रुसले कम्तीमा १३७ जनाको ज्यान जानेगरी मस्कोमा भएको आतंकवादी आक्रमणका चार आरोपितविरुद्ध अदालतमा अभियोग लगाइएको छ।
तीन जना आरोपितलाई घोप्टो पारेर अदालतमा प्रवेश गराइएको थियो भने चौथो व्यक्तिलाई ह्विलचेयरमा राखेर ल्याइएको थियो। उनीहरुलाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ।
सो घटनाको जिम्मेवारी इस्लामिक स्टेट नामक आतंकवादी समूहले लिएको छ।
तर, रुसी अधिकारीहरुले यो आक्रमणमा युक्रेनको संलग्नता रहेको दाबी गर्न थालेका छन्। जसलाई युक्रेनले अस्वीकार गरेको छ।
अभियोग लगाइएका चारजनाको नाम दलेरजहाँ मिर्जाएव, सैदक्रमी मुरोदली राचाबालिजोदा, समसिद्धिन फरिदुनी र मुहम्मदसोविर फेजोव रहेको बताइएको छ। चारैजना ताजिकिस्तानका नागरिक भएको बताइएको छ।
उनीहरुलाई मस्कोको बासमानी जिल्ला अदालतमा पु¥याइएको थियो। ती सबैलाई कुटेको निसाना देखिन्थ्यो। एकजनाको एउटा आँखा फुटाइएको देखिन्थ्यो।
मिर्जाएवले अपराध कबुलेको बताएको छ।
शुक्रबार राति बन्दुकधारीहरुले मस्कोको एउटा कन्सर्ट हलमा पसेर गोली चलाएका थिए। करिब ६ हजार मानिसको भीडमा उनीहरुले गोली चलाउँदा कम्तीमा १३७ को ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।
आक्रमणको १४ घण्टापछि यी चार जनालाई मस्कोभन्दा ४ सय किमि टाढा पक्राउ गरिएको थियो।
उनीहरुलाई युक्रेनतर्फ भाग्ने व्यवस्था किभले मिलाइदिएको रुसको दाबी छ।
अमेरिकी अधिकारीहरुले भने यो घटना इस्लामिक स्टेटले नै गराएको दाबी गरेका छन्। आक्रमणमा सघाएको आरोपमा थप सात जना पक्राउ परेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया