अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने सेसनमा ओली र हमालले कुराकानी गर्नेछन्।
सिनेमा संवाद शीर्षकमा हुने छलफल दोस्रो दिन अर्थात् चैत २ गते शुक्रबार हुनेछ। उक्त संवाद बिहान ११ बजे सुरु भएर दिउँसो १ बजे सकिने आयोजकले जानकारी गराएको छ।
दुईबीचको कुराकानीलाई राष्ट्रिय सभागृहमा हलमा नि:शुल्क उपस्थित भएर सुन्न सकिनेछ।
चैत १ गतेदेखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुनेछन्।
महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन्। नम्रता शर्माले चलचित्रमा लैंगिक असमानताले पारेका प्रभावबारे अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन्।
महोत्सवमा दुवै छलफल आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन्।
छलफल शृंखलाअन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरकाबारे एकल प्रस्तुति दिनेछन् भने फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन्।
शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन्। सबै सेसन पर्यटन बोर्डमा सञ्चालन हुनेछन् भने सूत्र टीभी, निफलगायत समाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण हुनेछ।
विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मास् नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै निफ सुरु गरिनेछ। यो सालको संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ।
Shares
प्रतिक्रिया