तत्काल अमेरिकाले सैन्य सहयोग नदिए पछि हट्नुको विकल्प आफूहरुसँग नरहेको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका छन्। उनले अमेरिकी संसदमा अड्किएको अर्बौं डलरको प्याकेज गरिदिन पनि आह्वान गरे।
राष्ट्रपति जो बाइडेनको प्रश्शासनले युक्रेन र इजरायललाई गरी ९५ अर्ब डलरको सहयोग प्याकेज घोषणा गरेको छ। तर, सिनेटबाट अनुमोदन भएको सो प्याकेजलाई तल्लो सदनले अनुमोदन गरेको छैन। प्याकेजमा युक्रेनको हिस्सा ६० अर्ब डलर छ।
तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत छ। जसले प्याकेज पारित गर्नुअघि विभिन्न सर्त तेर्स्याएको छ।
जेलेन्स्कीले युक्रेनका मुख्य सहरहरु नै जोखिममा रहेको बताए।
‘अमेरिकी सहयोग आइपुगेन भने हामीसँग हवाई प्रतिरक्षा हुने छैन, प्याट्रियट क्षेप्यास्त्र हुनेछैन, विद्युतीय युद्धका लागि जामरहरु हुने छैन, १५५ एमएमको तोपको गाला हुने छैन,’ जेलेन्स्कीले शुक्रबार वासिङ्टन पोस्टमा प्रकाशित अन्तर्वार्तामा भनेका छन्, ‘यसको अर्थ हामी पछि हट्नेछौँ। फिर्ता हुनेछौँ, एक एक कदम गर्दै।’
यसको परिणाम नराम्रो हुने उनको भनाइ छ।
‘हामीलाई मोर्चा सम्हाल्न दैनिक ८ हजार गोला चाहिन्छ तर हामीसँग उदाहरणका लागि २ हजार गोला मात्र छ भने हामीले कम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अग्रमोर्च टुट्यो भने रुसीहरु ठूला सहरसम्म पुग्न सक्छन्।’
गत महिना युक्रेनले अव्दिब्का सहर गुमाएको थियो। एजेन्सी
Shares
प्रतिक्रिया