ad ad

कला


‘बुलाकी’ को ट्रेलरमा कर्णाली क्षेत्रको जारीप्रथाको कथा

‘बुलाकी’ को ट्रेलरमा कर्णाली क्षेत्रको जारीप्रथाको कथा

नेपालखबर
साउन २२, २०८१ मंगलबार १०:३७, काठमाडौँ

साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा कर्णाली क्षेत्रमा रहेको जारीप्रथाको सामाजिक परिवेशलाई देखाइएको छ। 

कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा बनेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ। राजबहादुर सानेको कथा रहेको फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्ट, नव कलाकार सरस्वती खत्री छन्।

यसअघि यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो। कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो।

तर, विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको बताइएको छ।

ट्रेलर हेरोसकेपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए।

बुलाकी कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए। कलाकारहरूको भुमिका प्रशंसनीय भन्दै अभिनेत्री सुरक्षा पन्तको तारिफ गरे।

‘यो फिल्मले संस्कृती, संस्कार रितिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उथान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु’, खड्काले भने। 

अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’ दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन्।

शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .