ad ad

गण्डकी


तालचोक–बेगनास सडक शिलान्यास, साढे ३ किलोमिटरको ७ वर्षे सपना!

तालचोक–बेगनास सडक शिलान्यास, साढे ३ किलोमिटरको ७ वर्षे सपना!

नेपालखबर
चैत २७, २०७९ सोमबार १८:४५, पोखरा

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०७८ साल असार ९ गते पोखराका तत्कालीन मेयर मानबहादुर जिसीले भनेका थिए,‘विश्व बैंकको सहयोगमा संचालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गरिनेछ भने उक्त आयोजनामार्फत् संचालन हुने अन्य योजनाहरुको छनोट गरिनेछ।’

त्यसो त, मेयर जिसीले २०७६ सालदेखि नै ३.२८ किलोमिटर लामो तालचोक–बेगनास सडकलाई नमूना बनाउने उद्घोष गर्दै आएका थिए। पूर्वमेयर जिसीले भने अनुसार भएको भए, तालचोक–बेगनास सडक २०७८ सालमा सम्पन्न भइसक्थ्यो। विश्व बैंकले यो सडकको लागि त्यसअघि नै लगानीको प्रतिवद्धता जनाइसकेको थियो।

तर, सडकको लागत सबैभन्दा महँगो थियो। लगभग साढे ३ किलोमिटर सडकको लागत १ अरब ४९ करोड १५ लाख रुपैयाँ हुँदा परियोजनाको सम्झौताम हस्ताक्षर गर्न कर्मचारीहरु हच्किए। सो सडक निर्माणको अभिभारा महानगरका नयाँ मेयर धनराज आचार्यको काँधमा आइलाग्यो। 

बल्लतल्ल कुरा मिल्यो। गएको साउन ६ गते स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी, काठमाडौंसँग सडक निर्माणको सम्झौता भयो। निर्माण कम्पनीले अनुमानित लागतभन्दा  ३८।६४ प्रतिशत कम अर्थात् ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँमा ७३० दिनमा सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनायो। 

सडक हरियाली, फुटपाथ, साइकल ट्रयाक र डिभाइडरसहित चार लेनको सडक बिस्तारको लागि स्थानीको जग्गा अधिग्रहण गर्नुपर्ने तथा भएका संरचना हटाउनुपर्ने थियो। त्यसमा पनि ढिलाइ भयो।

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङका अनुसार वडा नम्बर २७, ३० र ३१ मा पर्ने सडक खण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन सकस नै भयो। त्यसले निर्माण कार्य पछि धकेलियो।

सम्झौता भएको करिब ९ महिनापछि सोमबार पोखराका मेयर धनराज आचार्यले सो सडकको शिलान्यास गरेका छन्। शिलान्यास गरिएको सो सडक खण्डमा ५ वटा साना पुलसहितको सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २‍.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा  एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ। 

ढिला शिलान्यास गरिए पनि मेयर आचार्यले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भने दिए।

‘तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौं,’मेयर आचार्यले भने,‘ २०८१ साल चैत्र २६ गते हामीले यो बाटोको उद्घाटन गर्नेछौं, किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनु हुनेछैन, कन्ट्याक्टर र कन्सल्टेन्ट कसैले पनि, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन।’ 

उनले पैसाका कारण काम नरोकिने पनि बताए। निर्माण व्यवसायी नारायण भुसालले पनि तोकिए कै समयमा निर्माण सम्पन्न गर्ने बताउँदै परियोजनामा निर्माणमा स्थानीयको सकारात्मक सहयोगको अपेक्षा राखे।

परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताए। पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले  चार लेनको सडक बन्दै गर्दा बेगनासमा व्यवस्थित बसपार्क बन्नुपर्नेमा जोड दिए। बेगनास कास्कीको दोस्रो ठूलो ताल हो। बेगनास फेवा किनारपछि पोखराको दोस्रो पर्यटकीय क्षेत्र हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .