ad ad

ग्लोबल


बीआरआईमा गुणस्तरीय सहकार्यका लागि सी चिनफिङका यी आठ प्रस्ताव

बीआरआईमा गुणस्तरीय सहकार्यका लागि सी चिनफिङका यी आठ प्रस्ताव

नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:१५,

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा गृणस्तरीय सहकार्य वृद्धि गर्न विभिन्न आठ वटा कदम चाल्ने घोषणा गरेका छन्। बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरम उद्घाटनमा बोल्दै सीले सो सहकार्यलाई नयाँ र उच्च स्तरमा उकास्न सबैसँग आग्रह गरे। 

‘हामीले गर्न खोजिरहेको आधुनिकीकरण चीन एक्लैका लागि होइन, बरु सबै विकासशील मुलुकका लागि हो,’ सीले भने।

बीआरआईको पहिलो दशक फलदायी भएको उनको भनाइ थियो। सीले सन् २०१३ मा बीआरआई परियोजना घोषणा गरेका थिए। त्यसयता झण्डै डेढ सय मुलुकसँग दुई सयभन्दा बढी सम्झौतामा चीनले हस्ताक्षर गरिसकेको छ भने तीन हजारभन्दा बढी परियोजनाहर अघि बढेका छन्। जसको लागत करिब १ ट्रिलियन डलर रहेको अनुमान गरिन्छ। 

‘पहिलो दशकमा मजबुत र फलदायी रहेको बेल्ट एन्ड रोड सहकार्य अब गतिशील र जीवनशक्तिदायी बनेको छ। हामी उत्साहका साथ नयाँ र स्वर्णिम दशकतिर अघि बढ्नुपर्छ,’ सीले ग्रेट हल अफ द पिपुलमा भने।

फोरममा १४० मुलुकका र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित छन्। ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको जनाइएको छ। उनले घोषणा गरेका आठ कदम यसप्रकार छन् :

१. बहुआयामिक बेल्ट एन्ड रोड कनेक्टिभिटी नेटवर्क निर्माण। यसअन्तर्गत चीनले युरेसियामा रेल कनेक्टिभिटीलाई जोड दिने छ। चीन–युरोप रेलवे एक्सप्रेस विकास अघि बढाउने, ट्रान्स क्यास्पियन इन्टरनेसनल ट्रान्सपोर्टेसन करिडोरमा सहभागी हुने र चीन–युरोप रेलवे एक्सप्रेस कोअपरसेन फोर आयोजना गर्ने सीले बताए।

२. खुला विश्व अर्थतन्त्रलाई समर्थन गर्ने। यसअन्तर्गत अझ धेरै मुलुकहरुसँग चीनले खुला व्यापार सम्झौता र लगानी संरक्षण सम्झौता गर्नेछ। त्यस्तै उत्पादन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीमा रहेका सबै प्रतिबन्धहरु हटाउने लगायतका प्रतिबद्धता सीले गरे। आगामी पाँच वर्षमा चीनको समग्र वस्तु तथा सेवा व्यापारले ३२ ट्रिलियन लडर नाघ्ने पनि उनले बताए।

३. व्यावहारिक सहकार्य गर्ने। चीनले बीआरआईअन्तर्गत ठूला र ‘साना तथा स्मार्ट’ दुवै खाले परियोजना अघि बढाउनेछ। चाइना डेभलपमेन्ट ब्यांक र एक्जिम ब्यांक अफ चाइनाले ३५० अर्ब आरएमबीको लगानी कोष खडा गर्नेछ भने सिल्क रोड फन्डमा ८० अर्ब आरएमबी थपिनेछ। चीनले एक हजार वटा साना जीविकोपार्जन सहायता परियोजनामा लगानी गर्नेछ।

४. हरित विकास प्रबर्द्धन। चीनले हरितय उर्जा, यातायात र हरित पूर्वाधारमा लगानी बढाउनेछ। त्यसका लागि २०३० सम्मा साझेदार देशहरुलाई एक लाख तालिम पनि दिनेछ।

५. वैज्ञानिक र प्राविधिक नवप्रवर्तनलाई अघि बढाउने ः यसअन्तर्गत चीनले पहिलो बेल्ट एन्ड रोड कन्फ्रेन्स अन साइन्स एन्ड टेक्नोलोजी एक्स्चेन्ज आयोजना गर्नेछ भने अन्य मुलुकमा संयुक्त प्रयोगशालाहरु विस्तरा गर्नेछ। यही फोरममा चीनले ग्लोबल इनिसियटिभ फर आर्टिफिसियल इन्टेलिजेन्स गभर्नेन्स पनि अघि सार्नेछ।

६. जनस्तरको सम्बन्धलाई सहयोग। यसअन्तर्गत चीनले जनस्तरको आदानप्रदान बढाउने विभिन्न कार्यक्रम, फेस्टिबल र संवाद आयोजना गर्नुका साथै छात्रवृत्ति पनि प्रदान गर्नेछ।

७. इमानदारी र स्वच्छतामा आधारित बीआरआई सहकार्यलाई बढावा दिने। चीनले बीआरआई परियोजनामा पारदर्शिता र स्वच्छतालाई बढावा दिनेछ। त्यसका लागि अनुसन्धान र तालिम कार्यक्रम सञ्चालन गरिनेछ।

८. बीआरआई सहकार्यमा संस्थागत सहकार्यलाई सुदृढ गर्ने। चीनले बीआरआई साझेदारसँग उर्जा, कर, वित्त, हतिर विकास, थिंक ट्यांक, मिडिया, संस्कृतिलगायतका बहुआयामिक क्षेत्रमा सहभागी सुदृढ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .