हेटौँडामा अवस्थित छ चर्चित ‘मुन नमुना उद्योग’। जसले नेपाली कपडा उत्पादन गर्छ। अत्यधिक सफल यस उद्योग इमानदार युवालाई सुम्पिन खोजिरहेकी छन् मुन मिस (आकांक्षा कार्की)। जसका लागि मुनले रचनात्मक खेलको योजना बनाउँछिन्। र, कपडामा युगको साँचो पठाउँछिन्।
चारैतिर कपडामा युगको साँचो भेटिने कुरा फैलिन्छ। जुन पाउनको लागि धनीदेखि गरिबहरुले अनेक प्रयास गर्छन्। तर, त्यो युगको साँचो विभिन्न वर्ग, समुदायका ५ जना युवा तथा बालबालिकाले पाउँछन्। ती पाँचजना भाग्यशाली हुन्छन्: अंकुर, रविना, साक्षी, मनु र आभा।
यी पाँचैजनाले एकजना अभिभावकसहित ‘मुन नमुना उद्योग’ घुम्ने मौका पाउँछन्। जहाँ विशेष पुरस्कारको लागि उनीहरुको भागदौड पनि हुन्छ। अन्तिममा त्यो विशेष पुरस्कार कसले पाउँछ? थाहा पाउन नाटक ‘युगको साँचो’ हेर्न बत्तीसपुतलीस्थित शिल्पी थिएटर नै पुग्नुपर्छ।
यो नाटक अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को भावानुवाद हो। टंक चौलागाईले अंग्रेजी नाटकलाई नेपाली परिवेशमा ढालेर भरपुर नेपालीपन दिने प्रयास गरेका छन्।
‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ मा चकलेट फ्याक्ट्रीको कुरा छ। तर, ‘युगको साँचो’ मा टंकले कपडा उद्योगको सन्दर्भ जोडेका छन्। वास्तविक कथामा विली वन्का मुख्य पात्र छन्। तर, ‘युगको साँचो’ मा मुन मिसलाई सफल व्यवसायीको रुपमा देखाइएको छ। त्यस्तै, वास्तविक कथामा कारखाना बालकले पाउँछ भने ‘युगको साँचो’ मा युवाले। परिवेश मात्र नभई पात्रमा गरिएको यो किसिमको परिवर्तन साँच्चिकै रोचक छ।
पछिल्लो समय नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ। स्वदेशमा रोजगारका अवसरहरु छैनन्। आर्थिक मन्दीले भएका उद्योगहरु पनि समस्यामा छन्। जसले विदेश जानु युवाहरुको नियतिजस्तै बनेको छ। प्लस टु सक्नेबित्तिकै विदेश जान बनाएको सोचदेखि नेपालको राजनीतिक अवस्थालाई नाटकले दुरुस्तै चित्रण गरेको छ।
यस नाटकले समस्याबारे मात्रै चर्चा गर्दैन। समाधानको बाटो पनि देखाउँछ। बन्द भएका उद्योगहरू खोलेर युवाहरुलाई देशमै बस्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने नाटकको मूल सन्देश हो। साथै नेपाली उत्पादनलाई संसारभरि पुर्याउनुपर्छ भन्नेमा नाटकले जोड दिन्छ। प्रविधि/मेसिनले मानिसलाई निलेको प्रसङ्ग पनि यसभित्र छ।
अन्तिममा मुन मिसले आफूले भनेजस्तो इमानदार व्यक्ति पाउँछिन्। र, आफ्नो कम्पनीको साँचो दिँदै भन्छिन्, ‘यो उद्योग मात्रै तिम्रो होइन। तिमीले उत्खनन् गर्नु छ, बन्द भएका उद्योगहरूको इतिहास। तिमी नै हो अबको वैज्ञानिक, आविष्कारक, इन्जिनियर र डाक्टर पनि। मलाई तिमीजस्तै इमानदार विद्यार्थीको खोजी थियो। म कर्ममा विश्वास राख्छु। तपाईंको भाग्यवादी सरकारलाई कति लोन चाहिन्छ? प्रपोजल ल्याउनुस्। यो देशमा कुनै पनि उद्योग टाट नपल्टियोस्। उद्योग गर्न चाहने कसैले पनि आफैलाई जलाएर मार्नु नपरोस्।’
नाटकले विदेश जानकै लागि भएको बालकुमारी घटनाको कुरालाई पनि समेटेको छ। नेपालको उद्योगप्रतिको अस्पष्ट नीतिलाई पनि नाटकले व्यङ्ग्य गर्छ। त्यसैगरी, टिकटक, रिल्समार्फत भाइरल बन्ने होडबाजीप्रति पनि नाटकले प्रहार गर्छ। दर्शकलाई हसाउँदै अनि उत्सुकता जगाउँदै गम्भीर विषयवस्तुलाई प्रस्तुत गर्नु नाटकको बलियो पक्ष हो।
कलाकाहरूको अभिनय पनि उत्कृष्ट छ। आकांक्षा कार्कीले मुन मिसको भूमिका बलियो छ। उनको पात्रले महिला नेतृत्वलाई समेत प्रतिनिधित्व गर्छ। दोहोरो भूमिकामा देखिएकी सेविता अधिकारीको अभिनयले पनि दर्शकको ध्यान खिच्छ। शिला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाईंले पनि आफ्नो पात्रलाई न्याय गरेका छन्।
नाटकको अर्को बलियो पक्ष हो: गीतसंगीत। अनुप तिमिल्सिना र ब्रोसिन ब्रोज महर्जनको संगीतले नाटकमा मिठास थपेको छ। पात्रअनुसारको शब्द र संगीतले नाटकलाई ‘म्युजिकल’ बनाएको छ। र, प्रकाशसँगै प्रप्सको प्रयोग पनि सुन्दर छ। समग्रमा नाटकले ‘अब आउने युगको ढोकाको साँचो कसले खोल्ला?’ भन्दै युवाहरुलाई प्रश्न तेर्स्याउँछ।
‘युगको साँचो’ टंकको चौथो निर्देशकीय नाटक हो। यसअघि चौलागाईंका नाटकहरु माधवी, ययाती र योगमायामा पनि महिलाको सशक्त चित्रण गरिएको थियो। माइकल चेखोभ नेपाल र स्कुल थिएटर नेपालको प्रस्तुतिमा बनेको यो नाटक साउन १९ गतेसम्म मञ्चन हुनेछ।
Shares
प्रतिक्रिया