ad ad

गण्डकी


लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८० शनिबार २०:२२, काठमाडौँ

यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ। 

‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको प्रदर्शनमा नयाँ पुस्ता र पर्यटक आकर्षित भएका छन्। 

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनको रुपमा  ब्राण्ड बन्दै गएको सडक महोत्सवमा मौलिक परम्परागत संस्कृतिलाई आन्तरिक तथा बाह्य पर्यटकले रुचीपूर्वक अवलोकन गरेको बताए। ‘पाँच दिनमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ महोत्सवलाई सफल बनाउन हामीले सबै उमेर समूह, सबै जातजाति, समुदाय र विदेशी पाहुना लक्षित परम्परागत सांस्कृतिक भेषभूषा, सामग्री प्रदर्शन गरिरहेका छौँ, जुन दर्शकले निकै मनपराइरहनुभएको छ,’ भट्टराइले भने, ‘पोखरा पर्यटकीय शहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन्। अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल निरन्तरता दिँदै आएको महोत्सवमा  यहाँको रहन सहन संस्कृतिलाई प्रचार प्रसार  गरिरहेका छौँ।’ 

महोत्सव संयोजक एवम् रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले २५ औँ संस्करणमा आइपुग्दा थप आर्कषक गराउन विभिन्न गतिविधिहरु महोत्सवमा समेटेको बताए। उनले भने, ‘हामीले महोत्सवमा लोपोन्मुख हुँदै गएका संस्कृति, पुरानो जीवनशैलीलाई झल्किने कुरालाई महोत्सवमा समावेश गराएका छौँ।’

उनले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्रि बुन्ने, मोही मथ्ने, विभिन्न जातजातिले प्रयोग गर्दै आएका सामग्री लगायतको प्रदर्शनले नेपाली संस्कृति र परम्परा बुझ्न चाहनेका लागि अध्ययन थलोसमेत बनाएको बताए। उनका अनुसार महोत्सवमा चितवनका थारूको स्टिकनाच, सिन्धुलीका महिलाको पञ्चेबाजा, रुकुमको मयुर नाच, लिम्बूको धाननाच, नेवार जातिको लाखे नाच, गुरुङ समुदायको छेडु नाच, मगर जातिको कौरा नाच हेर्न पाइनेछ।

सन् १९९८ बाट पोखरामा सडक महोत्सव सुरु भएको थियो। पोखरामा यसलाई भित्र्याउने पर्यटनका पायोनियरको रुपमा चिनिनु भएका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भारतको गोवाबाट फर्कँदा ल्याएको अवधारणा थियो। सो समय अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेक साइडमा पनि सडक महोत्सवको परिकल्पना गरेर सुरु गरिएको उनको भनाइ छ।

उनले अहिले पोखरामा थुप्रै सङ्घसंस्थाले मेला महोत्सव गर्दै आइरहे पनि रेवानले गर्ने सडक महोत्सव पृथक ब्राण्डको रुपमा स्थापित हुँदै गएको छ। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सव कोशेढुङ्गाको रुपमा स्थापित हुँदै गएको बताए। उनले पोखराको पर्यटनमा पर्यटन व्यवसायी सङ्घसंस्था निकै ठूलो भूमिका खेलेको तर पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरे।

यही पुस १२ गतेदेखि १६ गतेसम्म लेक साइडको तीन किलोमिटरको क्षेत्रमा चलिरहेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, पर्यटन प्रवद्र्धन संवाद कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेको महासचिव विकास भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .