चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको न्यानो स्वागत गरेका छन्। अमेरिका–चीन सम्बन्ध स्थिर पार्ने प्रयास चलिरहेका बेला किसिन्जर बेइजिङ भ्रमणमा पुगेका हुन्।
वासिङ्टनका कतिपय उग्र नीतिनिर्माताले चीनलाई प्रमुख शत्रु घोषित गरिरहेका बेला किसिन्जरले भने चीनसँग सुमधुर सम्बन्ध राख्नेपर्ने पैरवी गर्दै आएका छन्।
अमेरिकाले उनको चीन भ्रमण नितान्त व्यक्तिगत भएको बताएको छ। तथापि, चीनमा भने किसिन्जरलाई निकै प्रभावशाली व्यक्तित्व मान्ने गरिन्छ।
सय वर्षीय किसिन्जरले १९७० को दशमा चीन–अमेरिका सम्बन्ध पुनर्स्थापनामा सूत्रधारको भूमिका खेलेका थिए।
‘तपाईंलाई देख्न पाउँदा म निकै खुसी छु, सर,’ सरकारी टेलिभिजनमा प्रसारित फुटेजमा सीले किसिन्जरलाई भनेका छन्।
राष्ट्रपति सीले कूटनीतिज्ञहरुलाई प्रायः ग्रेट हल अफ द पिपुलमा भेट्ने गर्छन्। तर, उनले किसिन्जरलाई तियाओताइ गेस्ट हाउसमा भेट गरेका छन्।
यही गेस्ट हाउसमा ५० वर्षअघि किसिन्जरले चिनियाँ अधिकारीहरुलाई गुप्त रुपमा भेटेका थिए, जसले दुई मुलुकबीचको सम्बन्ध सामान्यीकरणको सुरुवात गरेको थियो।
‘हामी हाम्रा पुराना मित्रलाई कहिल्यै भुल्दैनौँ र अमेरिका–चीन सम्बन्ध र दुई देशका जनताबीचको मित्रता विकासमा तपाईंको ऐतिहासिक योगदानलाई हामी कहिल्यै भुल्ने छैनौँ,’ सीले भनेका छन्।
सोमबार बेइजिङ ओर्लिएका किसिन्जरले यसअघि शीर्ष कूटनीतिज्ञ वाङ यी र रक्षामन्त्री ली साङ्फुलाई भेटेका थिए।
किसिन्जरले भेटहरुमा आफूलाई चीनको मित्र भन्दै ‘एकअर्कालाई शत्रुको व्यवहार गर्नु चीन र अमेरिका दुवैले धान्न नसक्ने’ बताएका थिए।
किसिन्जरले एक सय पटकभन्दा बढी चीनको भ्रमण गरिसकेका छन्। यसअघि उनले २०१९ मा सीलाई भेटेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया