सुडानको राजधानी खार्तुममा लडाइँ सुरु भएको छ। मुलुकको अर्धसैनिक बल र सेनाबीच तनाव चर्किएको केही दिनपछि राजधानीमा बन्दुक पड्किएको र बम विस्फोट भएको आवाज सुनिएको छ।
खार्तुमको दक्षिणी हिस्सामा रहेको आफ्नो शिविरिमा सेनाले आक्रमण गरेको अर्धसैनिक बलले बताएको छ।
र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) नाम दिइएको सो अर्धसैन्य बलले विमानस्थल कब्जामा लिएको छ।
सेनाले भने आरएसएफका लडाकुहरुले सैन्य मुख्यालय कब्जा गर्ने कोसिस गरिरहेको जनाएको छ।
‘आरएसएफका लडाकुहरुले खार्तुम र देशभरका विभिन्न सैन्य शिविरमा हमला गरेका छन्,’ सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दल्लाहले भनेका छन्, ‘भिडन्त जारी छ र सेनाले मुलुकको सुरक्षा गर्ने जिम्मेवारी पुरा गरिरहेको छ।’
उनीहरुबीचको विवाद नागरिक शासनतर्फको संक्रमण सुरु गर्ने प्रस्तावमा केन्द्रित छ।
अक्टोबर २०२१ को सैन्य कू यता जर्नेलहरुले सुडानको शासन चलाइरहेका छन्। शासन चलाउने समूहलाई उनीहरुले सार्वभौम परिषद् नाम दिएका छन्।
परिषदका उपाध्यक्ष जर्नेल मोहम्मद हमदान दागालोको कमान्डमा छ आरएसएफ। सेनाको कमान्ड भने जर्नेल अब्देल फतह अल बुर्हानको हातमा छ। जो, परिषदका प्रमुख हुन्।
सेनाले दुई वर्षभित्र आरएसएफलाई सेनामा एकीकरण गर्ने प्रस्ताव गरेको छ। तर, आरएसएफ सो समयतालिका १० वर्ष बनाउनुपर्ने पक्षमा छ। बीबीसी
Shares
प्रतिक्रिया