद्ध प्रहार गरेको उल्लेख गर्दै यसलाई युट्युबलगायत सामाजिक सञ्जालबाट हटाउन गायक सपुतलाई अनुरोध पनि गरेको छ। ‘सकम्बरी’ गीतले रात्रिकालीन व्यवसायीहरूविरुद्ध पनि नकारात्मक सन्देश फैलाएको दाबी संघले गरेको छ। 

‘गलबन्दी च्यातियो तिम्ले तानेर’जस्तो मौलिक र ‘बोल माया’जस्ता मार्मिक गीतका रचनाकार तथा गायक प्रकाश सपुत केही समययता भाइरल हुनकै लागि नेपाली छोरी/नारीको अस्मिताविरुद्ध मजाक, व्यंग्य प्रहारमा सक्रिय भएको आरोप पनि संघले लगाएको छ। 

यद्यपि संघले केही महिला बाध्यता र परिस्थितिले यौन व्यवसायमा फसेको यथार्थलाई भने स्वीकार गरेको छ। तर यसो भन्दैमा कला क्षेत्रमा आउने सबै महिलाले यसै गरेका छन् त भनेर संघले गायक सपुतलाई विभिन्न प्रश्न गरेको छ। 

‘होला केही बाध्यता र परिस्थितिले यसमा फसेका पनि छन्। कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईंको भनाइमा ‘वेश्यावृत्ति’ गरेर नै यस क्षेत्रमा आएका हुन् र स्थापित भएका हुन् त’, विज्ञप्तिमा भनिएको छ, ‘तपाईंजस्तो भुँइमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त?’

संघका अन्य प्रश्न यस्ता छन्– अनि महिलाले राम्रो अवसर पाउन/चर्चित हुन शरीर बेचेकै हुन्छन्? वा बेच्नु नै पर्छ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य छैन? मेहनत र संघर्षको बाटो छैन? के रात्रिकालीन व्यवसायमा संलग्न सबै नारी/छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त? 

‘यस्ता प्रश्नको उत्तर आउने रचना र शब्द लेखनमा तपाईंको दिमाग, हात र मुख चल्यो भनेचाहिँ सकरात्मक सन्देश जान्थ्यो, यसो गर्दा तपाईंको कमाइ नहुने हो र’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तपाईंको यो गीतले सबै महिलालाई आक्षेप लाग्ने काम भयो, यो निन्दनीय छ। यसकारण हामी रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ प्रकाश सपुतज्यूलाई आफ्नो यो भिडिओ युट्युबलगायत सामाजिक सञ्जालहरूबाट हटाउन र नेपाली नारीहरूको अस्मिताको रक्षा गर्न र भूकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रिकालीन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार नगर्न अनुरोध गर्दै तपाईंले हाल बजारमा ल्याएको सकम्बरी (फूलमाया) गीतको भिडिओ र केही शब्दप्रति हाम्रो आपत्ति रहेको कुरा जानकारी गराउँदै घोर निन्दा र भर्त्सना गर्दै यो विज्ञप्ति जारी गर्दछौँ।’

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .