मिस तामाङको पाँचौँ संस्करण शनिबार पोखरामा हुँदैछ। पोखरा सभागृहमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले विहीबार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो।
समाजका अध्यक्ष ज्याक तामाङले हरेक वर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताए। मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको यो ल्होसार म्युजिक फेस्टिभल को यो सातौँ संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ हुन लागेको हो।
प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउदै छन्। सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ। प्रतियोगिता संयोजक कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिता भन्दा यो भिन्न रहेको दावी गरिन्।
उनले रुपमा सौन्दर्य प्रतियोगिता जस्तो देखिएता पनि गहिराइमा मिस तामाङ भाषा, संस्कृति र संस्कारलाई युवा पुस्तामाझ परिचय गराउन आयोजना गरिएको बताइन्। प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन्।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन्। भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन्।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन्।
प्रतिक्रिया