ad ad

गण्डकी


पोखरा महानगरले फेवाको मापदण्ड कार्यान्वयन गर्ने

५ वटा मुर्रा राँगो ल्याउन पहल गर्ने
पोखरा महानगरले फेवाको मापदण्ड कार्यान्वयन गर्ने

नेपालखबर
असार १०, २०८० आइतबार २०:५, पोखरा

पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रमा बनेका संरचना हटाउने घोषणा गरेको छ। सर्वोच्च अदालतले फेवाको मापदण्ड ६५ मिटर कार्यान्वनय गर्ने आदेश दिएसँगै महानगरले सो प्रतिवद्धता जनाएको हो। 

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर धनराज आचार्यले  भनेका छन्,‘फेवाताल संरक्षणमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। यसको अतिरिक्त फेवा, बेगनास, रुपा लगायत रामसार सूचिमा सूचिकृत तालहरूको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’ 

महानगरले पोखराको बीचबाट बग्ने फिर्के खोलाको मापदण्ड निर्धारण गर्ने घोषणा पनि गरेको छ ।  

‘समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा मन्दिर पुराना ऐतिहासिक सम्पदा लगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्बद्र्धनको नीति लिइनेछ’ उनले भने, ‘पोखराको जननी रुपमा परिचित सेती नदी, पोखराको मध्यभागबाट बक्ष्ने फिर्केखोला र बुलौदीखोला लगायतको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको नीति लिइनेछ।’

उनले पोखराको मुख्य नदी, नाला तथा खोलाहरुको सिमाना एकिन गरी रेखाङ्कन गर्नेसमेत बताए। 

छाडा चौपाय व्यवस्थापनका लागि एनिमल रेस्क्यु भेइकल संचालन गर्ने पोखरा महानगरपालिकाले मुख्य समस्याको रुपमा रहेको छाडा चौपायको व्यवस्थापन गर्न गौशाला तथा एनिमल रेस्क्यु भेइकल संचालनमा ल्याउने भएको छ। 

आइतबार नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै छाडा चौपायको नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त सवारी संचालनमा ल्याउने भएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवस्थित गौशाला निर्माण, पशु उद्धार साधनसंचालन ल्याउने बताए। 

‘महानगर क्षेत्रका छाडा पशुहरुको उचित व्यवस्थापन गर्न व्यवस्थित गौशाला निर्माण गरिनेछ। छाडा  पशुचौपायको नियन्त्रण तथा व्यवस्थापनका लागि एनिमल रेस्क्यु भेइकल संचालनमा ल्याइने छ,’  मेयर आचार्यले भने, ‘सामुदायीक कुकुरहरुको नियन्त्रण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरणका साथै भ्याक्सिन अभियान सञ्चालनमा निरन्तरता दिइने छ। सार्वजानिक नीजि साझेदारीमा आधुनिक र व्यवस्थित बधशाला निर्माण प्रक्रिया अगाडी बढाइने छ।’

यस्तै पोखरा महानगरपालिकाले ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने समेत बताएको छ। नेपाल सरकारले ल्याएको मध्ये पाँच वटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गरी महानगर क्षेत्रमा नस्ल सुधारसहित भैँसी पालन व्यवसायलाई प्रोत्साहन गर्ने उनले बताए।

अफ्रिकन स्वाइन फिभरले पारेको बङ्गुर व्यवसायीलाई पारेको असर न्यूनीकरणका लागि राहत तथा पुनस्र्थापना प्याकेज कार्यक्रम समेत सञ्चालन गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .