रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।
रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो। यहाँ कन्सर्ट हुन लागेको थियो।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्द गोली चलाउन थालेपछि आतंक मच्चिएको थियो।
भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब सय जनाको उद्धार गरेका छन्।
आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।
एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘मैले आफ्नै आँखाले आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको देखेँ। उनीहरूले जताततै पेट्रोल बम प्रहार गरे र आगलागी भयो। हामी भाग्न भनेर ढोकामा पुग्यौँ तर त्यो बन्द थियो। त्यसैले हामी बेसमेन्टमा गयौँ।’
अर्का प्रत्यक्षदर्शीले भने– गोली हान्ने क्रममा म बालरुम नृत्य प्रतियोगितामा भाग लिइरहेका आफ्ना छोराछोरीसँगै उभिरहेको थिएँ।
Shares
प्रतिक्रिया