चलचित्र महोत्सव केवल फिल्मको प्रदर्शनी मात्र होइन। फिल्मकर्मीसँग साक्षात्कारको अवसर पनि हो। छलफल, कार्यशाला, मास्टर क्लास, ल्याब, फोटो प्रदर्शनीलगायत सिर्जनात्मक गतिविधिको साझा मञ्च पनि हो, महोत्सव।
महोत्सवले सञ्चालन गर्ने यस्ता गतिविधिले फिल्मको प्राविधिक निर्माणसँगै विचार निर्माणमा पनि महत्त्वपूर्ण योगदान गर्छन्।
जेठ १६ देखि काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी काठमाडौं पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करणमा पनि यस्ता रचनात्मक गतिविधि भइरहेका छन्। शनिबार नेपाल पर्यटन बोर्डको हलमा किम्फले यस्तै एउटा कार्यक्रम आयोजना गर्यो, जहाँ नयाँ फिल्ममेकरहरूले आफ्नो वृत्तचित्रका लागि स्टोरी पिच गरे।
नयाँ पुस्तालाई फिल्म निर्माणमा सघाउने उद्देश्यले कटकथा नाम दिइएको सो कार्यक्रममा पाँच जना फिल्ममेकरले आफ्ना स्टोरी लाइभ पिच गरेका थिए।
१० वर्षदेखि सक्रिय प्रोडक्सन कम्पनी ‘कथाहरू’ले कटकथा शीर्षकमा कथा पिच गर्ने सत्र सञ्चालन गरेको हो।
कार्यक्रममा नयाँ पुस्ताका पाँचजना फिल्ममेकरले आफूले बनाउने कथाबारे भिजुअल क्लिपसहित १५ मिनेटको निर्धारित समयभित्र आफ्नो कथा प्रस्तुत गरे।
हरेक प्रस्तोताको प्रस्तुतिपछि निर्णायकमण्डलले प्रश्न सोध्ने र फिल्ममेकरले त्यसको जवाफ दिनुपर्ने हुन्थ्यो। निर्णायकमण्डलमा थिए, अविनाश विक्रम शाह, प्रणय लिम्बू र मन्जुश्री थापा।
निर्देशक इनुमा राईले सबैभन्दा पहिलो आइडिया प्रस्तुत गरिन्। उनको फिल्म ‘जर्ना’ यसपटकको किम्फमा समेत प्रदर्शन भइसकेको छ, जुन कोसी नदीमा निर्भर स्थानीयको जीविकामा आधारित छ।
इनुमाले सिन्धुपाल्चोकको हेलम्बुमा जन्मेकी २४ वर्षीय अल्ट्रा ट्रेल धावक नितुका बारेमा वृत्तचित्र बनाउन लागेकी रहिछिन्। सानैदेखि खेलकुदमा रुचि राख्ने नितुले १३ वर्षको उमेरमा पहिलोपटक नांगो खुट्टाले दौडिएर दौड जितेकी थिइन्। हाल उनी पोखराका १२ वटा विद्यालयका बालबालिकालाई प्रशिक्षण दिइरहेकी छिन्।
इनुमाले जुरी र श्रोतामाझ आफ्नो पात्रलाई चिनाउँदै भनिन्, ‘मेरो डकुमेन्ट्रीमा यिनै धावकको संघर्षको कथा समेट्नेछु, जो पहाडबाट काठमाडौं आई अरूको घरमा बसेर संघर्ष गर्दै अरूलाई तालिम दिने स्थानमा पुगेकी छन्।
'म आदिवासी समुदायकै प्रतिनिधि भएकीले पनि आदिवासी महिलाको कथा भन्न मन लागेको हो तर यसले अन्य महिलालाई उत्प्रेरणा दिन्छ भन्ने लाग्छ,’ उनले भनिन्।
त्यसपछि अर्को कथा बोकेर स्टेजमा उक्लिइन् मोनिका वाइबा, जो पेसाले पत्रकार हुन्।
अखबारमा यौनिक तथा लैंगिक अल्पसंख्यकबारे लेख्ने क्रममा एउटा संवेदनशील कथाले उनको ध्यान खिचेको रहेछ। त्यस कथाका पात्र हुन्, बारा जिल्लाको बलिरामपुर गाउँमा इँटा भट्टामा काम गर्ने एक जना पुरूष। उनका छोरा जन्मजात अन्तरलिंगी हुन्छन्। जुन खबर गाउँभरि फैलिन्छ र गाँउलेहरू त्यस बच्चालाई राक्षस भन्दै मार्नुपर्ने सुझाव दिन्छन्।
गाउँलेका कुराले ती पुरूष बालकको हत्याको कल्पनासमेत गर्न बाध्य हुन्छन्। तर, के सक्थे आफ्नै सन्तानलाई मार्न? बरु, बिस्तारै उनी आफ्नो सन्तानको पहिचान स्वीकार गरेर शिक्षित बनाउन दत्तचित्त भएर लाग्छन्।
यसै घटनालाई समेटेर मोनिकाले ‘म, मेरो सन्तान र उसको पहिचान’ शीर्षकको डकुमेन्ट्री बनाउने बताइन्।
‘परिवारले स्वीकार नगर्नु यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुख्य चुनौती हो। परिवारले पहिचान नस्वीकार्दा धेरैजना आत्महत्यासम्म पुगेका छन्,’ उनले भनिन्, ‘जो आफूलाई स्वीकार गर्न सकिरहेको छैन, उसलाई परिवारले स्वीकार गरेको यस कथामा देखाइनेछ। जुन उदाहरणीय बन्न सक्छ।’
त्यसपछि अर्को कथा प्रस्तुत गर्ने पालो थियो, सप्तरीका सुरेशकुमार मुखियाको। उनले नागरिकता नपाउँदाको दुःखलाई डकुमेन्ट्रीमा उतार्ने योजना सुनाए।
उनका अनुसार, स्वास्थ्य सहायक (एचए) पढेका सप्तरीका २५ वर्षीय रजनीश झाले अहिलेसम्म नागरिकता पाएका छैनन्। बुवाले सानैमा छोडेर रजनीशले नागरिकता नपाउँदाको पीडा र संघर्षलाई ‘कागजको मान्छे’ शीर्षकमा प्रस्तुत गरिने उनले बताए।
कानुनमा भए पनि एकल आमाको नामबाट नागरिकता बनाउन गाह्रो रहेकोसमेत उनले बताए। आफूले पनि पहिले नागरिकताको समस्या झेलेकाले यो कथा भन्नुपर्छ भन्ने सुरेशलाई लागेको रहेछ।
चौथो प्रस्तोता अञ्जनाकुमारी पनि सुरेशजस्तै कथा पिच गर्नकै लागि सप्तरीबाट आइपुगेकी थिइन्। पढ्नका लागि संघर्ष गरिरहेका मधेसका दुई दिदीबहिनीको कथा डकुमेन्ट्रीमा देखाउने उनले सुनाइन्।
मधेसमा छिट्टै बिहे गर्ने चलन छ। यस्तोमा आरती र मनीषा ठाकुरले पढ्नका लागि गरिरहेको संघर्ष मधेसका महिलाहरूको लागि प्रेरणा हुने भएकाले यो कथा भनिनुपर्छ भन्नेमा उनको जोड थियो।
अन्तिम प्रस्तोता थिइन्, ललितपुरकी सब्रिना डंगोल। उनले नेवारी संगीतमा सक्रिय तीन महिलाको कथा प्रस्तुत गरिन्। राग, ग्वाला र चाली शीर्षकको डकुमेन्ट्रीमार्फत उपत्यकाको संगीत परम्परामा महिलाको भूमिका र संघर्षको अन्तर्पुस्तागत अनुभवलाई समेट्ने जानकारी दिइन्।
लैंगिक पाटोबाट प्रस्तुत गरिने डकुमेन्ट्रीबारे काम गर्ने क्रममा संगीतको आध्यात्मिक पक्षले आफूलाई विशेष प्रभाव पारेकोसमेत बताइन्।
हरेक प्रतिस्पर्धीले आफ्नो पृष्ठभूमि र कथाको अन्तर्सम्बन्धलाई जोड्ने क्रममा ती कथा भनिनु किन महत्त्वपूर्ण छ भन्ने कारण पेस गरेका थिए। कसैले आफ्नो निजी जीवनमा, कसैले भने आफ्नै गाउँ-समाजमा भोगेका कुरालाई कथा बनाएका थिए। समान भूगोल, संस्कृति, भाषा, लिंग आदि पृष्ठभूमिले एकअर्कासँग गाँसिने भएकोले ती कथा अरू मान्छेका लागि पनि महत्त्वपूर्ण हुने नै भए।
फिल्म निर्माणमा विभिन्न खालको प्रक्रियाबाट गुज्रिनुपर्छ। तर, ती प्रक्रियाबारे नयाँ फिल्ममेकरलाई चरणचरणमा धेरै खालका सहयोगको खाँचो पर्छ। त्यस्ता सहयोग र आइडियाका लागि प्लेटफर्म चाहिने भएकाले किम्फसँगको सहकार्यमा ‘कटकथा’को परिकल्पना गरिएको ‘कथाहरू’की निर्देशक स्मृति बस्नेतले बताइन्।
उनले भनिन्, ‘नयाँ फिल्ममेकरलाई डकुमेन्ट्री बनाउन प्रोत्साहन मिलोस् भनेर यो कार्यक्रम सुरु गरिएको हो।’
‘हुन त फिल्ममेकरले आफ्नो हिसाबले डकुमेन्ट्री, सर्ट फिल्महरू बनाउँछन्। तर, उनीहरूलाई कसरी स्टोरी पिच गर्ने र कसरी पैसा खोज्ने भन्ने कुरामा ग्याप देखिन्छ,’ बस्नेतको भनाइ थियो, ‘कि कसैले मेन्टर गरेर सिधै माथि लानुपर्यो। कि त आफैं प्रयास गरेर बनाउनुपर्यो। कतिले त फिल्म बनाउने क्रममा धेरै गाह्रो भएर प्रोजेक्ट नै छोड्छन्।’
यस्तो समस्या नहोस् र सबैले समानरूपले आफ्नो स्टोरी प्रतिस्पर्धा गर्ने ठाउँ पाऊन् भन्ने उद्देश्यले कटकथा कार्यक्रम आयोजना गरेको स्मृतिको भनाइ छ।
गत वर्ष कटकथाले तीन महिला निर्मातालाई ५० र ५० हजार सहयोग गरेको थियो। जसमध्ये दुईजनाले डकुमेन्ट्री तयार गरिसकेका छन्।
अनलाइन र फिजिकल हाइब्रिड शैलीमा कटकथाका यी पाँच प्रतिस्पर्धी छानिएका हुन्। गत महिना अनलाइनबाट ८ जना सहभागीमध्ये छानिएका ५ जनाले हिजो आफ्ना स्टोरी पिच गरेका हुन्।
उत्कृष्ट स्टोरी पिच गर्ने तीनजना विजेताको नाम आज आइतबार साँझ घोषणा गरिँदै छ। विजेतालाई डकुमेन्ट्री बनाउन प्रतिव्यक्ति एक लाख नगदसहित मेन्टरसमेत गरिनेछ।
फिल्ममेकरले आफ्नो डकुमेन्ट्रीलाई ४ महिनाभित्र सक्नुपर्नेछ।
फिल्ममेकिङमा स्क्रिप्टदेखि सम्पादनसम्म थुप्रै प्रक्रिया हुने भएकाले यस कार्यक्रमको नाम कटकथा राखिएको उनले बताइन्।
Shares
प्रतिक्रिया