चीनको शांघाई र अन्य ठूला सहरमा कोभिड १९ नियन्त्रणका लागि लगाइएको लकडाउनको विरोधमा प्रदर्शन भएको छ।
विश्वविद्यालय, क्याम्पसलगायतमा समेत चीन सरकारको शून्य कोभिड नीतिको खुलेर विरोध भएको हो।
खुल्ला रुपमा विरोध प्रदर्शन हुनुलाई चीनमा विरलै मानिन्छ। सी चिनफिङले राष्ट्रपतीय तेस्रो कार्यकाल सुरु गरेको एक महिना नबित्दै देशका धेरै भागमा सरकारी नीतिको खुलेर विरोध प्रदर्शन भएको हो।
गत बिहीबार सिन्जियाङको राजधानी उरुम्कीमा आवासीय भवनमा आगलागी भएको थियो। त्यो घटनामा १० जनाको मृत्यु र ९ जना घाइते भएका थिए। त्यसपछि विरोध प्रदर्शन सुरु भएको थियो।
कोभिड कडाइको कारण धेरै घाइतेलाई अस्पताल पु¥याउन र भवन छाड्न नदिइएको भन्दै विरोध भएको हो। त्यसको अर्को दिन सयौँ आवासीय मानिसहरुले उरुम्कीका सडकमा लकडाउन अन्त्य गर्न माग गरेका थिए। लकडाउनको कदमले ४० लाख मानिसलाई सय दिनसम्म आफ्नो घर छाड्न रोक लगाएको छ।
शनिबार सिन्जियाङका सरकारी अधिकारीहरुले चरणबद्ध रुपमा कोभिड लकडाउन हटाउने बताए पनि विरोध प्रदर्शन रोक्न नसकेको बताइएको छ। खासगरी युवा विद्यार्थीमाझ आक्रोश बढिरहेको छ।
चिनियाँ राजधानी सहर बेइजिङमा समेत मानिसहरु भेला भएर स्थानीय सरकारी अधिकारीसँग आमनेसामने भएका छन्। बेइजिङ, सियान, नान्जिङ, चोन्किङ, छेन्दु, वुहान र अन्य सहरका विश्वविद्यालयमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
सामाजिक सञ्जालमा समेत विरोध प्रदर्शनका भिडिओहरु भाइरल भएको बताइएको छ।
एससीएमपीबाट भावानुदित
Shares
प्रतिक्रिया