नेपालस्थित ओस्कार कमिटीले ९६औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ।
कमिटीले सोमबार वक्तव्य जारी गर्दै सन् २०२२ डिसेम्बर देखि २०२३ अक्टोबरसम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो।
ओस्कार कमिटी नेपालका सचिव चिरञ्जीवी गुरागाईंले इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने बताएका छन्। ओस्करका लागि छनोट भएको फिल्म अक्टोबर १ सम्ममा अमेरिका पठाइसक्नुपर्ने उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय फिचर विधाका लागि तोकिएको मितिभित्र प्रदर्शन हुनुपर्ने, सेन्सर भएको हुनुपर्ने, हलमा सात दिन चलेकै हुनुपर्ने, हलबाहेक अनुमतिप्राप्त ओटीटीमा स्ट्रिमिङ भएको भए पनि हुनेलगायत मापदण्ड ओस्कारले तोकेको छ।
यसबाहेक केही प्राविधिक मापदण्ड पनि तय गरिएको छ। आगामी ओस्कार अवार्ड मार्च १०, २०२४ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदै छ।
Shares
प्रतिक्रिया