जीवनमा हारलाई कसरी लिनुहुन्छ?
गत सोमबार ‘मिस्टर सुप्रास्टार सर्च–२०२०’ उपाधिका लागि डा. सन्तोष उपाध्यायलाई सोधियो।
जीवनको अनुभव मिसाउँदै उत्तर दिए- ‘हार भनेको पराजित हुनु होइन। यो त सिक्ने अवसर हो। एक न एक दिन सफलता हात पर्छ। परेन भने पनि निरास हुन हुँदैन। त्यसबाट सिक्दै अगाडिको बाटो तय गर्नुपर्छ।’
एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सन्तोषले त्रिवि शिक्षण अस्पताल (टिचिङ), धरान, शिक्षा मन्त्रालय र भारतीय राजदूतावासले लिने परीक्षा ९ पटक दिइसकेका थिए।
तर ९६ अंकसम्म ल्याउँदा पनि उनको नाम वेटिङ (पखाई) सूचीमै सीमित रह्यो। पटकपटक असफल भएपछि घरबाट पैसा तिरेरै पढ भन्ने सुझाव आयो।
‘म नाम निकाल्नेमा दृढ थिएँ। अन्ततः तेस्रो वर्षमा चारवटै निकायमा नाम निकालेँ,’ सन्तोषले सुनाए, ‘जीवनमा मैले जे गरेँ, जे भोगेँ। उत्तरमा त्यही दोहोर्याउँदा नेचुरल (वास्तविक) प्रस्तुति भयो। सायद यसैले मलाई उपाधिको हकदार बनायो।’
सन्तोष ‘मिस्टर नेपाल–२०१९’ उपाधि विजेता हुन्। यस्ताे ताज पहिरिनेहरू मिस्टर वर्ल्डकाे प्रतिस्पर्धामा भाग लिने गर्छन्। तर कोरोना महामारीका कारण बेलायतमा हुने यो ‘ह्यान्डसम’ प्रतियोगिता सन् २०२० मा नहुने भयाे।
यही बेला पोल्यान्डमा हुने गरेकाे मिस्टर सुप्रान्यासनलले आफ्नो फ्रेन्चाइजी नभएका देशका ह्यान्डसमहरू समेट्दै भर्चुअल रूपमा ‘मिस्टर सुप्रास्टार’ आयोजना गर्ने भयो। जसमा सन्तोषले पनि आवेदन दिने निर्णय गरे।
चिकित्सक अनि ‘ब्युटी प्याजेन्ट’
‘फेसन र मोडलिङ मात्रै हुने ब्युटी प्याजेन्टमा सहभागी हुने मेरो कुनै रुचि छैन। मैले ज्वाइन गर्नुको कारण सामाजमा गर्न थालेको कामलाई अन्तर्राष्ट्रिय रूपमा फराकिलो तरिकाले प्रस्तुत गर्न सकियोस् भनेर हो,’ सन्तोष ब्युटी पेजेन्टमा सहभागी हुनाका कारण खोतल्छन्।
छात्रवृत्तिमा एमबीबीएस सकेका चिकित्सकले २ वर्ष दुर्गमका अस्पताल गएर सेवा गर्नुपर्ने प्रावधान छ। सन्तोष आफ्नो गृहजिल्ला अछाम पुगे।
त्यहाँ उनी चिकित्सकीय सेवासँगै सामाजिक कार्यमा पनि सक्रिय बने। ३१ वटा हेल्थ क्याम्प गरे। दुईवटा लाइब्रेरी खडा गरे। बालबालिकाको जन्डिस उपचारका लागि अछाम जिल्ला अस्पतालमा फोटोथेरापी जडान गर्न सहयोग जुटाए। त्यसअघि भूकम्पका बेला पनि उनले सिन्धुपाल्चोकमा ११ घर बनाउन पहल गरेका थिए। अहिले उनले टिचिङ अस्पतालमा बैंकमा ‘कपडा बैंक’ सुरु गरेका छन्। जसबाट अस्पतालमा आउनेलाई आवश्यक कपडा निःशुल्क उपलब्ध भइरहेको छ।
यी सबै काम गरिरहँदा उनलाई काम गरिएजति प्रभाव नपरेकोजस्ताे लाग्याे। राम्रो काम गर्न खोज्दा पनि सीमित परिचयका कारण सोचेजस्तो प्रगति हुन नसककाे अनुभूति भयाे। उनकै भाषामा ‘सेल्फ रिकग्नेसन आइडिन्टेटी क्राइसिस’जस्तो महसुस भयो। त्यसैले उनी फराकिलो चिनारीका साथ सामाजिक कार्य गर्ने बाटोको खोजीमा थिए।
सन्तोष मिस नेपाल, मिस्टर नेपालजस्ता ब्युटी प्याजेन्ट फलो गर्थे। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा गरेकाे प्रतिनिधित्व देखेर उनी लोभिए। आफू पनि त्यो मञ्चमा पुगेर अहिले गरिरहेका काम अझै ठूलो स्केलमा गर्न सक्छु भन्ने उनलाई लाग्यो।
अछाममा १५ महिना काम गरेपछि उनी आमाकाे उपचारका लागि काठमाडौं फर्किनुपर्याे। बाँकी चिकित्सकीय अभ्यास पनि उनले यतै गरे र सँगसँगै मिस्टर नेपालबारे सोधीखोजी थाले।
प्रारम्भिक अन्तर्वार्ताबाट विभिन्न चरण पार गर्दै उनी अन्ततः २०१९ को ‘मिस्टर नेपाल’ चुनिन सफल भए।
त्यसपछि सुरु भयाे- ‘मिस्टर सुप्रास्टार सर्च–२०२०’ यात्रा। जहाँ ३७ देशका प्रतियोगीलाई उछिन्दै उनी उपाधि हात पार्न सफल भए।
भर्चुअल रूपमा गरिएको प्रतियोगितामा परिचय, प्रस्तुति, र्याम्प वाकमा उनी अब्बल देखिए। सुरुदेखि नै निर्णायकलाई प्रभावित पारेका सन्तोष शीर्ष २०, १२, ६, ३ हुँदै ताज पहिरन सफल भए।
शीर्ष ३ मा पुग्दा भोट कम भएका कारण उनी ४ नम्बरमा थिए। तर निर्णायकले दिने नम्बर राम्रो पाएकै कारण फाइनलिस्ट बने। शीर्ष ३ हुँदा भोट र निर्णायकको साथ दुवै महत्वपूर्ण रहे।
‘एउटा टाइटल यसअघि नै जितिसकेकाले त्यति फरक त परेन,’ उपाधि जितेपछिको अनुभव सुनाउँदै सन्तोषले भने, ‘म धेरैजसो आफ्नो काममा केन्द्रित हुने मान्छु हुँ। यसलाई त्यति ठूलो उपलब्धिका रूपमा लिएको छैन। लामो बाटो जानुछ। त्यसकै एउटा खुट्किलो चढियो।’
सन्तोषको अब मिस्टर सुप्रान्यासनलको यात्रा सुरु हुनेछ। त्यसका लागि ६ महिनापछि उनी पोल्यान्ड जानुपर्नेछ।
सुप्रान्यासनलमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली बन्न लागेका सन्तोषसँग स्पष्ट ‘भिजन’ छ।
जलवायु परिवर्तनको सन्देश विश्वलाई सुनाउने उपयुक्त मञ्चका रूपमा त्यसलाई प्रयोग गर्ने उद्देश्य उनको छ।
‘जलवायु परिवर्तन संसारभरकै समस्या हो। प्रदूषण फैलाउने दुई मुख्य कारण अटोमोबाइल र फेसन इन्डस्ट्रिज हुन्,’ उनी भन्छन्, ‘हामी धेरैले फेसन आइडलहरूलाई फलो गर्छौं। ती आइडलले यी इस्यु उठाइदिने हो भने एकैपटक धेरै मान्छेलाई प्रभाव पार्न सक्छौं। सुप्रान्यासनलको मञ्च म त्यसैमा प्रयोग गर्न चाहन्छु।’
जलवायु परिवर्तनमा कसरी काम गर्ने? यसको उत्तर पनि उनले तयार पारेका छन्।
त्यो हो– ‘प्लान्ट युर बुक’ अर्थात् आफ्नो किताब रोप्ने ‘प्रोजेक्ट’।
सन्तोषलाई लाग्छ, हामी जति किताब पढ्छौं, ती सबै रूखबाट आउँछन्। यो प्रोजेक्टको उद्देश्य किताब पढ्नेलाई रूख रोप्न लगाउने हो।
त्यसको सजिलो उपाय छ– विद्यालय, कलेज जहाँ सामाजिक, वातावरण विषय पढाइ हुन्छन्। त्यो विषयको २५ नम्बरको प्रयोगात्मक परीक्षा हुन्छ।
‘त्यो २५ नम्बरका लागि विद्यार्थीलाई रूख रोप्न लगाउने। त्यसपछि गन्न नसकिने रूख रोपिन्छ,’ सन्तोष भन्छन्, ‘त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्छ। यही सन्देश मिस्टर सुपरन्यासनलमा गएर म डेलिभर गर्नेछु।’
यो सन्देश फैलाउन सहभागी भएर मात्रै पुग्दैन। उपाधिमै आँखा लगाउन आवश्यक छ।
‘५० भन्दा बढी देशको सहभागिता हुन्छ। केहीलाई फलो गर्दा सबै एकसेएक पाएँ,’ सन्तोष सुनाउँछन्, ‘चुनौतीपूर्ण छ, तर हाम्रो प्रतिनिधित्व पनि बलियो हुन्छ। यसअघि पनि दुई महिनामा दुई टाइटल जित्न सकेको छु। एक हिसाबले म तयारी अवस्थामा छु र थप अभ्यास गर्दै छु।’
मिस्टर सुप्रान्यासनल सर्चमा सन्तोषले आफ्नो प्रदर्शनबाट आयोजकहरूलाई प्रभावित पारिसकेका छन। त्यही संस्थाले आयोजना गरेको मिस्टर सुप्रान्यासनल सर्चको उपाधि जित्नु पनि उनका लागि ‘प्लस प्वइन्ट’ हुनेछ।
त्यसबाहेक आफूलाई निखार्न उनी नियमित जिम जाने, स्टेज पर्फमेन्समा ध्यान दिने, डान्स, किक बक्सिङ सिक्ने गर्न थालेका छन्।
दुई दुइटा अस्पतालमा कामसमेत गरिरहेका सन्तोष सबै चिजका लागि कसरी समय मिलाउँछन त?
‘सुरुमा आफ्नो रुचि हुनुपर्दो रहेछ। रुचि भएपछि जाँगर चल्ने,’ उनी भन्छन्, ‘यो मेरा लागि राष्ट्रिय मुद्दाको विषय पनि हो। मैले ६ महिनामा गरेको प्रयासले भविष्यमा उदाहरण बन्न सक्छ। त्यसका लागि व्यक्तिगत कुरा कम्प्रोमाइज गरेर समय निकालेको छु।’
नेपाली समाजमा चिकित्सकले ब्युटी प्याजेन्टमा भाग लिएको दुर्लभै देखिन्छ। समाजले कोरेको एउटा चिकित्सकको चित्रभन्दा भिन्न हुँदै उनी ब्युटी प्याजेन्टमा सहभागी हुन पुगे।
उनी आफूलाई रुचि लागेको कुरा गर्नुपर्ने मान्यता राख्छन्।
‘मानव भइसकेपछि एउटै कुरामा केन्द्रित हुन सकिन्न। धेरैवटा जिम्मेवारी आउँछन्। आफूले कति गर्न सक्ने भन्ने मात्रै हो। मैले सहयोग गर्न सक्ने, प्रभाव पार्न सक्ने ठाउँमा जहाँ पनि उपस्थित हुन्छु,’ उनी भन्छन्।
राजनीतिक चेत आवश्यक
सन्तोष सचेत नागरिकले आफ्नो देशको राजनीतिक, सामाजिक अवस्थाबारे जानकारी राख्नुपर्ने र सही निर्णय लिन सक्नुपर्ने ठान्छन्।
उनलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे राम्रो जानकारी छ। जनतामा राजनीतिक चेत नआउँदासम्म उही पात्र र प्रवृत्ति दोहोरिरहने उनी बताउँछन्।
नेपाली जनताले मताधिकारको शक्ति जान्न नसकेको भान उनलाई हुन्छ। त्यसको महत्व बुझ्न नसक्नुमा उनी राजनीतिक चेतकै अभाव देख्छन्।
‘एक जना विदेशी राजनीतिज्ञको भ्रमण हुँदा रातारात पिच गर्न सम्भव हुन्छ भने काठमाडौंमा सधैं खाल्डाखुल्डी नहुनुपर्ने हो। तर जसले पाँचवर्षे कार्यकालमा सडकका खाल्डा पुर्न सक्दैन, हामी फेरि उसैलाई भोट दिन्छौं,’ उनी असन्तुष्टि व्यक्त गर्छन्, ‘यो राजनीतिक चेतकै कमी हो। हामीले विकल्प छान्नुपर्छ। विकल्प छैन भने आफैं राजनीतिमा आउनुपर्छ।’
संसद् विघटनपछि मुलुक जटिल अवस्थामा पुगे पनि प्रधानमन्त्री प्रत्येक भाषणपिच्छे कमेडी रूपमा प्रस्तुत हुँदा उनलाई दुःख लागिरहेको छ। स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री विकल्प हुन सक्ने उनको दाबी छ।
‘संसद् विघटन भएकाले प्रधानमन्त्री सुरक्षित हुनुभयो। संसद् विघटन नभएको भए अर्को प्रधानमन्त्री आउँथे, तर देश सुरक्षित हुन्थेन,’ उनी भन्छन्, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाम्रो विकल्प हुनुपर्छ। यस्तोमा संसदले भाग लगाएर साढे २ वर्षमा म अनि तिमी भन्ने हुँदैन।’
प्रतिक्रिया