पवित्र गंगा बग्ने वाराणसीको मध्य भागमा असंख्य मन्दिरहरूबाट निस्केको धुपको धुवाँको मुस्लो प्रार्थनाको मधुर ध्वनिसँग मिसिँदै गर्दा बेचन बाबा अनारवाली मस्जिदको द्वारमा बस्छन्। ७२ वर्ष पुगिसकेका यी मौन रक्षक पुरानो ढुंगामा अडेसिन्छन्, जुन करिब ४ सय वर्षअघि त्यहाँ राखिएको थियो।
उनी हिन्दु हुन्। तर, यहाँको मस्जिदको संरक्षणमा उनी लागिरहेका छन्। खासमा उनले आफ्नो सम्पूर्ण जीवन यही प्राचीन मस्जिदको सेवामा लगाएका छन्। जुन मस्जिदले ऐतिहासिक विवादसँग जुधिरहेको यो सहरमा साम्प्रदायिक एकताको भाव दर्शाउँछ।
उनी पुरानो कुचो उठाउँछन् र बढार्छन्। जुन घर चार दशकभन्दा लामो समयदेखि उनको बासस्थान र जिम्मेवारी दुवै रहँदै आएको छ।
‘यो मस्जिदको हेरचाह गरेर म यहाँ बस्न थालेको ४५ वर्ष भयो। हिन्दु र मुस्लिम दुवै समुदायका मान्छे यहाँ आउँछन्, पूजा र प्रार्थना गर्छन्,’ उनी भन्छन्, ‘मेरो बुवा यहाँ बस्ने गर्नुहुन्थ्यो। उहाँपछि यो जिम्मा मैले लिएँ। म बच्चैदेखि यहीँ छु।’
भारतको राजधानी दिल्लीबाट करिब ५ सय माइल दक्षिणपूर्वमा अवस्थित वाराणसीलाई भारतको आध्यात्मिक केन्द्र मान्ने गरिन्छ। तर, केही महिनायता यो सहरमा तनाव छ। १७ औँ शताब्दीमा मुगल सम्राट औरंगजेबले बनाएको ज्ञानबापी मस्जिदका विषयमा भएको विवादका कारण।
यो स्थानमा प्राचीन मन्दिर थियो भनेर अनेकौँ मुद्दा परेपछि अदालतले मस्जिदभित्र हिन्दुहरूलाई पूजा गर्न अनुमति दिएको छ।
यहाँको यो विवादले नजिकैको सहर अयोध्यामा राम मन्दिरको विषयमा हिन्दु र मुस्लिमबीच भएको विवादलाई सम्झाउँछ। जहाँ सर्वोच्च अदालतले मन्दिर बनाउने अनुमति दिएर विवाद टुंग्याएको थियो।
यी धार्मिक विवादहरूले बेचनको भूमिकालाई अझ महत्वपूर्ण बनाउँछ।
‘म हिन्दु भएर के भो त? म मस्जिदको सेवा गरिरहनेछु। त्यो नगरे मैले के गर्ने?’ उनी प्रश्न गर्छन्।
‘त्यहाँ (ज्ञानबापी) के भइरहेको छ, त्यससँग मलाई कुनै सरोकार छैन। म यहाँ बस्छु। र, म यहाँ केही हुन दिन्नँ,’ उनी थप्छन्।
उनले नजिकैको गोपाल मन्दिर देखाए र प्रार्थना गर्ने दुई स्थान सँगसँगै रहन सक्छन् भन्नेमा जोड दिए।
‘घृणा वा त्यस्ता कुराको कुनै वातावरण छैन यहाँ। हिन्दु र मुस्लिम दुवै समुदायका मानिस यहाँ आउँछन् र म यहाँ बसेको यति लामो समयमा कहिल्यै दंगा भएको छैन,’ उनी भन्छन्।
आफ्नो आयु छउञ्जेल यही मस्जिदको सेवा गर्ने उनको इच्छा छ।
‘म आफ्नो घर जान्नँ। मेरा बालबच्चाले बिहान मलाई खाना ल्याइदिन्छन्। म दिनभरि यहीँ बस्छु। यो ठाउँमा बस्दा मलाई शान्ति हुन्छ,’ उनी भन्छन्, ‘मेरा बालबच्चा घरमा बस्छन्।’
बेचनको रेखदेखमा मस्जिदमा आगन्तुकहरूको संख्या नाटकीय रुपमा बढेको छ।
‘यहाँ पाँचै पटक प्रार्थना गरिन्छ,’ उनी भन्छन्, ‘मेरो बुवाको जमानामा यहाँ त्यति धेरै जनसंख्या थिएन र धेरै मान्छे आउँदैनथे। तर, अहिले यहाँ धेरै घर बनेका छन्। जनसंख्या बढेको छ र धेरै मानिस आइरहेका छन्।’
उनका अनुसार विभिन्न धर्मका मानिस मस्जिदमा प्रार्थनाका लागि आउँछन्। जसले धार्मिक तनाव भइरहने मुलुकमा यो स्थानलाई सहअस्तित्वको बलियो प्रतीक बनाएको छ।
‘ल हेर्नुस् त मुस्लिम दाजुभाइ आउँदैछन्। उनीहरूले यहाँ नमाज पढ्नेछन्। उनीहरू मन्दिर पनि जानेछन् र फूल चढाउनेछन्। हिन्दुहरूले पनि यहाँ सम्मान व्यक्त गर्नेछन्। दुवै यहाँ आउँछन् र जान्छन्।’ द गार्डियनबाट
Shares
प्रतिक्रिया