ad ad

ग्लोबल


चीनका सख्त विदेशमन्त्रीको पुनरागमन, जो कूटनीतिज्ञलाई बर्दीबिनाको सिपाही मान्छन्

चीनका सख्त विदेशमन्त्रीको पुनरागमन, जो कूटनीतिज्ञलाई बर्दीबिनाको सिपाही मान्छन्

नेपालखबर
साउन १३, २०८० शनिबार १८:४०,

सन् २०१३ मा अस्ट्रेलियाकी विदेशमन्त्री जुली बिसप चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्तामा थिइन्। द्विपक्षीय वार्ताको सुरुमा वाङ यी एकतमासले बोल्न थाले। मन्दारिन भाषामा। बिसपलाई लाग्यो, सबथोक ठिकै चलिरहेको छ।

तर, त्यहीबेला चीनका लागि अस्ट्रेलियाका राजदूतले एउटा सानो लेखोट मन्त्री बिसपको हातमा थमाए। जसमा लेखिएको थियो, ‘भाषण भयंकर नराम्रो छ।’

वाङ बिसपलाई सार्वजनिक रुपमै थर्काइरहेका थिए। पूर्वी चीन सागरमा ‘एयर डिफेन्स आइडेन्टिफिकेन जोन’ स्थापना गरेको विषयमा अस्ट्रेलियाले आपत्ति जनाएपछि वाङले यसरी प्रतिक्रिया जनाएका थिए। 

त्यसपछि मन्त्रीद्वय तिक्त कूटनीतिक डिनरमा सहभागी भए। दुवै चुपचाप एकअर्कालाई क्वारक्वार्ती हेरिरहेका थिए।

सो घटनाको विवरण बिसपले पछि अन्तर्वार्ताहरुमा दिइन्। जसले सी चिनफिङको शासनमा चिनियाँ कूटनीतिले लिएको नयाँ र अझ मुखर प्रकृतिलाई स्पष्ट पारेको थियो। साथै वाङलाई सो कूटनीतिको प्रमुख हस्तीका रुपमा अगाडि ल्याएको थियो। 

अहिले विदेशमन्त्री पद छाडेको केही महिनामै ६९ वर्षीय वाङलाई सो पदमा फिर्ता बोलाइएको छ। जसलाई कट्टर राष्ट्रवादी र सीका पुराना सहयोगीका रुपमा चित्रित गर्ने गरिन्छ।

र, यसपटक वाङले अझ कठिन चुनौतीको सामना गर्दैछन्।

कुनै समय सीका सबैभन्दा निकटस्थका रुपमा चर्चित छिन काङलाई यसैसाता अचानक पदच्यूत गरिएपछि वाङलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको हो। सबथोक गोप्य हुने चीनकै मापदण्डअनुसार पनि छिनको यो प्रकरण आश्चर्यजनक छ। 

पहिले स्वास्थ्यका कारण भन्दै एक महिना सार्वजनिक रुपमा नदेखिएका छिनलाई पछि कुनै कारण नदिई संसदको आपतकालीन बैठकले पदमुक्त गरेको थियो। 

वाङ छिनभन्दा एक पद माथि पार्टीको विदेश मामिला प्रमुख हुन्। तर, त्यो पद विदेशमन्त्रीभन्दा अलि ‘लो–प्रोफाइल’ मानिन्छ। अब वाङको चुनौती भनेको चिनियाँ कूटनीतिको विश्वसनीयता पुनर्स्थापना गर्नु हो। अर्कोतिर, आफ्ना पूर्वसहकर्मी छिनको सहयोगबिनै उनले अति व्यस्त र बोझिलो कार्यभार वहन गर्नुपर्ने हुन्छ। 

बढ्दो भूराजनीतिक तनावलाई सम्हाल्नुका अलावा वाङले राष्ट्रपति सीको अनेकौँ महत्वपूर्ण भ्रमणहरुको तयारी गर्नुपर्ने हुन्छ। नोभेम्बरमा अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसनमा उनी सहभागी हुने सम्भावना छ, जहाँ उनले अमेरिकी समकक्षी जो बाइडेनसँग भेट्न सक्छन्। 

‘उनको मुख्य टाउको दुखाइ भनेको कसरी यी कठिन समस्या व्यवस्थापन गर्ने भन्ने हो,’ प्राध्यापक मिन्सिन पेइ भन्छन्। उनले अमेरिका, युरोप, जापान र अन्य मुलुकसँगको सम्बन्धमा चीनको समस्याको विवरण दिए।

‘र, यस्ता ठूला शिखर बैठकहरुको व्यवस्थापन गर्नु,’ उनले थपे।

वाङ ‘सिल्भर फक्स’ नामले पनि चर्चित छन्। किनभने पार्टीका अन्य वृद्ध नेताहरुझैँ उनी आफ्नो फुलेको कपालमा कालो लगाउँदैनन्। 

वाङ पहिलो पटक एक दशकअघि सीले शासन सम्हालेलगत्तै विदेशमन्त्री नियुक्त भएका थिए। 

‘वाङका बारेमा सबैकुरा ज्ञात छ। र, उनी छिन काङजस्तो राजनीतिक रुपले घुसपैठ गरेका व्यक्ति होइनन्,’ एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका ड्यानी रसेल भन्छन्, ‘तर, समय बित्दै जाँदा वाङ पहिलेजति आकर्षक र खुला विचार बोक्ने कूटनीतिज्ञ रहेनन्। जोसँग म र अन्य व्यक्तिहरु खुलेर कुरा गर्न सक्थ्यौँ। अहिले उनी चिनियाँ सपना र सी चिनफिङ विचारधाराको सच्चा रक्षकजस्ता देखिन्छन्।’

१९५३ मा बेइजिङमा जन्मेका वाङ माओ चेतुङको सांस्कृतिक क्रान्तिका बेला खेतबारीमा काम गर्न बाध्य भएका थिए। त्यसपछि उनी विदेश मन्त्रालयमा प्रवेश गरे। वासिङ्टनस्थित जर्जटाउन युनिभर्सिटीमा अध्ययन गरे र जापानका लागि राजदूत बने।

तल्लो वर्गको पृष्ठभूमिका भए पनि उनले सम्भ्रान्त कूटनीतिक वृत्तमा विवाह गरे। उनका ससुरा चियान चियादोङ चाउ एनलाइका सहयोगी थिए।

कूटनीतिबारे चाउको प्रसिद्ध भनाइ छ, ‘कूटनीतिज्ञहरु भनेको बर्दीबिनाका जनमुक्ति सेना हुन्।’ यो सन्देशलाई वाङले टपक्क टिपेको प्रतीत हुन्छ।

आफ्नो पुस्तक ‘चाइनाज् सिभिलियन आर्मी’ मा पिटर मार्टिनले २०१३ मा विदेश मन्त्रालयका नवनियुक्त कर्मचारीहरुलाई वाङले गरेको सम्बोधन उल्लेख गरेका छन्। ‘चाउ एनलाइ कूटनीतिज्ञहरुका लागि सधैँ मोडल हुनेछन्,’ वाङले भनेका थिए, ‘नागरिक सैनिकले कठोर अनुशासन मात्र पालना गर्न आवश्यक छैन, जनमुक्ति सेनाले झैँ जनताको सेवा पनि गर्नुपर्छ।’

पछिल्ला वर्षहरुमा चीनलाई नियन्त्रण गर्न जब ट्रम्प प्रशासनले कदमहरु चाल्यो, वाङ नेतृत्वको चिनियाँ विदेश मन्त्रालयले त्यसको जवाफ ‘वुल्फ वारियर’ कूटनीतिमार्फत दियो। वाङसँग संवाद गरेका एक पूर्वपत्रकारले भने उनी परिष्कृत प्रकारको वुल्फ वारियर भएको बताए।

‘वाङ यीका धेरै अनुहार छन्। उनीसँग क्षेत्रीय र विश्वव्यापी मामिलामा गम्भीर र दिगो छलफल गर्ने क्षमता छ। तर, उनी अत्यन्त राजनीतिक प्राणी पनि हुन्,’ जर्जटाउन युनिभर्सिटीका एभान मेदेइरो भन्छन्। उनी अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको प्रमुख चीन सल्लाहकार थिए। जतिबेला उनले वाङसँग काम गर्नुपरेको थियो।

‘युरोपेली र अमेरिकीहरुले चिनियाँ, जापानी र दक्षिण कोरियालीबीच फरक छुट्याउन सक्दैनन्,’ वाङले यसै महिना यी मुलुकहरुको त्रिपक्षीय बैठकमा भने, ‘तपाईं कपाल जति खैरो पारेर रङ्ग्याउनुस्, नाक जति तिखो पार्नुस्, हामी पश्चिमा बन्न सक्दैनौँ। आफ्नो जरा कहाँ छ भन्ने हामीले जान्नैपर्छ।’

चीन अहिले युरोपसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको छ। युक्रेनमाथि रुसको आक्रमणलाई भर्त्सना गर्न नमानेका कारण युरोप चीनसँग सशंकित छ। 

यहीबेला बेइजिङ र वासिङ्टन संवाद ब्युँताउने कोसिसमा छन्। वाङले यसअघि नै अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानसँग भेट गरिसकेका छन्।

‘यो एकदमै महत्वपूर्ण च्यानल हो। तर, यी दुवै जना अति व्यस्त छन्। वाङ त छिनलाई हटाएपछि झन् दोब्बर व्यस्त भएका छन्,’ रसेल भन्छन्।

वाङले आफ्नै उत्तराधिकारी खोज्न पनि सीसँग मिलेर काम गर्नुपर्नेछ। उनी अवकाशको उमेर पार भइसकेका छन्।

अस्ट्रेलियाकी तत्कालीन विदेशमन्त्री बिसप भने अहिले सरकारमा छैनन्। गत साता उनले विदेशमन्त्रीमा वाङको फिर्ती स्वागतयोग्य भएको बताइन्।।

‘उनीसँग मेरो सधैँ व्यावसायिक सम्बन्ध रह्यो,’ उनले भनेकी छन्, ‘भलै एक पटक कुरा बिग्रेको थियो। तर हामी त्यसको कुरा गर्दैनौँ।’

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .