ad ad

कला


मरेका मान्छेसँग कुरा गराइदिने फिल्म ‘टक टु मी’ (भिडिओ)

मरेका मान्छेसँग कुरा गराइदिने फिल्म ‘टक टु मी’ (भिडिओ)

नेपालखबर
साउन २०, २०८० शनिबार ७:१९, काठमाडौँ

तपाईंलाई सानोमा बज्यैको काखमा पल्टेर सुनेको दन्त्यकथा पक्कै याद होला, जुन कथाको पात्र झाँक्रीले विशेष बुटी र मन्त्रमार्फत मध्यरातमा हवन लगाई मरिसकेका मान्छेसँग तिनका नातागोतालाई संवाद गराइदिन्थे। हामी डराईडराई कुनामा बसी यस्ता कथा सुनेर ‘थ्रिल’ को आनन्द उठाइरहेका हुन्थ्यौं। हिजो कथा सुनेर गरिने भूतको यस्तो परिकल्पना अब काँचको पर्दामा जीवन्त भएर हाम्रो थ्रिलको आयतन बढाउन आइपुगेको छ। 

विश्वभरका मल्टिप्लेक्स हलहरूमा एकसाथ रिलिज अंग्रेजी सिनेमा ‘टक टु मी’ ले यस्तै भूतप्रेतको कथा भन्छ। तर यसमा हामीले सुन्ने दन्त्यकथामाझैँ झाँक्रीले नभई कलेजमा पढ्ने तन्नेरीहरूले मरिसकेका मान्छेसँग साक्षात्कारको डरलाग्दो खेल आयोजना गर्ने गर्छन्। यो अस्ट्रेलियन समाजमा सुनिने दन्त्यकथामा आधारित कथा हो।

कथा  यस्तो छ –  

तन्नेरी जोडीहरूको एउटा समूहलाई हत्केलाको यस्तो आकृति प्राप्त हुन्छ, जसको सहयोग लिई मरेका मान्छेसँग संवाद गर्न सकिन्छ। ती तन्नेरीहरू भेला हुन्छन् र  यस्तो कर्मलाई खेलका रूपमा खेल्छन्। पालैपालो मरेको मान्छेसँग कुरा गर्छन्। त्यसको ‘थ्रिल’बाट भरपूर मनोरञ्जनन लिन्छन्। 

यस्तो खेलबाट आनन्द उठाइरहेका यी तन्नेरीहरूको जीवनमा संकट त्यतिबेला आइलाग्छ, जतिबेला १७ वर्षीय मियाले आफ्नो बुवासँगको अप्रिय सम्बन्धका कारण आत्महत्या गरेकी आमा प्रिय साथीको कान्छो भाइ रिलेको शरीरमा पसी दु:खको कथा सुनाउन आइपुग्छिन्। त्यसपछि के हुन्छ? मरेका मान्छेका आत्माले कसरी जिउँदो परिवारमा उथलपुथल ल्याइदिन्छ र तन्नेरीहरूको समूहले त्यसलाई कसरी सामना गर्छ– टक टु मी मा मज्जाले फिल्मांकन गरिएको छ। 

फिल्ममा हामीले अन्धविश्वास मानिने कथालाई जसरी क्यामरा र संगीतको समिश्रणमा दृश्यांकन गरिएको छ, त्यसले २ घण्टासम्म बाँधेर राख्छ। निर्देशक ड्यानी फिलिप्पो र माइकल फिलिप्पोले सिनेमाटोग्राफर आरोन म्यालिस्कीसँग मिलेर अन्य हरर फिल्ममा झैँ दर्शकको मुटुको चाप बढाउने काम मात्र गरेका छैनन्, साथमा पारिवारिक सम्बन्धको भावनात्मक पाटोलाई गजबले दृश्यमा ढालेका छन्। गिअप ल्याम्बको सम्पादनले फिल्मलाई चुस्त र छरितो बनाइदिएको छ। यो हरर जनराको फिल्म भए पनि औसत हरर फिल्मभन्दा यो निकै भिन्न लाग्छ। तन्नेरी कलाकारहरूबाट गजबको काम लिइएको छ। त्यसैले काठमाडाैंका हलहरूमा यो सिनेमा हेर्न तन्नेरीहरूको भीड लागेको छ। 

नेपालखबर मल्टिमिडिया टिमले यो थ्रिलर सिनेमा लबिङमलस्थित क्यूएफएक्स हलमा हरेको थियो। हल तन्नेरीहरूको भीडले खचाखच थियो। यदि तपाईं हरर, थ्रिलर र रोमान्सको आनन्द उठाउन चाहनुहुन्छ भने टक टु मी एउटा गजबको रोजाइ हुनसक्छ। तर यो सिनेमा १६ वर्षभन्दा कम उमेरकालाई हेर्ने अनुमति नभएकाले त्यसमा चाहिँ ध्यान दिनुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .