यही मंसिर २९ देखि नेपाली सिनेमा हलमा फिल्म ‘जम्प’ प्रदर्शन हुँदै छ। जुन फिल्ममार्फत आशुतोषध्वज कार्कीले निर्देशनमा डेब्यु गर्दै छन्।
मनोवैज्ञानिक थ्रिलर विधामा बनेको फिल्मको कथा पनि कार्कीले नै लेखेका हुन्।
ठूलो पर्दामा पहिलो पाइला, त्यसमाथि नयाँ विधा। जसले कार्कीलाई चुनौती थपेको छ।
पछिल्लो समय प्राय: कमेडी सोसल ड्रामा जनरामा बनेका फिल्म व्यावसायिक रूपमा सफल छन्। तर आशुतोष व्यावसायिक हिसाबले भन्दा पनि दर्शकलाई नयाँ कथा भन्ने हुटहुटीले यो फिल्म बनाएको सुनाउँछन्।
‘हामीलाई चलाउने र व्यावसायिक हिसाबले सफल हुने भन्दा पनि नयाँ र राम्रो कथा दर्शकले हेरुन् भन्ने हो। अहिले कमर्सियल फिल्म मात्रै बनिरहेका छन्। त्यो त छँदै छ। तर, कहिलेकाहीँ नयाँ चिज पनि आउनुपर्यो भन्ने हो। त्यसैले नै ‘जम्प’ बनाएको हुँ’, उनले भने।
फिल्मको मुख्य पात्र हुन्छन् -आशिष (सरोज श्रेष्ठ)। जो राष्ट्रिय स्तरको एथ्लेटिक्स खेलाडी हुन्छन्। सफलता पाउन संघर्ष गरिरहेका आशिषलाई अलौकिक शक्ति मिल्छ। जुन शक्ति पाएसँगै आशिषले टाइमलाइनलाई कसरी परिवर्तन गर्छन्, उनको विगत र अकल्पनीय शक्तिले आउने घटनाक्रमलाई केन्द्रमा राखिएको छ।
‘जम्प’मार्फत आम युवाहरूको मनौवैज्ञानिक अवस्थासहित समाज र सिस्टमले पार्ने प्रभावको कथासमेत समेटिएको कार्कीले बताए।
भन्छन्, ‘यस फिल्मले युवाहरूलाई फोकस गरेको छ। हामी बाँचिरहेको समाज र युथको कस्तो खालको मेन्टल अवस्था छ। यो सबै केलाएर बनाएको मनौवैज्ञानिक कथा हो- जम्प।’
बीपी कोइरालाका मनोवैज्ञानिक कथा पाठकको रोजाइमा परे। बीपीका कथा पढेर हुर्केको जमातलाई ‘जम्प’ निकै मन पर्ने उनको दाबी छ।
‘यो मनोवैज्ञानिक थ्रिलर फिल्म हो। फिल्मले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ। बीपी कोइरालाका मनोवैज्ञानिक कथा नेपाली अडियन्सले निकै रुचाउनुभएको थियो। सिनेमामा पनि मनोवैज्ञानिक कथा आएको छ। हामीले कथादेखि संवादसम्म निकै मेहनेत गरेका छौँ। सिनेमामा नयाँ तरिकाले ‘जम्प’ बनाएका छौँ’, निर्देशक कार्कीले भने।
यस फिल्ममा सरोजसहित बिनिता थापामगर, सगुन तामाङ, सन्देश शाक्य, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्रीलगायतको अभिनय छ। जसमध्ये विनिताले यसै वर्ष वैशाखमा रिलिज भएको हल्कारामार्फत अभिनयमा राम्रो छाप छाडिसकेकी छन्। फिल्म कर्मसियली हिट नभए पनि उनको अभिनयको राम्रो चर्चा भएको थियो।
उनीसहित यस फिल्ममा भएका कलाकार कर्मसियल्ली हिट छैनन्। फिल्ममा चलेका अनुहारलाई लिने ट्रेन्डलाई ब्रेक गर्नुपर्ने कार्की बताउँछन्।
भन्छन्, ‘पछिल्लो समय फिल्ममा चलेका अनुहारलाई राखिन्छ। तर, यस फिल्ममा कर्मसियल्ली हिट कोही छैनन्। चलिरहेको ट्रेन्डलाई ब्रेक गर्नुपर्छ भन्ने मेरो मान्यता हो। खास भन्ने हो भने दर्शकले राम्रो स्टोरी र रमाइलो हेर्नुहुन्छ। कमर्सियल्ली हिट भएका टाउको राख्दा फिल्म हिट हुन्छ भन्ने गलत बुझाइ छ। तर, हामीलाई दामी सिनेमा बनाएर दर्शक तान्ने मन छ।’
काठमाडौँमा हुर्केका आशुतोष अस्कर फिल्म कलेजका १३औँ ब्याच हुन्। बीचमा पढाइ छाडे पनि उनको फिल्मसम्बन्धी रुचिमा भने कमी आएन। त्यसपछि उनी विज्ञापन बनाउनेतर्फ लागे।
‘क्रियटिभ माकुरा’ प्रोडक्सनमार्फत आशुतोषको दराजदेखि एघार-एघारदेखि एनसेल र यति एयरलाइन्सका एडसम्म बनाइसकेका छन्।
आफ्नै प्रोडक्सन हाउस हुँदा फिल्म बनाउन कम खर्च लागेको उनले सुनाए।
‘आफ्नै प्राविधिक टिम भएर कम खर्च लागेको हो। हामीले तीन वर्ष लगाएर फिल्म बनाएका छौँ। आफूले मिलेर गरेर २० लाखजति खर्च आएको छ’, उनले भने।
फिल्म रिलिजको तरखरमा हुँदा केही दिनअघि काठमाडौँमा प्रिमियर राखिएको थियो। कम बजेटमा बनेको फिल्म भए पनि सबैबाट पाएको प्रतिक्रियाले दंग छन् उनी। ट्विस्ट र थ्रिलर कथा मन पराउने दर्शकका लागि यो फिल्म उत्कृष्ट भएको दाबी छ उनको।
भन्छन्, ‘नेपाली फिल्म हेर्दाखेरि दर्शकहरूलाई कहिलेकाहीँ रमाइलो लाग्दैन, हलबाट उहाँहरू निराश भएर फर्किनुहुन्छ। बेकारमा पैसा खेर गयो, सोच्नुहुन्छ। तर, यो फिल्म हेरेपछि दर्शकको पैसा असुल हुन्छ। ‘जम्प’ हेरेपछि दर्शकहरू खुसी भएर हलबाट निस्किनुहुन्छ।’
छिट्टै अर्को नयाँ फिल्मको तयारीमा जुटेको पनि उनले सुनाए।
Shares
प्रतिक्रिया