ad ad

कला


नेपथ्यको जापान यात्रा : ओशाकाको प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न (तस्बिर)

नेपथ्यको जापान यात्रा : ओशाकाको प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न (तस्बिर)

नेपालखबर
भदौ १, २०८० शुक्रबार २२:७, काठमाडौँ

आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ।

अघिल्ला दुइ सहरहरु टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतीलाई भव्य दर्शक उपस्थितीले साथ दिएको थियो।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकाली भन्छन्, ‘१७ सय दर्शकहरु एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो।’

गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरि नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए।

 ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे।

एकवर्ष यता नेपथ्यले सडक आश्रित मानवहरूका निम्ति खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ। 

‘मानवताको लागि संगीत’ नाम दिएर सुरुभएको त्यो अभियानले नै जापान यात्रामा पनि निरन्तरता पाएको हो।

सबैभन्दा पहिले त हाम्रो मुलुकमा रहेको विश्वकै सर्वोच्च शिखरमध्ये पर्ने मनास्लु हिमालमा रियोसुकेका हजुरबुवा तोशियो इमानिशीले नै सबैभन्दा पहिलो मानव पाइला टेकेको रेकर्ड छ।

‘मलाइ नेपालै पुगेजस्तो महशुस भयो,’ परिवारका साथ आएर कन्सर्ट हेरिसकेपछि रियोसुकेले भने, ‘यस्तो अवसर जुराइदिएकोमा म आयोजकहरुलाई धन्यवाद दिन चाहन्छु।’

नेपथ्यको प्रस्तुतीमा विशेष गरेर पर्दामा देखाइने नेपालका दृश्यहरु र गायककाबीच मिलेको तालमेलले आफूलाई सर्वाधिक प्रभाव पारेको उनले उल्लेख गरे।

‘जापान आइपुगेको नेपालको नयाँ पुस्ता नेपथ्यकै कारण खुशीले रोइरहेको चिच्याइरहेको दृश्य देख्न पाइयो,’ रियोसुकेले थपे, ‘नेपालीहरुको यो उत्साहलाई सलाम गर्न चाहन्छु।’

ओशाकामा श्रृंखलाको अन्तिम कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यको जापान यात्राले यो वर्षका लागि विश्राम लिएको छ।

‘यो वर्षदेखि हामीले जापानमा पनि श्रृंखलावद्ध कन्सर्टको थालनी गरेका छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘जापानका दर्शकहरुले तीनवटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि हामी थप उत्साही बनेका छौं ।’

जापान यात्रा सम्पन्न भएसँगै १४ सदस्यीय नेपथ्य टोली अब नेपाल फर्कने तयारीमा जुटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .