आफ्नै चार बच्चाको हत्या गरेको आरोपमा २० वर्ष जेलमा बसेकी अस्ट्रेलियाली महिलालाई अदालतले निर्दोष ठहर गरेको छ।
न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतले क्याथलिन फलबिगलाई दोषी ठहर गर्न जुटाइएको प्रमाण विश्वसनीय नभएको फैसला दिएको छ।
५६ वर्षीया उनलाई राज्य सरकारले गत जुन महिनामा माफी दिएर जेलमुक्त गरेको थियो।
फलबिगले आफ्नो निर्दोषितालाई दशकौँसम्म बेवास्ता गरिएको बताइन्।
‘बच्चाहरु कहिलेकाहीँ अचानक र अनपेक्षित रुपले बित्छन् भन्ने कुरा स्वीकार नगरी व्यवस्था मलाई दोष दिनतिर लाग्यो,’ बिहीबार अदालतबाहिर उनले भनिन्।
एक दशकभन्दा लामो अवधिमा क्याथलिन फलबिगले छोराहरु कालेब र प्याट्रिक तथा छोरीहरु सारा र लौराको हत्या गरेको आरोप लागेको थियो। त्यसपछि जुरीले उनलाई दोषी ठहर गरेको थियो।
उनलाई ‘अस्ट्रेलियाकै खुंखार सिरियल किलर’ भनिएको थियो। त्यसयताका २० वर्ष उनले जेलमा बिताइन्।
तर, अहिले भएको छानबिनमा ती बच्चाहरुको मृत्यु प्राकृतिक हिसाबले भएको विश्वास वैज्ञानिकहरुले व्यक्त गरेका छन्।
यी ५५ वर्षीया महिलाको मुद्दालाई अस्ट्रेलियाको सबैभन्दा ठूलो न्यायको हत्याका रुपमा चित्रित गरिएको छ।
सन् २००३ मा उनीविरुद्ध सजाय तोकिएको थियो। चार बच्चाको हत्यामा दोषी ठहर गर्दै उनलाई ४० वर्ष जेल सजाय तोकिएको थियो। पछि त्यसलाई ३० वर्षमा झारिएको थियो।
उनका चारै बच्चाको १९८९ देखि १९९९ का बीचमा अचानक मृत्यु भएको थियो। ती बच्चाहरु १९ दिनदेखि १९ महिनासम्मका थिए।
उनले सास थुनेर ती बच्चाहरुको ज्यान लिएको सरकारी वकिलहरुले आरोप लगाएका थिए।
तर, ती बच्चाहरुको शरीरमा सास थुनेको अथवा चोटको कुनै निसान भने थिएन।
बरु, मुद्दाको सुनुवाइ परिस्थितिजन्य प्रमाणहरुमा केन्द्रित थियो। खासगरी फलबिगको डायरीलाई आधार बनाइएको थियो। जहाँ उनले आमाको भूमिका पूरा गर्न निकै संघर्ष गर्नुपरेको उल्लेख गरेकी थिइन्।
तर, अवकाशप्राप्त न्यायाधीश टम बाथर्स्टको नेतृत्वमा गरिएको एक छानबिनपछि ती बच्चाहरुको मृत्युका विषयमा आफूहरुको धारणा परिवर्तन भएको सरकारी अभियोक्ताहरुले स्वीकार गरेका छन्।
उनका मृत छोरीहरुमा सीएएलएम२ जी११४आर नाम जिनेटिक म्युटेसन रहेको र त्यसले अचानक हृदयाघातबाट उनीहरुको मृत्यु हुनसक्ने प्रतिरक्षा प्रणाली विज्ञहरुले बताएका छन्। त्यस्तै, छोराहरुमा पनि फरक खालको जिनेटिक म्युटेसन रहेको र त्यसले मुसामा अचानक छारेरोग सुरु गराउने देखिएको थियो।
पछिल्लो छानबिनमा विज्ञहरुले ती डायरी संघर्षरत आमाको भावना पोख्ने ठाउँ मात्र भएको र बिनाकुनै चिह्न चार बच्चाको हत्या गर्न असम्भवप्राय रहेको बताएका छन्। बीबीसी
Shares
प्रतिक्रिया