ad ad

ग्लोबल


पुटिनका १३ आलोचक : १२ जना मारिए, विपक्षी नेता जेलमा

पुटिनका १३ आलोचक : १२ जना मारिए, विपक्षी नेता जेलमा

नेपालखबर
असार १३, २०८० बुधबार ८:३, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमर पुटिनमाथि थुप्रै हत्याका आरोप छन्। 

युक्रेनविरुद्ध युद्ध गरिरहेका उनका देशभित्र र देशबाहिर कट्टर आलोचक छन्। तर, रुसमा उनको खुलेर विरोध गर्ने मानिस छैनन्। किनभने विरोध गरेकै कारण पुटिन सरकारले विपक्षी नेता एलेक्सी नाभाल्नीलगायतलाई जेलमा थुनेको छ।

तर गएको शनिबार 'पुटिन किचेन सेफ' भनेर चिनिने रुसी अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले पुटिनविरुद्ध विद्रोह गरे। प्रिगोजिन पुटिनकै संरक्षणमा उदाएका व्यापारी हुन्। यद्यपि, २४ घण्टा नबित्दै उनी फिर्ता भए। 

प्रिगोजिन भन्दा पहिले पनि पुटिनका आलोचक नभएका होइनन्। तीमध्ये १३ जनालाई पुटिनले यसरी बढारेका थिए।

विपक्षी नेता एलेक्सी नाभाल्नी
पुटिनका शत्रुहरूको सूचीमा सबैभन्दा पहिले विपक्षी नेता एलेक्सी नाभाल्नीको नाम आउँछ। उनी पुटिनको कट्टर आलोचक हुन्। सन् २०११ मा, नाभाल्नीले पहिलोपटक पुटिनको पार्टीविरुद्ध भ्रष्टाचारको मुद्दा उठाएका थिए। उक्त आरोप लगाएकै कारण उनले १५ दिन जेलमा बस्नुपर्‍यो।

रिहाइपछि राजनीतिमा व्यस्त उनले पुटिनविरुद्ध आलोचना जारी राखे। सन् २०१९ मा १ महिना जेल बसे। उनले सन् २०२१ मा पुटिनको विरुद्ध प्रदर्शन गरे। त्यसपछि सरकारले पत्नी युलियासँगै उनलाई जेलमा थुनेको छ। 

९ वर्ष जेल सजाय सुनाइएको उनीविरुद्ध भ्रष्टाचार र अदालतको अवहेलनाको अभियोग लगाइएको छ।

सन् २०२० मा नाभाल्नी एक यात्राका क्रममा जहाजमै बेहोस भएका थिए। त्यो बेला नाभाल्नीको हत्या गर्न पुटिनले पेयपदार्थमा विष मिसाउन लगाएको आरोप लागेको थियो। 

पावेल एन्टोनोभ 
रुसी राजनीतिज्ञ र करोडपति पावेल एन्टोनोभले पुटिनले युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि युद्धको आलोचना गरे। 

उक्त आलोचना गरेको केही समयपछि २५ डिसेम्बर २०२२ मा उनको ६५औँ जन्मदिन थियो। ओडिशाको रायगडस्थित एक होटलमा उनी जन्मदिन मनाइरहेका थिए। होटलको झ्यालबाट खसेर रहस्यमयी ढंगले उनको मृत्यु भयो। 

रविल म्यागानोभ
लुकोइल तेल कम्पनीका अध्यक्ष रविल म्यागानोभले युक्रेनमा रुसले आक्रमण गरेपछि खुलेर आलोचना गरेका थिए। युद्ध सुरु भएपछि उनले चाँडो युद्ध अन्त्यको लागि आह्वान गरेका थिए।

२०२२ सेप्टेम्बरमा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर उनको पनि रहस्यमयी मृत्यु भयो।

डान रापोपोर्ट
व्यवसायी डान रापोपोर्टले सार्वजनिक रूपमा युद्धको सामाजिक सञ्जालमा धेरै पटक निन्दा गरे। उनले युक्रेनको समर्थन गर्दै पुटिनको आलोचना गरेका थिए।

२०२२ अगस्टमा वासिङ्टनस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिए। प्रहरीका अनुसार ड्यानको साथबाट फ्लोरिडाको ड्राइभर लाइसेन्स, कालो टोपी, २ लाख ५ हजार ११४ रुपैयाँ नगद र सुन्तला रंगको फ्लिप फ्लप फेला परेको थियो।

मिखाइल लेसिन
रुसी प्रेस मन्त्री मिखाइल लेसिन पनि पुटिनका आलोचक थिए। लेसिनले अंग्रेजी भाषाको टेलिभिजन नेटवर्क रूस टुडे (आरटी) को स्थापना गरेका थिए। जहाँ पुटिनको कडा आलोचना भएको थियो।

नोभेम्बर २०१५ मा वासिङ्टनको एउटा होटलको कोठामा उनी मृत फेला परे। उनको टाउकोमा गहिरो चोट लागेको थियो। 

बोरिस नेम्त्सोभ
सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई गाभेपछि बोरिसले पुटिनको आलोचना गरेका थिए। 

क्रेमलिनबाट केही गजको दूरीमा एउटा रेस्टुरेन्टबाट घर फर्किँदै गर्दा गोली हानी हत्या गरियो। 

बोरिस बेरेजोव्स्की
रुसका ठूला व्यवसायी बोरिस बेरेजोव्स्कीले पुटिनसँगको विवादपछि देश छोड्नु पर्‍यो।

देश छाडेपछि उनी बर्कशायर गए। २०१३ मार्चमा बर्कशायरको आफ्नै घरमा रहस्यमय अवस्थामा उनी मृत फेला परे। घाँटीमा कपडाको पासो लगाइएको अवस्थामा उनी भुइँमै मृत भेटिएका थिए।

प्रहरीले हत्याबारे लामो अनुसन्धान गर्‍यो। तर उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

नटालिया एस्टेमिरोवा
एस्टेमिरोवा एक महिला पत्रकार थिइन्। उनले चेचन्यामा रुसले गरेको मानवअधिकार उल्लंघनको समाचार लेखिन्।

त्यसपछि घरबाहिरबाटै उनको अपहरण गरियो। पछि उनको शव जंगलमा भेटियो। नतालियाको टाउकोमा गोली लागेको थियो। 

स्टानिस्लाव मार्केलोभ र अनास्तासिया बाबुरोवा
पोलिटकोभस्कायासहित अन्य पत्रकारहरूको नेतृत्व मानवअधिकारवादी वकिल स्टानिस्लाभ मार्केलोभले गरेका थिए। ती सबै पुटिनका कट्टर आलोचक थिए।

मार्केलोभलाई क्रमेलिननजिक एक मुखौटाधारीले गोली हाने। उनीसँगै हिँडिरहेकी पत्रकार बाबुरोभाले पनि गोली लागेको थियो। तर उनी बाँचिन्।

अलेक्जेन्डर लिटभिनेन्को
लिटभिनेन्को पूर्व केजीबी एजेन्ट थिए। उनी लण्डनको एक होटलमा मृत फेला परेका थिए । उनको चियामा घातक पोलोनियम-२१० जहर भेटिएको थियो, उक्त चिया पिएको तीन हप्तापछि उनको मृत्यु भयो। जब बेलायती अधिकारीहरूले अनुसन्धान गरे, यो पत्ता लाग्यो कि लिट्भिनेन्कोलाई विष दिइएको थियो।

उनको चियामा एफएसबी एजेन्टहरू आन्द्रेई लुगोभोई र दिमित्री कोभटुनले विष मिलाएका थिए। राष्ट्रपति पुटिनले उक्त आदेश दिएका थिए।

अन्ना पोलिटकोभस्काया
पुटिनकी कट्टर आलोचक अन्ना एक रूसी पत्रकार थिइन्। उनले आफ्नो पुस्तक ‘पुटिनको रूस’ मा पुटिनमाथि आफ्नो देशलाई प्रहरी राज्यमा परिणत गरेको आरोप लगाएकी छन्।

उक्त पुस्तक प्रकाशन भएपछि एक 'कन्ट्र्याक्ट किलर'ले उनको हत्या गर्‍यो। आफ्नै फ्ल्याटबाहिर उनको हत्या भएको थियो। उक्त हत्यामा अदालतले ५ जनालाई दोषी ठहर गरेको थियो ।

पल क्लेबनिकोभ
पल क्लेबनिकोभ फोर्ब्सको रुसी संस्करणका प्रमुख सम्पादक थिए। उनले रुसका व्यापारीहरूको पुटिनसँगको 'कनेक्सन' र पुटिन सरकारमा भएका भ्रष्टाचारको बारेमा लेखेका थिए।

उनको गोली हानी हत्या भयो।

सर्गेई युहेनकोभ
युहेनकोभ एक रुसी राजनीतिज्ञ थिए। उनलाई पुटिनलाई टक्कर दिने नेताको रुपमा हेरिएको थियो।

उनले लिबरल रुस पार्टी गठन गरे। उक्त पार्टीले दलको मान्यता पाएको केही घण्टामै अज्ञात व्यक्तिले उनको छातीमा गोली हानी हत्या गर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .