थलापति विजय स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ तेस्रो हप्तामा पनि राम्रो आम्दानी गरिरहेको छ। प्रदर्शनको १७ औं दिनमा यस फिल्मले साउथ स्टार रजनीकान्तको जेलरको रेकर्ड तोडेको छ।
रजनीकान्त स्टारर साउथ फिल्म ‘जेलर’ ले हालसम्म घरेलु बक्सअफिसमा ३३४ करोड ५५ लाख भारतीय रुपैयाँ कमाइसकेको छ।
जसलाई विजयको लियोले पछि पारेको छ। लियोले १७ औँ दिनसम्म बक्स अफिसमा ३७९ करोड १५ लाखको व्यापार गरिसकेको छ।
विश्वभरबाट लियोले ५६४.५ करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ।
घरेलु बक्सअफिसमा जेलरलाई पछाडि पारे पनि वर्ल्डवाइडको आम्दानीलाई जित्न सकेको छैन।
जेलरले विश्वभरि ६०४ करोड भारु कलेक्सन गरिसकेको छ। तर, लियोको बढ्दो अकुपेन्सीले त्यो रेकर्ड पनि चाँडै ब्रेक गर्ने देखिन्छ।
त्यसैगरि, लियो ओपनिङ डेमा सर्वाधिक कमाउने तमिल फिल्मसमेत बनेको छ।
१७ अक्टोबरबाट रिलिज भएको यस फिल्मले पहिलो दिन १४५ करोड भारु कमाएको थियो।
यसअघि जेलरले पहिलो दिन साढे ४४ करोड भारु कमाउँदै यस वर्षको सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको थियो। तर, लियोले जेलरको रेकर्डलाई तोडेको छ।
एक्सन जनरामा बनेको फिल्ममा विजयसहित सञ्जय दत्त, सूर्या र तृषा कृषनको पनि अभिनय छ। लियो सञ्जयका लागि तमिल डेब्यू फिल्मसमेत हो।
लोकेश कनागराज निर्देशित यस फिल्मले समीक्षक र दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ। यो फिल्म तमिलसहित तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।
Shares
प्रतिक्रिया