ad ad

ग्लोबल


हुती विद्रोहीविरुद्ध अमेरिका र बेलायतले थाले संयुक्त आक्रमण

हुती विद्रोहीविरुद्ध अमेरिका र बेलायतले थाले संयुक्त आक्रमण

नेपालखबर
पुस २७, २०८० शुक्रबार १२:३७, काठमाडौँ

लाल सा​गरबाट चल्ने जहाजलाई निशाना बनाउने यमनस्थित हुती विद्रोहीहरूमाथि अमेरिका र बेलायतका सेनाले आक्रमण थालेका छन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार यमनको राजधानी सना, सदा र धमारसहित होदेइदाह प्रान्तमा एकसाथ आक्रमण गरिएको हो। एकजना अमेरिकी अधिकारीका अनुसार यो आक्रमण फाइटर जेट, पानी जहाज र पनडुब्बीमार्फत एकसाथ गरिएको हो। 

एकजना हुती अधिकारीले पनि अमेरिका र बेलायती हमलाको पुष्टि गर्दै यसलाई 'अमेरिकी-यहुदी-ब्रिटिश हमला' को संज्ञा दिएका छन्। 

गाजामा इजरायलको हमलाका कारण रिसाएको हुती विद्रोही समूहले बितेका केही सातायता लाल सागरबाट चल्ने जहाजलाई निशाना बनाइरहेका थिए। त्यसपछि इरान समर्थित यो समूहमाथि पहिलो पटक अमेरिकी अगुवाइमा आक्रमण भएको हो। 

अमेरिका र बेलायतको यस आक्रमणपछि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले दुई देशको यस सैन्य कारबाहीको उद्धेश्य हुती विद्रोहीको क्षमतालाई कमजोर बनाउनु रहेको बताएका छन्। 

बेलायत र अमेरिकाले यस आक्रमणमा 'हुती विद्रोहीका मानवरहित एरियल बहान, मानवरहित जहाज, जमीनमा हमला गर्ने क्रुज मिसाइल, तटमा निगरानी गर्ने रडार र आकाशमा निगरानी गर्ने प्रणाली' लाई निशाना बनाइएको छ। 

अमेरिकाका एक रक्षा अधिकारीका अनुसार प्रोस्टेट क्यान्सरको अपरेशन गर्न अस्पतालमा भर्ना  भएका रक्षामन्त्री लयड अस्टिनले त्यहीँबाट यस अभियानमा नजर लगाइरहेका छन्। 

ती अधिकारीका अनुसार यो कारबाही थाल्नुअघि तीन दिनमा दुई पटक राष्ट्रपति जो बाइडेनसँग पनि रक्षामन्त्री अस्टिनले संवाद गरेका थिए।

यो आक्रमण थालिएपछि साउदी अरबसहित उसका सहयोगी देशहरूले संयमता  कायम राख्न भनेका छन्। 

साउदी अरबको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरेर आफूहरू यो हमलाबाट चिन्तित रहेको बताउँदै स्थितिप्रति नजर लगाइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .