ad ad

गण्डकी


मतदाताको गुनासो : प्रवेशद्वार नै अपाङ्गतामैत्री हुँदैन

मतदाताको गुनासो : प्रवेशद्वार नै अपाङ्गतामैत्री हुँदैन

तनहुँको व्यास नगरपालिका–१० निवासी शारीरिक अशक्ता भएकी कृष्ण थापा मतदान केन्द्र अपाङ्गतामैत्री बनाउनेबारे सुझाव दिँदै । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा सास्ती हुने गरेको उनको गुनासो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ९:४६, काठमाडौँ

तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छिन्। उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता आवश्यक पर्छ।  ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा छन्। निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ। 

‘मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ’, उनले भनिन्, ‘चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ।’

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उनको अनुभव छ। ‘छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ,’ उनले भनिन्।

मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उनको गुनासो छ।

अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उनको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ।

‘प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन’, आफ्नै अनुभव सुनाउँदै उनले भनिन्, ‘ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो।’ 

स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उनले आफूहरू त्यस्तो नचाहने बताइन्। ‘हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला’, उनले भनिन्, ‘मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु।’

मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताए। अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन्। 

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए। “मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ”, ढकालले भने। 

जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन्। सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ। विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .