भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले बुधबारदेखि राजनीतिबाट औपचारिक रुपमा अवकाश लिएका छन्। राज्यसभामा तीन दशक बिताएपछि उनले बिदा लिएका हुन्।
सिंह भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।
सिंहलाई १९९१ मा अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिइएको थियो। त्यतिबेला भारतसँग भएको विदेशी मुद्रा सञ्चितिले एक महिनाको आयातलाई पनि धान्न सक्ने स्थिति थिएन।
वर्षौंसम्म स्रोतबिनाको खर्च गरिरहँदा भारत संकटको सँघारमा पुगेको थियो। र, जब तेलको मूल्य बढ्यो, तब अन्तर्राष्ट्रिय मुद्राकोषबाट ऋण लिन भारत सुन बन्धकी राख्न बाध्य भयो।
सिंहले ठूलो निर्णय गर्दै निर्यातमा दिइँदै आएको अनुदान खारेज गरे, रुपियाँको भाउ घटाए र सरकारी लाइसेन्स नलिई उत्पादन गर्ने अनुमति कम्पनीहरुलाई दिए।
‘सारा दुनियाँले स्पष्ट र जोडले सुनोस्,’ आफ्नो पहिलो बजेट भाषणमा सिंहले भनेका थिए, ‘भारत अब जागिसकेको छ। हामी सफल हुनेछौँ, हामी प्रबल हुनेछौँ।’
सन् २००४ मा सिंह प्रधानमन्त्री बने। त्यसपछि दुई कार्यकाल प्रधानमन्त्री बने। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो। जसले सन् २०१४ मा नरेन्द्र मोदीको सहज जितमा योगदान गर्यो।
प्रधानमन्त्रीका रुपमा सिंहले कल्याणकारी व्यवस्थालाई सुदृढ गराए। गरिबका लागि सुनिश्चित रोजगार कार्यक्रम ल्याए र बालबालिकाका लागि शिक्षाको अधिकार कायम गरे।
राष्ट्रिय परिचयपत्रको विकास र जीएसटी करप्रणालीको विकास पनि उनकै सरकारले गर्यो। जसलाई मोदीको सरकारले कार्यान्वयनमा लग्यो।
१९९१ देखि २०२४ सम्मै उनी माथिल्लो सदनमा मनोनित भइरहे। ९१ वर्ष पुगेका सिंहले आम चुनावभन्दा दुई साताअघि मात्र अवकाश लिएका छन्। जुन चुनावमा मोदीले तेस्रो कार्यकाल सुनिश्चित गर्ने आकलन गरिएको छ।
‘तपाईंले देखाउनुभयो, ठूला उद्योग, युवा उद्यमी, साना उद्योग, तलबी समूह र गरिब, सबैलाई बराबरी फाइदा हुने आर्थिक नीतिहरु लागू गर्न सकिने रहेछ,’ कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले एक्समा पोस्ट गरेका छन्, ‘हामी त्यो समयमा बाँचिरहेका छौँ, जुन मुख्यतः तपाईंले आकार दिनुभएको हो।’ ब्लुमबर्गबाट
Shares
प्रतिक्रिया