बलिउडकी सफल कोरियोग्राफर हुन् सरोज खान। उनले कुनै पहिचानको लोभ बिनै आफ्नो जीवन बलिउडमा खर्चिन्।
आफ्नो कामकै कारण उनले ‘द मदर अफ कोरियोग्राफी इन इन्डिया’को उपाधि पाइन्।
सरोज आएपछि बलिउडमा कोरियोग्राफीको महत्व र अर्थ नै फेरियो। सरोजको शास्त्रीय संगीत र भारतको लोकनृत्यलाई पर्दामा सुन्दर रुपमा प्रस्तुत गरेर लोकप्रिय बनाउनुमा विशेष योगदान छ।
उनले आफ्नो जीवनकालमा विभिन्न अवार्ड जितिन्। कुनैबेला खानैका लागि संघर्ष गरेकी सरोजसँग जीवनको अन्त्यतिर अथाह सम्पत्ति थियो।
सरोजको जन्म २२ नोभेम्बर १९४८ मा भएको हो। सानैबाट उनमा कलाप्रति पागलपन थियो। तीन वर्षकी हुँदा भित्तामा आफ्नो छाया हेरेर हातखुट्टा हल्लाउने गर्थिन्। आमाले छोरी मानसिक बिरामी भएको आशंकामा अस्पताल लगिन्। तर डाक्टरले नाच्न देऊ भनेर फर्काए।
परिवार आर्थिक संकटमा थियो। सरोज ४ वर्ष हुँदै फिल्ममा आवद्ध भइन्। ५ वर्षकी हुँदा फिल्म ‘नजराना’मा श्यामाको भूमिका निर्वाह गरिन्।
त्यसपछि फिल्म ‘आगोश’को एउटा गीतमा राधा बनेर नाचिन्। १० वर्षमा सरोजको भेट मधुवालासँग भयो। उनले मधुवालासँग ग्रुप डान्स गरिन्। सन् १९५८ मा रिलिज भएको ‘हावडा ब्रिज’मा पुरुष भएर देखिइन्।
सरोज १२ वर्षकी हुँदा क्यान्सरका कारण बुवाको मृत्यु भयो। त्यसपछि उनको परिवार झन् संकटमा फस्यो।
उनका ४ बहिनी र १ भाइ थिए। सबैको जिम्मेवारी उनकै थाप्लोमा आइपर्यो। १३ वर्षमै कोरियोग्राफीतिर लागेकी उनले अन्ततः आफूलाई अब्बल मात्रै साबित गरिनन् बलिउडमा थुप्रै कुरा स्थापित गरिन्।
तर उनको यात्रा त्यति सहज थिएन। लामो समय सिनियर नृत्य निर्देशक बी. सोहनलालको सहायकका रुपमा काम गरिन्।
सोहनलालले सरोजलाई थुप्रै कुरा सिकाए। नृत्यका स–साना कला सरोजलाई उनैले सिकाइदिए। १४ वर्षकी हुँदै सरोजले सोहनलालसँग विवाह गरिन्। विवाह गर्दा सोहनलाल सरोजभन्दा ३० वर्ष जेठा थिए्।
विवाह गरेकै वर्ष सरोजले फिल्म ‘डा. विद्या’को एउटा गीतमा कोरियोग्राफी गरिन्। बिहेको पछिल्लो वर्ष सरोज आमा बनिन्। उनले १५ वर्षमै छोरो राजु खानलाई जन्म दिइन्।
छोराको जन्मपछि सरोजले सोहनलाल पहिला नै विवाहित भएको थाहा पाइन्। त्यसपछि दाम्पत्य जीवनमा चिसोपन सुरु भयो।
सोहनले पनि दोस्री पत्नीका रुपमा भित्रिएकी सरोजलाई महत्व दिन छाडे। यहीबीचमा सरोज दोस्रो पटक आमा भइन्।
उनले छोरी कुकुलाई जन्म दिइन्। त्यसपछि सरोज २ सन्तान लिएर सधैँका लागि मद्रास गइन्।
सोहनलाई छोडेर हिडेँपछि सरोजको संघर्ष रोकिएन। छोराछोरीको जिम्मेवारी एक्लै उठाएकी सरोजले ८ महिनामा छोरी गुमाइन्।
छोरीको मृत्युमा राम्रोसँग रुन समेत पाइनन्। सन् १९६५ मा सरोजकी छोरीको मृत्यु भयो। उनले छोरीको शव सलमा बेरेर अन्तिम संस्कार गरिन्। त्यही दिन बेलुका रेल चढेर एउटा गीतको सुटिङका लागि हिँडिन्। सन्तानवियोगको पीडा बोकेर सरोजले कोरियोग्राफी गरेको गीत ‘दम मारो दम’ लोकप्रिय बन्यो।
सरोजले फिल्म ‘गीता मेरे नाम से’बाट स्वतन्त्र कोरियोग्राफीको करिअर सुरु गरिन्। सन् १८७५ मा व्यापारी रोशन खानसँग दोस्रो विवाह गरिन्।
दोस्रो श्रीमानबाट सरोजले छोरी सुकैनालाई जन्म दिइन्। सरोजले कोरियोग्राफीमा आफ्नो पहिचानका लागि लामो समय कुर्नु पर्यो।
फिल्म ‘नगीना’बाट सरोजले बेग्लै पहिचान बनाइनन्। यो फिल्ममा सरोजले श्रीदेवीलाई ‘मे तेरी दुस्मन’मा नचाइन्।
सन् १९८७ सरोजले फेरि अर्को पटक ‘मिस्टर इन्डिया’मा श्रीदेवीलाई नै पुनः कोरियोग्राफी गरिन्।
त्यो गीत थियो ‘हवा हवाई।’ त्यसपछि सरोजको लोकप्रियता घरघरमा पुग्यो। यही बेलादेखि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन।
Shares
प्रतिक्रिया