अमेरिकाको सबै एफ–३५ लडाकु विमानमा वासिङ्टनले प्रतिबन्ध लगाएको चिनियाँ धातु प्रयोग गरिएको खुलासा भएको छ। सो खुलासासँगै नयाँ विमान आपूर्ति रोक्का गरिएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एफ–३५ प्रोग्रामअन्तर्गत हालसम्म ८२५ वटा भन्दा बढी लडाकु जेट आपूर्ति भइसकेको छ। लकहिड मार्टिनद्वारा निर्मित सो विमानमा अमेरिकी कानुनले प्रतिबन्धित गरेको चीनबाट आयातीत चुम्बक प्रयोग भएको सो प्रोग्रामका एक अधिकारीले बताएका हुन्।
एफ–३५ कार्यक्रमअन्तर्गत ३३ सय वटाभन्दा बढी विमान बन्न सक्ने बताइएको छ। तर, अहिलेसम्म बनिसकेका विमानबाट ती धातु भने नहटाइने बताइएको छ।
भविष्यका लागि भने सो उपकरण अन्यत्रैबाट व्यवस्था गरिने अमेरिकी अधिकारीहरुले बताएका छन्।
अमेरिकी कानुन र पेन्टागनको खरिद नियमावलीअनुसार चीन, इरान, उत्तर कोरिया वा रुसमा बनेका धातु अमेरिकी विमानमा प्रयोग गर्न पाइँदैन।
सो उपकरण हनिवेल इन्टरनेसनल इंकबाट किनिएको हो। जसलाई एक दशकअघि अमेरिकाले चीनबाट सो उपकरण किन्ने अनुमति दिएको थियो।
यो अमेरिकाको सबैभन्दा अत्याधुनिक लडाकु विमान हो। हालसम्म त्यसमा कुनै प्राविधिक गडबडी नदेखिएको जनाइएको छ। ब्लुमबर्ग
Shares
प्रतिक्रिया