बंगलादेशको ढाकास्थित एक सात तले भवनमा बिहीबार राति आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ।
बंगलादेशका स्वास्थ्य मन्त्रीका अनुसार एक सात तले उक्त भवनमा बिहीबार राति १० बजेदेखि आगलागी हुँदा ठूलो संख्यामा हताहती भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार रातको समयमा भएको यो आगलागीपछि मानिसहरूबीच भागाभागको अवस्था भएको थियो। आगो लागेपछि कयौँ मानिस भवनमै फसेका थिए।
अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार लामो मिहिनेपछि आगो नियन्त्रणमा लिइएको छ।
बंगलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बच्चासहित कम्तीमा पनि ३३ जनालाई मृत घोषित गरिएको छ।
शहरको मुख्य बर्न अस्पतालमा अन्य १२ जनाको ज्यान गएको छ। सेनका अनुसार दर्जनौँ मानिसलाई उपचारका लागि त्यहाँ पठाइएको थियो।
स्थानीय पत्रिका डेली बंगलादेशका अनुसार उक्त भवनको सातौँ तलामा रहेको रेस्टुराबाट आगो फैलिएको हो। यो भवनमा कयौँ अन्य रेस्टुरेन्ट, कपडाका पसल र मोबाइल फोनका पसल पनि थिए।
आगलागीपछि कयौँ मानिसले उक्त भवनबाट हामफालेर ज्यान बचाएका थिए। आगोमा धेरै मानिस जलेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ।
Shares
प्रतिक्रिया