ad ad

कला


बगान हेरेर भावुक बने एकल आमाहरू

बगान हेरेर भावुक बने एकल आमाहरू

नेपालखबर
साउन ४, २०८० बिहिबार १२:३२, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आइरहेका छन्। पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो।

उनीहरूले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए। निर्माण समूहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की उपत्यकाका विभिन्न हलमा पुगेका थिए।

राइजिङ मलमा रहेको क्युज सिनेमाजमा फिल्म हेरेर निस्किँदै गरेकी एकल आमा विमला पराजुलीले पर्दामा आफ्नो जीवनलाई देखेको बताइन्। उनले भनिन्,‘यो हाम्रै कथा रहेछ। किनकि यस्तै भोगाई हामी धेरैको छ। यसले दिएको सन्देश समाजसँगै परिवारका सदस्यले ग्रहण गर्न सके परिवर्तन सम्भव छ।’

अधिकांश एकल आमाले समाजमा फिल्म देखिएको जस्तो पात्र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। फिल्म हेर्दा रोइरहेका दर्शकहरू आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा भावुक बनेका थिए। अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरू एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए। उनीहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराएको बताए।

एकल आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरू र छोरीहरूले स्याबासी दिएका थिए। डेब्यु नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन्। पहिलोपटक चलचित्रमा देखेको भएतापनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को फिल्ममा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन्।

दर्शकसँग साक्षात्कर गर्न भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा कलाकारहरू पुगेका थिए।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन्।

निर्देशक खनालले प्रिमियर झैँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी व्यक्त गरे। 

उनले भने,‘यसको प्रभावले केही जीवनलाई पनि स्वतन्त्र बनायो भने हामी सफल हुन्छौं। हलसम्म आउनुभएको परिवारका सम्पूर्ण सदस्यले एकल आमाको खुशीको बारेमा सोच्नु हुनेछ। उहाँहरूको धन्यवाद र आशिर्वाद हाम्रो लागि ठुलो सफलता हो।’

स्वप्निल नीरवको कथामा आधारित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो। यसका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ।

‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ। ‘बगान’ देशभरका १०० भन्दा बढी हलमा १५० भन्दा बढी शो सङ्ख्या सहित चलिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने,‘वर्षातका बाबजुद पहिलो दिनको व्यापार राम्रो छ। हलसम्म आउनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ। यसको व्यापार बढ्नेमा दुईमत छैन। स-परिवार हेर्न आउने क्रम बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .