नितिश कुमारले आइतबार साँझ ५ बजे बिहारको नवौँ मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन्।
राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उनलाई पद तथा गोपनीयताको शपथ दिलाए।
भारतीय जनता पार्टीका प्रदेशाध्यक्ष सम्राट चौधरी र प्रतिपक्षी नेता रहेका विजय सिन्हालाई उपमुख्यमन्त्री बनाइएको छ।
शपथ ग्रहणपछि नितिशले मन्त्रिमण्डल विस्तार चाँडै हुने बताए। उनले अब अन्त कतै जाने सवाल नभएको पनि बताए।
नितिशले आइतबार बिहान ११ बजे मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
राजीनामासँगै उनले नयाँ गठबन्धनबाट सरकार बनाउने दाबी राज्यपालसँग गरेका थिए।
त्यसपछि आइतबार दिउँसो भाजपाले नयाँ सरकारलाई समर्थन रहेको औपचारिक घोषणा गरेको थियो।
साँझ ५ बजे भएको समारोहमा नितिश कुमारसँगै जम्मा ८ मन्त्रीले शथप लिए।
मन्त्रीमा मुख्यमन्त्रीसमेत २ कुर्मी, २ भूमिहार, १-१ राजपूत, दलित, कहार, कोइरी र यादव छन्।
उपमुख्यमन्त्री
१. सम्राट चौधरी (भाजपा)
२. विजय सिन्हा (भाजपा)
मन्त्री
३. डा. प्रेम कुमार (भाजपा)
४, विजेन्द्र प्रसाद (जदयु)
५. श्रवण कुमार (जदयु)
६. विजय कुमार चौधरी (जदयु)
७. सन्तोष कुमार सुमन (हम)
८. सुमित सिंह (निर्दलीय)
जनता दल (युनाइटेड)का अध्यक्षसमेत रहेका नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका थिए।
राजभवनमा राज्यपाललाई भेटेर नितिशले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेको बताए।
नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो।
यसलाई लिएर पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत् जारी एक पोस्टमा उनले जेडियूमाथि कटाक्ष गरिन्।
समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गरे पनि यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुने उनको भनाइ थियो।
कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन्।
विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक-एक सदस्य छन्।
एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन्। आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताइन्।
Shares
प्रतिक्रिया