सहरमा हरेक दिनजसो हुने फिल्मी कार्यक्रम। रंगीन र चमकदार दुनियाँ। हरेक साता कम्तीमा दुई नयाँ फिल्म रिलिज र भव्य प्रिमियर। कार्यक्रममा कलाकारले खिचेर सामाजिक सञ्जालमा पोस्ट्याएका किसिमकिसिमका तस्बिर र त्यसमा आउने प्रतिक्रिया। यी सबै कुराबाट बेखबर जस्तै बनेर ध्यानमा लीन भैसकेकी छिन्, अभिनेत्री सोविता सिम्खडा।
उनी सामाजिक सञ्जालमा फिल्म उद्योगका अन्य कलाकार जस्तै सक्रिय देखिन्छिन्। तर उनको सञ्जालमा ध्यानसँग सम्बन्धित सामग्री भेटिन्छन्। उनले कुनै दिन सपना देखेर बडो मुस्किलले पाइला राखेको फिल्म उद्योगसँग सम्बन्धित पोस्ट मुस्किलले फेला पर्छन्।
सोविताको जन्म योगी परिवारमा भएको हो। उनी बुबासँगै बसेर ध्यान गर्दै हुर्किन्। हुर्कंदै गर्दा सपना देखिन्, पर्दाको नायिका हुने। उनको यो सपना परिवारको विरुद्धमा थियो। तर, उनले परिवारको रुचि र अनुमतिबिनै रंगीन दुनियाँमा पाइला राखिन्। यसै पनि सोवितालाई चलचित्र क्षेत्रमा प्रवेश गर्न गाह्रो थियो। त्यसमाथि उतिबेला चलचित्र क्षेत्र र यसमा लाग्ने मानिसलाई हेर्ने समाजको नजर राम्रो थिएन। छोरीहरुका लागि त रंगीन दुनियाँको यो बाटो निकै कहालीलाग्दो छ भन्ने एक खालको धारणा नै निर्माण भएको थियो। सोविता त्यही कहालीलाग्दो बाटो हिँडेर यहाँसम्म आएकी हुन्।
उनी सानोमा कम बोल्थिन्। मनका असन्तुष्टि, आक्रोश हत्तपत्त पोखिहाल्ने उनको स्वभाव थिएन। उनीसँगै हुर्किएका साथीमा जस्तो उनमा न चञ्चलता थियो न चलाखी नै। सबैले लाटी भन्ने आफ्नी छोरी चलचित्र क्षेत्रमा लागेको उनका पितालाई पटक्कै मन परेन। कलाकारितामा आफ्नो परिचय बनाउन सोविताले सबैभन्दा पहिला आफ्नै घरसँग संघर्ष गर्नु पर्यो। अहिले आएर सम्झँदा उनलाई लाग्छ, ‘यो संघर्ष त मैले छोरी भएकाले गर्नु परेको रहेछ।’
करिअरको सुरुवाती चरणमा नेपाली टेलिभिजनमा फिल्मी कार्यक्रम चलाउने सोविता त्यसबेला आफ्ना पिताको व्यवहार देखेर भित्रभित्रै कुँडिन्थिन। उनी चहान्थिन्, आफ्नो कार्यक्रम पिताले हेरुन, सुझाव दिऊन्।
भन्छिन्, ‘सानामा उहाँको हात समातेर हिँड्न सिके जस्तै सपनाको यो यात्रामा पनि म उहाँकै सुझाव अनुसार उडान भर्न चाहन्थेँ। तर उहाँ त मेरो कार्यक्रम बज्न थालेपछि टेलिभिजन बन्द गरेर बस्नु हुन्थ्यो।’
त्यो टेलिभिजन कार्यक्रम सोविताको फिल्मी करिअरको पहिलो खुड्किलो थियो। त्यही खुड्किलो मन परेको थिएन उनका पितालाई। कार्यक्रमकै सिलसिलामा छोरीले फिल्मी दुनियाँका मान्छेहरुसँग गरेको उठबसले ऐँठन गथ्र्यो सोविताका पिताको मन। बारम्बार छोरीहरुका लागि होइन यो क्षेत्र भनेर सम्झाइरहन्थे।
उनलाई त्यसबेलै लाग्थ्यो, ‘मेरो ठाउँमा मेरो दाइ अथवा भाइ भैदिएको भए यो घरमा कति सम्मान र प्रशंसा पाउँदो हो? के छोरीहरुलाई चाहिँ आफ्नो रहरको बाटो अंगाल्ने छुट छैन?’
घरसँग संघर्ष गरेर नथाककेकी सोविता त्यतिबेला झसंग भइन्, जतिबेला पहिलो चलचित्रमा साइन गरेर घर पुगिन्। फिल्मी कार्यक्रम चलाउँदा चलाउँदै फिल्मकै सपना देख्न थालेकी सोविता फिल्ममा साइन गरेर फर्कंदा निकै खुसी थिइन्। तर, उनको त्यो खुसी लामो समय टिक्न पाएन। उनी घर पुग्दानपुग्दै साइन गरेकै फिल्मका निर्माताको प्रस्ताव आयो, ‘तिमी मसँग घुम्न जानुपर्छ।’
उनी छाङ्गाबाट खसेझैँ भइन्। भोलिपल्ट त्यसबेलाका संगठित फिल्मी संघ–संस्थामा उजुरी दिइन्। निर्देशकलाई फोन गरेर भनिन्, ‘तपाईंको प्रोड्युसरको यस्तो प्रस्ताव आयो, म यो फिल्ममा काम गर्दिनँ।’
फिल्म छोडिन्, संघसंस्थाले छोरीकै बेइज्जत हुने भन्दै उजुरी फिर्ता लिन लगाए। उनी सम्झिन्छिन्, ‘त्यो बेला समय अहिलेजस्तो थिएन। म बोलिरहेकै भएपनि कस्ले सुन्थ्यो र? अहिले पनि कयौँ घटना यसैगरी भित्रै लुकाइन्छ।’
एसएलसी दिएसँग सुरु भएको मोडलिङ, टेलिभिजन होस्टले तय गरेको फिल्मी यात्रा सोविताले केही वर्ष कायम राखिन्। उनी थुप्रै फेसन शोको ¥याम्पमा हिँडिन। नियमित योग ध्यान गर्दै हुर्किएकी सोवितालाई फिल्ममा काम गर्नु अगावै यो रंगीन दुनियाँसँग विरक्त लागेको थियो। तर, नामको मोहले छोडेन। त्यही नामको मोहले गर्दा उनले कसम, गंगाजल, आफ्नै मनलाई सोधिहेर, मार्यो नि मायाले मार्यो लगायतका फिल्ममा अभिनय गरिन्। सोविताको फिल्मी करिअर चम्किरहेको थियो। तर उनको चम्किलो करिअर हेरेर बुबाआमाको अनुहारमा चमक आउन सकेको थिएन। उनका बुबाआमा दुःखी थिए।
त्यो समय सोविता बाटोमा हिँड्दा पनि अरुले चिन्लान् भन्ने भयमा हिँड्थिन्। यही बेला उनले आशो चिनिन्। ध्यान र योगलाई बुझिन्। बेलामौका तपोवन पुगिन्। तर सोवितालाई सांसारिक जीवनबाट विमुख भएर सन्न्यासी बन्नु थिएन। उनलाई रंगीन दुनियाँको चमकदार पर्दाले तानेकै थियो।
उनले क्यामराका अगाडि थुप्रै जीवन बाँचिन्। थुप्रै भूमिका निर्वाह गरिन्। फिल्ममा हरेक पटक फरक पात्रको जीवन बाँच्दै गर्दा एक दिन उनको मनमा तुफान उठ्यो, ‘यी सम्पूर्ण जीवनभित्र म कहाँ छु?’
आफूलाई खोज्दै तपोवन पुगेकी सोविता हिजोआज शान्त देखिन्छिन्। उनको दिन अध्यात्मसँग सम्बन्धित कार्यमा बितिरहेका हुन्छन्।
Shares
प्रतिक्रिया