वर्षौंसम्म युलिया नभाल्नाया राजनीतिक चर्चाबाट परै बसिन्। प्रायः उनी पति अलेक्सी नभाल्नीसँगै देखिन्थिन् तर सत्ताविरोधी अभियानको सबै जिम्मा उनले पतिलाई छाडिदिएकी थिइन्। नभाल्नी रुसको जेलमा रहँदा समेत।
तर, आर्कटिकमा रहेको जेलमा उनको मृत्युपछि भने युलियाले पतिको संघर्षलाई अघि बढाउने बाचा गरेकी छन्। युलिया अर्थशास्त्री र दुई बच्चाकी आमा हुन्।
‘यत्तिका वर्ष म एलेक्सीको छेउमा थिएँ। चुनाव, प्रदर्शन, घरमै नजरबन्द, खानतलासी, पक्राउ, जेल, विष प्रयोग, फेरि प्रदर्शन, फेरि पक्राउ र फेरि जेल,’ युलियाले सोमबार एक भिडिओ सम्बोधनमा भनिन्।
नीलो पहिरानमा रहेकी उनको आवाज बेलाबेला काँपिरहेको थियो। सम्बोधनमा यी ४७ वर्षीया विधवाले आफ्नो आक्रोशमा हिस्सा लिन र राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताच्यूत गर्ने लडाइँ नत्याग्न रुसीहरुलाई आग्रह गरिन्।
‘अलेक्सीलाई मारेर पुटिनले मलाई पनि आधा मारे, मेरो आधा मुटु र आधा आत्मा। तर, मसँग अझै आधा बाँकी छ। र, त्यसलाई मलाई भन्छ– हार मान्ने अधिकार मलाई छैन,’ उनले भनिन्।
पतिको मृत्युको खबर सुनेको केही घण्टापछि उनले शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा भेला भएका विश्वका नेताहरुसँग कुराकानी गरिन्। उनले पुटिनविरुद्धको प्रयास दोब्बर पार्न आग्रह गरिन्।
सोमबार उनले भ्रमणमा आएका विदेशी नेताजस्तै ब्रसेल्सको भ्रमण गरिन् र युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिकेल र ईयूका विदेशनीति प्रमुख जोसेप बोरेलसँग भेट गरिन्।
‘उनले व्यक्तिसँग मात्र विवाह गरेकी थिइनन्, उनले उदेश्यसँग पनि विवाह गरेकी थिइन्,’ उनलाई भेटेपछि बेल्जियमका पूर्वप्रधानमन्त्री गाइ वेरहोफस्टाडले भने।
युलियाले पर्दापछाडि बसेर पतिको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनका मित्रहरु बताउँछन्। खासगरी २०२१ मा उनी जेल परेपछि। रासायनिक आक्रमणपछि उपचारमा गएका उनी फर्केलगत्तै पक्राउ परेका थिए।
‘राजनीतिकर्मी अलेक्सी नभाल्नी दुई जना हुन्। युलिया र एलेक्सी,’ निर्वासित रुसी पत्रकार तथा हार्वर्ड केनेडी स्कुल अफ गभर्मेन्टकी अध्येता यव्गेनिया अल्बाट्स भन्छिन्।
‘अलेक्सी यति दह्रो नेता थिए कि उनको सामु वरिपरिका सबै दबिन्थे। उनीहरु बलिया, गज्जबका र स्वतन्त्र नेता हुनसक्थे। तर, ती कसैले पनि अलेक्सीलाई टक्कर दिन सक्दैनथे। र, युलियाले सक्थिन्,’ उनले थपिन्।
जुन गतिमा युलिया चर्चामा आइन्, त्यहीकारण धेरैले उनलाई स्वेतलाना तिखानोव्स्कायासँग तुलना गर्न थालेका छन्। जो आफ्नो पतिलाई राज्यले बन्दी बनाइएपछि बेलारुसको विपक्षी नेता बन्न पुगेकी थिइन्।
अलेक्जेन्डर लुकासेन्कोविरुद्ध चुनावमा उठेपछि उनका पति सेर्गेइलाई जेल हालियो। त्यसपछि स्वेतलाना चुनावमा उठिन् र लुकासेन्कोको चुनावविरुद्ध ठुल्ठूला प्रदर्शन भए। दमनबाट बच्न उनी देश छाडेर भाग्नुप¥यो।
नभाल्नीको निधनको घोषणापछि यी दुई महिलाले भेट गरे। आफूहरुले एकअर्कालाई ‘एक शब्द नबोली बुझेको’ स्वेतलानाले बताइन्।
‘युलियाको लोकप्रियताले उनलाई उनको पति र पुटिनलाई समर्थन नगर्ने रुसीहरुको आवाज बनाउन सक्छ,’ स्वेतलाना भन्छिन्, ‘तर, त्यो निकै कठिन र जोखिमपूर्ण काम हो। पहिले उनले आफ्ना समर्थकहरुलाई एक बनाउने कोसिस गर्नुप¥यो। त्यसपछि सबै रुसी विपक्षीहरुलाई। त्यसपछि युलिया आफैँ जोखिममा पर्छिन् किनभने पुटिनका गुप्तचरहरुले उनलाई निसाना बनाउन थाल्छन्। तिनले उनलाई धम्क्याउनेछन् र उनलाई टुटाउने कोसिस गर्नेछन्।’
‘तर, उनले हार मान्छिन्जस्तो मलाई लाग्दैन,’ उनले थपिन्।
नभाल्नीको मृत्युपछि केहीले प्रश्न गर्न थालेका छन्– उनी रुसमा फर्केर गए नै किन? जबकि उनलाई यस्तो हुन्छ भन्ने थाहा थियो।
भिडिओमा युलियाले यसको जवाफ दिएकी छन्। ‘उनी किन फर्केर आए? किन यत्रो बलिदान? आखिर उनी शान्तिपूर्वक बाँच्न सक्थे र आफू र आफ्नो परिवारको ख्याल राख्न सक्थे। तर, उनी फर्किए,’ उनले भनिन्, ‘अलेक्सी रुसलाई माया गर्थे। यति गहिरोगरी कि उनी आफ्नो जीवन दिन तयार भए।’
रुसमा कम्तीमा दुई दशकयताको सबैभन्दा चर्चित महिला विपक्षी बन्ने व्यक्ति युलिया नै हुन्। यसअघि पुटिनविरुद्ध राष्ट्रपतिमा उठेकी इरिना खाकामादाले २००४ को चुनावमा ४ प्रतिशत मत हात पारेकी थिइन्। पछि उनी यसै राजनीतिबाट हराइन्। सुधारवादी नेतृ गालिना स्तारोवोइतोवाको १९९८ मा सेन्ट पिटर्सबर्गमा हत्या भयो।
रुसमा व्याप्त लैंगिक विभेदले युलियालाई फाइदा पुग्नसक्ने फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका सेर्गेइ गुरिएव बताउँछन्।
‘उनको नकारात्मक कुरा केही छैनन्। उनीविरुद्ध प्रयोग गर्न मिल्ने नकारात्मक चिज केही छैन। पक्कै पनि रुसी प्रचार संयन्त्रले उनलाई कठपुतली भन्न थालिसकेको छ। तर, चाँडै स्पष्ट हुनेछ, युलिया सुदृढ र स्वतन्त्र नेतृ हुन्,’ उनी भन्छिन्।
उनको भिडिओ सार्वजनिक भएको केही घण्टापछि नै रुसको ‘फेमिनिस्ट एन्टीवार रेसिस्टेन्स’ नामक समूहले युलियालाई समर्थन गरेको छ।
‘एक पत्नीबाट एक राजनीतिक नेतामा युलिया नभाल्नायाको रुपान्तरणले रुसका थुप्रै महिलाहरुलाई प्रेरित गर्नेछ,’ सो अभियानकी संस्थापक तथा लेखियका दारिया सेरेन्को भन्छिन्, ‘यदि उनले काम अघि बढाउने शक्ति फेला पारिन् भने उनीहरुले हाम्रो आशा मारिदिए भनेर सामाजिक सञ्जालमा बिलौना गरेर मात्र हामी सक्दैनौँ।’ फाइनान्सियल टाइम्सबाट
Shares
प्रतिक्रिया