दुई दशकअघि महोत्तरीमा मरिनदेवी साह बोक्सी आरोपमा मरणासन्न हुने गरि कुटिइन्। पन्च भेलाले अनेकन दुर्व्यवहार गर्यो। ‘बोक्सी बकाउने’ भेलाका नेता अरु कोही नभएर तत्कालीन गाविस अध्यक्ष नै थिए।
लामो उपचारपछि मरिनदेवीले नयाँ जीवन त पाइन् तर सामाजिक बहिष्करण उस्तै दर्दनाक थियो। तर उनी चुप बसिनन्। जसले आफूमाथि दुर्व्यवहार गरेका थिए, उनीहरूविरुद्ध किटानी जाहेरी दिइन्। ती व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्यो, अदालतले सजाय दियो। कानुनको नजरमा उनीमाथि जे भएको थियो, त्यो सरासर अपराध थियो। तर समाजको नजरमा उनी ‘बोक्सी’ थिइन्। मरिनदेवीको किटानी जाहेरी दिने निर्णय सामान्य थिएन। एक प्रकारले यो विद्रोह थियो। उनी अन्यायविरुद्ध बोलेकी थिइन्। भित्रभित्र पीडितहरू दबिइरहेको बेला उनको आवाज ज्वालामुखी बनेको थियो। त्यसको २० वर्षपछि पनि यस्ता घटनाहरू यदाकदा सुनिइरहन्छन्। मानव समाजको कलंकको रुपमा यस्ता घटना दोहोरिइ नै रहेका छन्।
केकी अधिकारीको चलचित्र ‘बोक्सीको घर’ हेरेपछि समाजमा देखेका सुनेका यस्ता घटनाहरू फेरि एक पटक ताजा बनेर आए।
सन् २०१६ मा रंगमन्चमा मन्चन भइसकेको नाटकको कथा हो, ‘बोक्सीको घर।’ यस चलचित्रको निर्देशन पनि उनै रंगकर्मी सुलक्षण भारतीले गरेका छन्। रंगमन्चमा अब्बल भारतीले डेब्युमै पर्दामा आफूलाई सशक्तरुपमा उभ्याएका छन्।
फिल्मले हाम्रो समाजमा लुकेर रहेको अन्धविश्वासलाई बोलेको छ। यो पितृसत्तात्मक सोचको अभिव्यक्ति मात्र होइन। कथाहरू, मिथकहरू एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदैजान्छन्। त्यसरी नै अन्धविश्वास पनि हस्तान्तरण हुँदै जाने रहेछ। ‘बोक्सी’ पनि यसरी नै अहिलेको समयसम्म आइपुगेको हो। यस्ता मिथहरूलाई सचेतन समाजले खारेज गर्नुको सट्टा कतिपय अवस्थामा संरक्षण दियो। यसैका कारण मरिनदेवी, मूर्तिदेवी लगायत महिलाहरू समाजिक व्यविचारको सिकार बने।
समाजमा जो कमजोर छ, विधवा महिला छ वा दलित महिला छन् उनीहरू नै यस्ता लान्छनाको सिकार बन्दै आएका छन्। फिल्ममा यसलाई उतारिएको छ।
तुइन तर्दै गर्दा दुर्घटना भएर जुनु (केकी अधिकारी )का श्रीमानले ज्यान गुमाउँछन्। तर यसको आरोप जुनुले खेप्नु पर्छ। कथा यसैको वरपर घुम्छ। समाजमा आफ्नो लोकाचार छोप्न पितृसत्ता एउटा अवला नारीमाथि केसम्म गर्न पछि पर्दैन भन्ने विषयलाई राम्रोसँग फिल्ममा देखाउन निर्देशक भारती सफल छन्।
छोरी जन्मिएकोमा जुनुका बुबा खुसी देखिँदैनन्। जुनुका साथी सहरमा पढ्न जाँदै गर्दा उनको बालविवाह हुन्छ। जतिबेला उनले विवाहबारे जानेकै हुँदिनन्। यसैले त आफ्ना श्रीमानलाई जुनुले ‘जुंगे दाइ’ भनेर सम्बोधन गर्छिन्। किशोरी नबन्दै उनी वैवाहिक बलात्कारको सिकार हुन्छिन्। उनले आफूमाथि भएको घटनाबारे नै बुझ्दिनन्। र आफ्नी आमालाई भन्छिन्, ‘त्यो जुंगे दाइले मलाई माया गर्दैन।’
आफूमाथि घटेको घटना आमालाई सुनाउँदा आमाले भन्छिन्, ‘अब उसले तिमीलाई यसरी मै माया गर्छ।’ फिल्ममा बालकलाकार जुनु (सुपला सापकोटा) ले दिने जवाफ सुन्दा जो कसैको हृदय हल्लिन्छ। उनी भन्छिन्, ‘बुबाले पनि तपाईंलाई यसरी नै माया गर्नुहुन्छ?’ यसको जवाफ उनकी आमासँग छैन।
यसरी सिलसिलेवार तरिकाबाट घटनाहरू रिलमा उतार्न सक्नु निर्देशक भारतीको कौशल हो।
शिशु जन्मिएपछि घरमा राम्रो भए ‘भाग्य लिएर आएको’, नराम्रो भए वा कसैको मृत्यु भए उसले अलच्छिनाले ‘खायो’ भन्ने सुनिनु नयाँ विषय भएन। यी दुवै कुरा अन्धविश्वासका उपज हुन्। ‘खायो’ भन्ने भ्रमलाई हटाउनका लागि ‘भाग्य लिएर आएको’ भन्ने भाष्यको पनि अन्त्य गर्नु पर्छ। यी सँगै उब्जिएका गलत चिन्तन हुन्।
मेरा मित्र दीपक सापकोटाले कान्तिपुरमा भूपी शेरचनबारे एउटा आलेख लेख्दै भूपीको अप्रकाशित आत्मकथाको एउटा अंश छापेका थिए। त्यो यस्तो थियो, ‘…५ वर्ष के पूरा गरेथ्यो, अकस्मात् भैगो माताको मरण । घरमा ठूलो आक्रोश फैलियो– आमा टोकुवा भन्दै । अलि ठूलो भयो, बुझ्न थाल्यो उसले । लाग्न थाल्यो उसलाई, जीवन घीनलाग्दो र एकदम व्यर्थ । विधिको विधान, छैन ठूलो निदान, नामकरण भो– भाग्यमान । पुर्पुरोमाथि हिर्काइ साथी ऊ चिच्यायो– हे भगवान्, के मै मात्र दोषको पात्र ? अरू दाइ जम्मै पवित्र चोखा ? नदिनु जन्म दिइहाल्यौ प्रभु, किन दियौ फेरि विचित्र धोका ? टुकुचे गाउँ वरपर थिए– थुप्रै सल्ला र धुपी । तीनै धुपीका छायामा पल्टी रुन थाल्यो कठैबरा भूपी । डरले काँप्थ्यो, कलिला दाँत छाम्थ्यो, सोच्थ्यो– यस्ता दाँतले कसरी मैले पाँच वर्ष पहिले टोकेँ हुँला आमालाई ? कुन आँटले ?’ भूपीको यो प्रसंग माथिको चिन्तनसँग जोड्न सकिन्छ।
महिला होस् वा पुरुष यस्ता विषयमा फिल्मले एउटा समाजशास्त्रीय बहसको निम्ता दिएको छ। जति नै हामीले कानुनमा अन्धविश्वास र असमानताको अन्त्य गरे पनि व्यावहारिकरुपमा कहीँकतै विभिन्नरुपमा यस्ता विषय देखिइनै रहेका छन्।
फिल्मले प्रेम र यौनको विषयमा पनि बोलेको छ। बालविवावपछि उनका श्रीमानले जुनुसँग यौन सम्बन्ध बनाउनु र वयष्क भएपछि जुनुले त्यसको आवश्यकता महसुस गर्दा श्रीमानले वास्ता नगर्नु यौनमा पनि पुरुष नियन्त्रणको मनोविज्ञानको रुपमा बुझ्न सकिन्छ।
छोराको मृत्युपछि घरनिकालामा परेकी बुहारीलाई धम्क्याएर नाजायज सम्बन्ध बनाउने ससुरा। त्यो पोल खुल्ने डरले बोक्सी बकाएर गुहुमुत खुवाउँदै गोठबाट पनि निकाला गर्ने दृश्यले महिला अत्याचारको विम्बहरू बोल्छन्।
समाजले भन्ने गरेको बोक्सीको ‘चित्र’ स्क्रिनमा देखाउन केकी अधिकारीले गरेको मेहनत प्रशंसायोग्य छ। तर दृश्य बढी ‘हरर’ फिल्मको जस्तो देखिन पुग्छ। पिपलको रुखबारे अनेक कथाहरू छन् यसैले त्यसलाई विम्ब बनाउन खोजिए पनि ‘बोक्सी’ पात्र त्यसकै वरपर मात्र देख्दा दर्शकले ‘मोनोटनस’ लाग्छ।
बोक्सीबारे रिपोर्टिङ गर्न गाउँ पुगेकी स्वेच्छा राउतको अभिनय पनि अब्बल छ। तर मानसिकरुपमा विछिप्त भइसकेकी जुनुसँग उनले गरेका वार्ता काल्पनिक लाग्छन्। के त्यसरी विछिप्त व्यक्तिले पत्रकारसँग आफ्नो कथा भन्न सक्छ यहाँनिर निर्देशक भारतीले वैकल्पिक प्रयोग गरेको भए राम्रो देखिन्थ्यो।
फिल्मको अन्त्यमा पोल खुल्ने डरले समाजले नै मिलेर जुनुको हत्या मात्र गर्दैन नयाँ बोक्सी घोषणा पनि गर्छ, यो दृश्य निकै शक्तिशाली लाग्छ।
फिल्ममा रहेको प्रकाश सपुत र समीक्षा अधिकारीको एउटै गीतले समाजमाथि अनेकौँ प्रश्न गरेको छ। फिल्ममा यो गीतमार्फत निर्देशकले समाजसँग उत्तर मागेका छन्।
म बोक्सी म देवी
म डार्लिङ म बेबी
यो थरीथरी नाताले
यो सुन्दरताको गाथाले
म बाँधिएको हुँ या सजिएको हुँ
बुझिनँ मैले बुझाइदेऊ कसैले…
(पत्रकार प्रशान्त लामिछाने हाल अस्ट्रेलियामा छन्)
Shares
प्रतिक्रिया