भूकम्प प्रभावितलाई सहयोग गर्न बेलायतबाट नेपाल आएकी थिइन् मिरुना मगर। बेलायतमै बसे पनि मिरुनालाई नेपालप्रति छुट्टै लगाव थियो। त्यसैले भुइँचालो गएसँगै उनी नेपाल आइहालिन्, सन् २०१६ ताका।
हङकङमा जन्मेकी मिरुना २ वर्षकी छँदा परिवारसँगै पुर्ख्यौंली थलो धरान पुगेकी थिइन्। धरानमा उनको बाल्यकाल बित्यो। र, प्राथमिक तहसम्मको पढाइ सकेपछि उनी बेलायत उडिन्।
खासमा मिरुनाका बुवा बेलायती गौर्खा सैनिक थिए। जसकारण मिरुनाको परिवार नै बेलायत पुग्यो। तैपनि बेलाबखत भोलिन्टियरिङको बहानामा उनी नेपाल आइरहन्थिन्।
तर, त्योपटकको मिरुनाको नेपाल बसाइ केही लम्बियो। रहरैरहरमा एक्टर स्टुडियोमा अभिनय कोर्स लिन थालिन्। पाँच महिनाको सिकाइपछि मिरुनाले नाटक ‘कथा देश तीन’ खेलिन्। शिल्पी थिएटरमा महिनौँ चलेको नाटकमा मिरुनाको तारिफ भएको थियो।
लगत्तै मिरुनालाई फिल्म ‘लालपुर्जा’को अफर आयो। फिल्मको मुख्य भूमिकामा थिए सौगात मल्ल, विपिन कार्की अनि मेनुका प्रधान। बलियो स्टारकास्ट अनि फरक कथा। जसकारण आमासँग सल्लाह लिएर फिल्ममा जोडिएको सुनाउँछिन् उनी।
भिडिओ :
अभिनयसँग पुरानै साइनो
मिरुनाकी आमा शशि थापा सुब्बा रंगमञ्चमा परिचित नाम हो। त्यतिबेला शशिले धरानमा नवीन सुब्बासँग मिलेर अनाम नाट्य समूहसमेत खोलेकी थिइन्। जसकारण सानैदेखि मिरुनाको अभिनयसँग साइनो थियो भन्दा फरक नपर्ला! नृत्यमा मिरुनाको विशेष रुचि थियो। स्कुलका कार्यक्रम हुँदा उनी सहभागी भइहाल्थिन्।
सात-आठ वर्षकी छँदा मिरुनाले अरुण प्रधानको फिल्म ‘क्याबिन गर्ल’मा बालकलाकार भएर काम गर्ने मौका पाएकी थिइन्। ‘किड क्विन कन्टेस्ट’ विजेता बनेसँगै आफूले त्यो अवसर पाएको उनको भनाइ छ।
बेलायत गएपछि मिरुनाले पढाइ सँगसँगै नृत्य र उद्घोषण तालिम लिइन्। लन्डनमा हुँदा पनि सांस्कृतिक कार्यक्रममा नृत्यसँगै होस्टिङ समेत गरेको सुनाउँछिन् उनी। मिरुनाले बेलायतबाटै समाजशास्त्रमा स्नातक र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरिसकेकी छिन्।
‘आमा रंगकर्मी भएकाले म सानैदेखि अभिनयसँग नजिक थिएँ। आठ-नौ वर्षको हुँदा फिल्म खेल्ने मौका पाएँ। म्युजिक भिडिओमा पनि काम गरेकाले क्यामेरा फेस गरेको अनुभव थियो,’ उनले भनिन्, ‘लन्डनमा हुँदा पनि होस्टिङ, डान्सिङ गर्थेँ। स्टेज नाटकहरू गरेकी थिएँ। रमाइलो लाग्थ्यो।’
सबै कुरा सिक्न मन पराउने मिरुना धेरै ठाउँमा हात हाल्थिन्। थिएटर कक्षा पनि उनले लिइन्। तर, कलाकार बन्छु भन्ने थाहा थिएन।
लालपुर्जाको सेटमा पुगेपछि भने आफूले सही गन्तव्य भेटेको निष्कर्षमा पुगिन्।
मिरुना भन्छिन्, ‘त्योभन्दा अघि म धेरै कुरामा हात हालिरहेको हुन्थेँ। सबैकुरा सिक्न मन लाग्थ्यो। सायद आफ्नो गन्तव्य खोजिरहेकी थिएँ। तर, लालपुर्जाको सेटमा पुग्दा अब यो नै मैले चाहेको ठाउँ होजस्तो लाग्यो। पहिलोपटक कलाकार बन्छु भन्ने रियलाइजेसन भयो।’
लगातार चार फिल्म असफल
सन् २०१८ मा रिलिज भएको मिरुनाको डेब्यु फिल्म ‘लालपुर्जा’ बक्सअफिसमा सफल हुन सकेन। फिल्म सफल नभए पनि मिरुनाको अभिनयको भने तारिफ भएको थियो।
लालपुर्जापछि मिरुनाले रोज, साइनो र चचहुईजस्ता फिल्म खेलिन्। तर, सुरुवाती करिअर मिरुनाको फलदायी हुन सकेन। किनकि यी सबै फिल्म बक्सअफिसमा नराम्ररी पछारिए। लगातार चार फिल्म असफल भए पनि मिरुना कहिल्यै निराश भइनन्।
‘पहिले मलाई व्यावसायिक पाटोबारे ज्ञान पनि थिएन। अहिले पनि एक कलाकारका हिसाबले म त्यति विश्वास गर्दिनँ। सुरुवाती दिनमा मैले खेलेका फिल्महरू सफल हुन सकेनन्। तर, त्यसलाई मैले सिकाइको रूपमा हेरेँ,’ उनले भनिन्, ‘मैले काम के कति दिन सक्छु, सुटिङअघि तथा सेटमा कति मेहनत गर्न सक्छु, त्यसमा ध्यान दिएँ। म सचेत भएर यो क्षेत्रमा आएकी हुँ। यूकेबाट कसैले मलाई फिल्म खेल्न पठाएको पनि होइन। त्यसकारण मलाई रिजल्टभन्दा पनि जर्नीमा चासो थियो।’
अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री हुन् मिरुना। व्यावसायिक हिसाबले होस् या समीक्षात्मक। दुवै पाटोबाट हेर्दा मिरुनाका फिल्महरू सफल छन्। तर, यहाँसम्म पुग्न सुरुवाती फिल्मको ठूलो हात रहेको सुनाउँछिन् उनी।
‘मैले क्यारेक्टरमा शत प्रतिशत दिने कोसिस गर्थेँ। त्यो हिसाबले मलाई कहिल्यै फिल्मको अभाव भएन। व्यावसायिक रूपमा सफल नभए पनि म यहाँसम्म आइपुग्नलाई ती सबै फिल्मले ठूलो भूमिका खेलेका छन्। ती फिल्ममा जति पनि एक्टर भेटेँ, सबै एकदमै राम्रो र चर्चित हुनुहुन्थ्यो। म भर्खर सिकेर आएर मान्छेले उहाँहरूसँग काम गर्ने मौका पाउनु ठूलो कुरा थियो। सबैले उत्प्रेरित गर्नुभयो,’ उनले भनिन्।
टर्निङ पोइन्ट बन्यो ‘कबड्डी ४’
२०७६ साल मंसिर पहिलो साता ‘चचहुई’ रिलिज हुने तरखरमा थियो। प्रचारप्रसारकै क्रममा मिरुनालाई एक दिन उपेन्द्र सुब्बाले फिल्म ‘जारी’को अफर गरे।
भन्छिन्, ‘उपेन्द्र सुब्बाले कल गर्नुभएको थियो। तिमीलाई हाङ्मा पात्र सुहाउँछ भन्नुभयो। अपोजिटमा हुनुहुन्थ्यो दयाहाङ दाइ। उहाँले स्क्रिप्ट पठाउँदा म यूके जाँदै थिएँ। मैले प्लेनमा पूरै पढेको थिएँ। त्यो फ्लाइटमा म यति उत्साहित भएकी थिएँ, त्यस्तो क्यारेक्टर मैले गर्न पाएकी थिइनँ। स्क्रिप्ट पढ्दा नोबेल पढेको जस्तो भएको थियो।’
फिल्मको सुटिङ भएसँगै २०७७ को जेठदेखि रिलिज हुने तय भएको थियो। तर, कोरोना महामारी फैलिएसँगै प्रदर्शन रोकियो। दोस्रो लकडाउनपछि रामबाबु गुरुङले मिरुनालाई आफ्नो फिल्ममा खेल्न अफर गरे। त्यतिखेर निकै उत्साहित भएको सुनाउँछिन् मिरुना।
‘उहाँले अफर गर्दा म यूकेमा थिएँ। एउटा फिल्म छ, खेल्नुपर्छ त भन्नुभयो। तर, कुन फिल्म हो चाहिँ केही भन्नुभएन। त्यतिखेर सोध्न डर लाग्यो। दुई दिनपछि आँट गरेर सोधेपछि कबड्डी ४ हो भन्ने थाहा पाएँ। त्यो सुन्दा निकै उत्साहित भएँ किनकि कबड्डीको फ्यान थिएँ,’ उनले सुनाइन्, ‘अझ रमाइलो कुरा त कबड्डी सिरिजको यूके प्रिमियर हुँदा म होस्ट थिएँ र फिल्म हेरेपछि दर्शकहरूसँग रिभ्यु पनि लिएको थिएँ। त्यसै फिल्ममा समावेश हुन पाउँदा निकै खुसी भएँ।’
‘जारी’को सुटिङ पहिले भए पनि दर्शकहरूले सुरुमा ‘कबड्डी ४’ हेर्न पाए। २०७९ जेठ १३ गतेबाट रिलिज भएको यो फिल्मले मिरुनाको करिअर नै परिवर्तन गरिदियो। मिरुना र दयाहाङको केमेस्ट्रीलाई दर्शकले निकै रुचाए। र, यो नेपालकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो।
‘म एक क्षेत्रबाट अर्कोतिर आएँ, त्यो लालपुर्जा पहिलो टर्निङ थियो। तर, करिअरको प्रगतिको हिसाबले जुन व्यावसायिक सफलता कबड्डीलाई मिल्यो, त्यसले मेरो करिअरमा ठूलो भूमिका खेलेको छ। यो फिल्म चल्दा धेरै दर्शकमाझ पुग्ने मौका पाएँ। नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिएँ। त्यो हिसाबले टर्निङ पोइन्ट भन्न मिल्छ,’ मिरुना भन्छिन्।
२ वर्षमा ६ फिल्ममा दयाहाङसँगै मिरुना
कबड्डी ४ ब्लकबस्टर भएसँगै दयाहाङ र मिरुनाको जोडीले दर्शकको मन जित्यो। अझ गत वर्ष रिलिज भएको ‘जारी’ पनि हिट भएपछि त दुवै एकअर्काका परिपूरकजस्तै भए। त्यसपछि उनीहरू नांगो गाउँ, रंगेली, मनसरा फिल्ममा देखिए।
गत शुक्रबारबाट रिलिज भएको ‘घरज्वाइँ’ मा मिरुना र दयाहाङ मुख्य भूमिकामा छन्। यो मिरुनाको दसौँ फिल्म हो। मगर समुदायको कथामा बनेको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। दर्शकहरूको माया र साथले आफूहरूले छैटौँ फिल्मसम्म सहकार्य गर्न सम्भव भएको सुनाउँछिन् उनी।
‘उहाँजस्तो अभिनेताको अपोजिटमा काम गर्नु पाउनु ठूलो कुरा हो। किनभने उहाँले धेरै वर्षदेखि थिएटर हुँदै फिल्मसम्म काम गर्नुभएको छ। अझ उहाँले फिल्ममा एउटा बाटो नै बनाउनुभएको हो भन्छु म। त्यसमा म पनि जोडिन आइपुगेँ। त्यो मेरो लागि एकदमै राम्रो अवसर र सिक्ने मौका हो,’ मिरुनाले नेपालखबरसँग भनिन्।
दयाहाङलाई राम्रो कलाकार बताउने मिरुना उनलाई अभिभावकजस्तो मान्छिन्।
भन्छिन्, ‘छैटौँ फिल्मसम्म आइपुग्दा अझ उहाँलाई चिन्ने मौका पाएँ। उहाँ राम्रो कलाकार मात्र नभई राम्रो मान्छे पनि हुनुहुन्छ। धेरै सहयोगी हुनुहुन्छ। व्यक्तिगत रूपमा उहाँलाई अभिभावकजस्तो मान्छु। मलाई लाग्छ, हामीले जति पात्र निर्वाह गर्यौँ, ती पात्रमा दर्शकले आफूलाई पनि कहीँ न कहीँ पाउनुभएको जस्तो लाग्छ। हामी जोडी बनेका सुन्दर प्रेमकथा आम मानिसहरूकै प्रेमकथा हुन्छन्। त्यससँग रिलेट भएर दर्शकले मन पराउनुभएको जस्तो लाग्छ।’
यद्यपि धेरैपटक दोहोरिँदा एउटै जोडी दोहोरिँदा हरेक फिल्म एउटै देखियो भन्ने प्रतिक्रिया पनि आउँछ। जसलाई मिरुना सकारात्मक रूपमा हेर्छिन्। भन्छिन्, ‘सबैको आ-आफ्नो हेराइ हुन्छ। त्यो पनि मायाले नै भन्नुभएको हो लाग्छ। कुनै पनि मन परेको कलाकारले अझै धेरै विविधता देओस् भन्ने चाहना हुन्छ। त्यो आशीर्वादसरह हो। जुन पूरा पनि भइरहेको छ। ऊनको स्वीटरमा विपिनजीसँग काम गरिरहेकी छु।’
कथा आउन बाँकी नै छन्
कबड्डी ४ मा थकाली, जारीमा लिम्बू। नांगो गाउँमा तामाङ अनि घरज्वाइँमा मगर समुदायको चरित्रमा छिन् मिरुना। यी सबै फिल्मले आदिवासी जनजाति कथा बोकेका छन्। मिरुनाले यी पात्रलाई पर्दामा मात्र ल्याइनन्। ती पात्रमार्फत आफ्नो समाज बुझिन्, अनि संस्कृति पनि। तर मिरुनालाई लाग्छ, अझै समाजका कथा आउन बाँकी नै छन्।
‘हाम्रो समाज विविधताले भरिपूर्ण छ। त्यो हिसाबले अझ कति कथा आउन बाँकी छ जस्तो लाग्छ। अहिले विश्वभर नै विविधता निकै महत्त्वपूर्ण विषय बनेको छ। हामी यति भरिपूर्ण छौँ कि अहिले जति पनि कथाहरू आएका छन्, त्यो त एउटा सानो हिस्सा मात्रै होजस्तो लाग्छ। हाम्रो समुदाय र ठाउँको अझै धेरै कथा ल्याउन बाँकी छ,’ उनी भन्छिन्।
बेलायतमा छँदा मिरुनाका बुवाआमा नेपाली संस्कृतिबारे कुरा गरिरहन्थे। जसकारण मिरुनालाई नेपाली संस्कृतिप्रति झुकाव थियो। विदेशमा बसे पनि आफूलाई नेपालप्रति निकै माया रहेको सुनाउँछिन् उनी।
फिल्मकै माध्यमबाट आफूले नेपाली समाजबारे धेरै कुरा जान्न पाएको सुनाउँछिन् मिरुना।
‘म विदेशमा हुर्किएको हिसाबले जति पनि बुझेको थिएँ, त्यो लिखित र मौखिक थियो। फिल्ममा विभिन्न पात्र बनेर धेरै अनुभव बटुलेँ। कहिले नसुनेको ठाउँ देखेँ। कहिले नसोचेका मान्छे भेटेँ। सुनेको समाज रियल लाइफमा देखेँ। यो क्षेत्र मेरा लागि विद्यालय हो,’ उनले भनिन्।
शशि मिरुनाकी प्रशंसक र समालोचक दुवै हुन्।
आमाको बारेमा मिरुनाले भनिन्, ‘आमा मेरो ठूलो फ्यान हो। तर, बेस्ट क्रिटिक्स पनि। रंगमञ्चमा भएकाले उहाँले मलाई निकै सहयोग गर्नुहुन्छ। जहिल्यै छलफल गरिरहेका हुन्छौँ। उहाँ मेरो काम देखेर खुसी हुनुहुन्छ। अझै राम्रो काम गर्दै जाऊ भन्नुहुन्छ। उहाँ परिवारसँगै यूकेमा बस्नुहुन्छ।’
मिरुनाको करिअरको ग्राफ जसरी उकालो चढेको छ, त्यो अत्यन्त चाखलाग्दो छ। किनकि ६ वर्षको अवधिमा उनले निकै लोभलाग्दो तरिकाले आफूलाई स्थापित गरेकी छन्। तुलनात्मक रूपमा छोटो अवधि र कम फिल्ममै उनले त्यो उचाइ हासिल गरेकी छन्, जुन कलाकारहरूलाई सितिमिति प्राप्त हुँदैन।
‘यो क्षेत्रमा आउनेमा उत्साहका साथ धैर्य पनि त्यत्तिकै चाहिन्छ। पढेर अनि यो क्षेत्रलाई अझै बुझेर आउँदा सजिलो हुन्छ,’ मिरुना अभिनयमा आउन चाहनेहरूलाई सुझाव दिन्छिन्, ‘सबैजनाको यात्रा एउटै हुँदैन। मैले नै देखेको छु, दयाहाङ र सौगात दाइले कति वर्ष यसै क्षेत्रमा लगाउनुभएको छ। मेहनती, लगनशील र इमान्दार हुनुपर्छ। बाहिरको कुरा भन्दा आफूमा विश्वास हुनुपर्छ।’
Shares
प्रतिक्रिया