ad ad

गण्डकी


अस्पताल बनाउन शिलान्यास, जमिन खनेर माटो निकासी गर्दा भएकै स्वास्थ्यचौकी जोखिममा

अस्पताल बनाउन शिलान्यास, जमिन खनेर माटो निकासी गर्दा भएकै स्वास्थ्यचौकी जोखिममा

रासस
बैशाख ५, २०८० मंगलबार ९:५२, काठमाडौँ

‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।

तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गरेका थिए।

अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठूला– ठूला बोट उम्रिएका छन्। घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिनसकेको छैन।

खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्यचौकीको भवनसमेत जोखिममा परेको छ। अस्पताल भवन निर्माण त पर जाओस् भइरहेको स्वास्थ्यचौकीको भवन जोगाउनका लागि नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले बताए। घडेरी खन्ने क्रममा त्रुटि भएकाले समस्या भएको उनको भनाइ छ। 

साविकको भवन जोगाउनका लागि रोकथाम गर्न थालिएको छ। घडेरी खन्ने नाममा अनावश्यक खर्च गरिएको छ। वडा नं ६ मा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १४ शय्याको अस्पताल निर्माण गर्न थालिएको थियो।

निर्माण व्यवसायी र प्राविधिक सबैको मिलेमतोमा कमजोरी भएको जनप्रतिनिधिले नै बताउने गरेका छन्। अस्पतालको घडेरी सम्याउँदासमेत रु २० लाखभन्दा बढी खर्च भएको नगरका आर्थिक संयोजक मानबहादुर कुँवरले बताए। ‘डिपिआर’समेत नगरी खनिएको घडेरीमा चाहिनेभन्दा बढी ढुङ्गा–माटो निकालिएपछि समस्या भएको उनले बताए। 

उक्त नगर अस्पतालको निर्माणलाई अघि बढाउन अहिले पनि कुनै पहल भएको छैन। तत्कालीन सरकारले एक पालिका एक आधारभूत अस्पताल बनाउने निर्णयसँगै सुरु भएको अस्पताल निर्माणले गति नलिँदा स्थानीय चिन्तित बनेका छन्।

नगरका प्रवक्ता अच्युत तिवारीले अस्पतालको काम अघि बढाउनेबारे कार्यपालिकामा छलफल भइरहेको जानकारी दिए। सोही ठाउँमा बनाउने वा अन्यत्र जग्गा व्यवस्थापन गरेर बनाउनेबारे आवश्यक निर्णय गरेर अघि बढ्ने तयारी भएको उनले बताए। 

स्थानीय राजकुमार क्षेत्रीले अस्पताल बनाउने नाममा अनावश्यक खर्च गरिएको आरोप लगाए।

जमिनको भौगोलिक अवस्था कमजोर भएकाले अस्पताल बन्न नसकेको उनको भनाइ छ । केही जनप्रतिनिधिको स्वार्थका कारण अस्पताल बनाउने ठाउँ नै खण्डहरजस्तो बनेको उनको भनाइ छ। नगर अस्पताल निर्माणका लागि संघीय सरकारले रु १० करोड ६३ लाख विनियोजन भएको भए पनि काम हुन नसक्दा बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .