यसैवर्ष ‘पठान’ र ‘जवान’जस्ता हिट फिल्म दिएका शाहरुख खान आज ५८औं जन्मदिन मनाउँदैछन्। तिनै चर्चित सुपरस्टार शाहरुखको फिल्म करियरको यात्रा निकै रोचक छ।
शाहरुखले ‘दिवाना’ मार्फत बलिउड सिने जगतमा डेब्यू गरे। सन् १९९२ मा रिलिज भएको यस फिल्मसँगै शाहरुखले दर्शकको मनमा छाप छोड्न सके।
जब शाहरुख अभिनित ‘बाजीगर’ र ‘डर’ रिलिज भए। यी फिल्महरूले बक्सअफिसमा तहल्का मच्याएसँगै शाहरुखको करियरको उकालो यात्रा सुरु भयो।
आज शाहरुखलाई धेरैले ‘रोमान्स किङ’ भनेर चिन्छन्। तर, शाहरुखले रोमान्सबाट नभई एन्टी हिरो बनेर सफलताको स्वाद चाखे। सन् १९९३ मा ‘बाजीगर’ बाट एन्टी हिरोबाट सुरु भएको शाहरुखको यात्रा ‘जवान’ सम्म पुगेको छ।
यसको अर्थ शाहरुखले तीन दशकको अन्तरालमा दुई प्रकारका एन्टी हिरोको यात्रा गरेका छन्।
ग्लोबल रोमान्टिक हिरो
एन्टी हिरोबाट चलेका शाहरुख कसरी बने त ग्लोबल रोमान्टिक हिरो? बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा चलचित्र पत्रकार नम्रता जोशी भन्छिन्, ‘बाजीगर र डरमा शाहरुखको एन्टी हिरो इमोशन उनको केटीप्रतिको प्रेमबाट प्रेरित थियो। तर, पछि उनले यो नकारात्मक छवि छोडे। र, एक सुन्दर, विश्वव्यापी र शहरी रोमान्टिक नायकको अनुहार अपनाए।’
‘जिरो’ फ्लप भएपछि शाहरुख चारवर्ष फिल्मबाट टाढा रहे। आफूलाई पुनः नयाँ स्वरुपमा ल्याउन टाढा भएका उनी ‘पठान’ मार्फत फर्किए।
पत्रकार जोशीले पनि पठान र जवानमार्फत शाहरुखले आफूलाई पुनः स्थापित गर्न सक्षम भएको बताइन्।
‘यो हिन्दी सिनेमाका लागि नयाँ कुरा हो कि हामी जुन अवस्थामा बाँचिरहेका छौं, शाहरुखले जवान जस्ता फिल्ममा शक्तिलाई खुलेर चुनौती दिन्छन्’ उनी भन्छिन्, ‘यस्तो सरकार विरोधी अडान अपनाउनु उल्लेखनीय छ। ‘बाजीगर’ मा गर्लफ्रेन्डका लागि एन्टी–हिरो बन्नु र त्यसपछि ‘जवान’मा सम्पूर्ण शक्ति र प्रणालीको विरुद्धमा एन्टी–हिरो बन्नु। दुवैमा आधारभूत भिन्नता छ। जसले शाहरुखको यात्रा झल्काउँछ।’
फिल्म ‘बाजीगर’ रिलिज हुँदा नयाँ नायकले कुनै खास दोष बिना हत्याराको भूमिका निभाउनेछन् भन्ने आशा कसैले पनि गरेको थिएन। तर, त्यही फिल्मले शाहरुखलाई चर्चा दिलायो।
स्टीरियोटाइप तोड्ने प्रयास
फिल्म इतिहासकार अमृत गंगर भन्छन्, ‘यसो त शाहरुखले लीक छोडेर मणीकौलकी फिल्म अहमकबाट सुरुवात गरेका थिए। र, उनले माया ‘मेम साहब’ जस्ता फिल्म खेले। सर्कसजस्ता सिरियल समेत गरे। तर, बाजीगर ठूलो कर्मसियल हिट भयो। उनलाई एन्टी हिरोको रोलमा स्थापित गर्यो।’
साथै उनले शाहरुखलाई स्टीरियोटाइपर तोड्ने अभिनेता पनि भने।
‘म यसलाई शाहरुख खानको अभिनय क्षमताको प्रमाणको रूपमा देख्छु, यसले उनको दायरा देखाउँछ। यसले बलिउड कास्टिङमा देखिएका स्टीरियोटाइपहरू तोड्ने शाहरुखको क्षमता पनि देखाउँछ।
‘डर’ मा पनि यश चोपडाले उनलाई नकारात्मक भूमिका दिएका थिए जुन त्यतिबेला नायकका लागि वर्जित मानिन्थ्यो।’
‘बाजीगर’ का चरित्र यति डार्क थियो कि धेरै ठूला अभिनेताले यो भूमिका गर्न अस्वीकार गरे। उद्योगमा नयाँ भए पनि यो जुवा खेल्ने हिम्मत देखाउने नायक शाहरुख थिए।
बाजीगरको एक महिनापछि यश राज चोपडाको डरमा शाहरुख एक मानसिक अस्थिर युवकको भूमिकामा देखिए।
फिल्ममा एकतर्फी मायाले उनलाई पागलपनको हदसम्म पुर्याउँछ। जो आफू र आफूलाई माया गर्नेहरुका लागि पनि खतरा बन्छन्।
डरमा शाहरुले जुन चरित्र निर्वाह गरे। त्यो रोल पहिले ऋषि कपुरलाई दिइएको थियो।
आपनो आत्मकथा ‘खुल्लम खुल्ला’ मा ऋषिले लेखेका छन्, ‘जब मलाई यश चोपडाले फिल्म डरको भूमिकाबारे भने। मैले भिलेनको रोलमा न्याय गर्न नसक्ने भनेको थियो। किनकी ‘खोज’ फिल्ममा मैले नेगेटिभ रोल गरेँ। त्यो फ्लप भयो। तपाईं शाहरुखलाई लिन सक्नुहुन्छ, मैले उहाँसँग काम गरेको छु र उहाँ सक्षम र स्मार्ट केटा हुनुहुन्छ। त्यसपछि त्यो फिल्म आमिर खान र अजय देवगनको हातमा गयो। दुवैले गरेनन्, अन्ततः शाहरुखले त्यो भूमिका गरे।’
‘बाजीगर’को विक्की होस् वा ‘डर’को राहुल । दुवै पात्रमा शाहरुखले गरेको कामले सामान्यतया तपाईलाई घृणाको भावना पैदा गर्नुपर्छ। तर, यी दुवै फिल्मको विरोधाभास थियो, जसमा दर्शकले फिल्मका अभिनेता सनी देओल वा अन्य पात्रको पक्षमा नभई शाहरुखको पक्षमा देखेका थिए।
यसको श्रेय पटकथा लेखक वा निर्देशकलाई भएपनि मानिसहरूले पर्दामा देखिएका शाहरुखलाई मात्रै याद गर्छन्।
परिवर्तनको दशक
अमृत गंगर भन्छन्, ‘१९९० को दशक परिवर्तनको दशक थियो। मानिसहरूले शाहरुखको व्यक्तित्वसँग जोडिन सकेका थिए। शाहरुखका यी नकारात्मक भूमिकामा प्रेम र कामुकताको भावना मिसिएको थियो। यी भूमिकाहरूमा एक प्रकारको पागलपन थियो, जुन युवाहरूले खोजिरहेका थिए।’
यद्यपि धेरैले यो चरित्रलाई टाक्सिस भन्दै फिल्मको आलोचना गरे। तर, बाजीगर होस् वा डर। दुबैमा शाहरुखले एन्टी–हिरोको भूमिका खेलेर आफ्नै पहिचान बनाए। जबकी अरु अभिनेताहरुले यी भूमिकाहरु अस्विकार गरेका थिए।
शाहरुख बने किंग खान
‘दिल वाले दुल्हनिया ले लाएँगे’, ‘दिल तो पागल है’, ‘कुछ कुछ होता है’ फिल्महरुले शाहरुखलाई किंग खान बनाइदिए। तर, किंग खान बन्ने बाटोमा शाहरुखको एन्टी हिरोको भूमिकाले शाहरुख खानलाई सफलताको लागि बाटो तयार पारेको थियो। र, मानिसहरूलाई एक अभिनेतासँग परिचय गराए जसमा जोखिम लिन साहस थियो। चाहे त्यो ‘अंजाम’ होस्, ‘माया मेमसाब’ होस् वा ‘ओ डार्लिंग ये है इन्डिया।’
सुपरस्टारडमको यो बाटोमा फूल मात्रै थियो भन्ने होइन। सुरुमा केही फिल्म फ्लप पनि भए। फिल्ममा सुपरस्टारको छविबाट हटेर क्यारेक्टर बन्न नसकेको भन्दै धेरैले उनको आलोचना गरे। त्यतिबेला धेरैले नायकबाट शून्य भएको र शाहरुखका दिन सकिएको जस्ता प्रतिक्रिया दिएका थिए।
शाहरुख टेलिभिजनको विज्ञापनमा देखिएपनि धेरै वर्षदेखि सिनेमाको पर्दामा देखिएनन्। यसैबीच उनको छोरा जेल परे। तनावको अवस्था आएपनि उनी शाहरुख मौन रहे। तर, सन् २०२३ मा शाहरुख एक्सन हिरो बने।
‘बाजीगर’ र ‘डर’ जस्तै ‘जवान’ का आजाद राठौर पनि एक किसिमको एन्टी हिरो हुन्। तर, उनी ९० को दशकका एन्टी हिरोभन्दा फरक छन्।
आजाद राठौरले सतर्क समूह मार्फत समाजमा फैलिएको भ्रष्टाचारलाई चुनौती दिन्छन्। बाजीगरको विक्की र डरको राहुलजसरी मानिसहरुलाई मार्दैनन्। बरु पीडित मानिसहरुको जीवन बचाउँछन्।
तर, नम्रता जोशीको पनि आफ्नै गुनासो छ, ‘जवान सफल भयो तर मलाई फिल्मको रूपमा काम लाग्दैन। यो एक पुरुष–प्रधान फिल्म हो जहाँ शाहरुख निश्चित रूपमा महिलाहरूले पनि स्थान पाउँछन् भन्ने सुनिश्चित गर्ने प्रयास गर्छन्। बरु, म शाहरुखलाई ‘चक दे इन्डिया’ जस्तो फिल्ममा प्राथमिकता दिनेछु जहाँ उनले महिला टोलीलाई जित दिलाएका छन्। जवानमा लैङ्गिक समानता देखाउने प्रयास भएको छ। तर त्यो प्रभावकारी भएको मलाई लाग्दैन।’
Shares
प्रतिक्रिया