इरानले शनिबार मध्यराति आफ्नो कट्टर प्रतिद्वन्द्वी इजरायलविरुद्ध पहिलोपटक प्रत्यक्ष आक्रमण गर्यो।
इजरायली सेनाले आइतबार बिहानै इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको बतायो।
इरानले आक्रमणले ‘आफ्ना सबै उद्देश्य’ हासिल गरेको र अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफ भएको बताएको छ। तर इजरायलले दूतावास आक्रमणको अहिलेसम्म स्वीकार वा खण्डन केही गरेको छैन।
इजरायलले विदेशी मिडिया रिपोर्टहरूमा यस विषयमा टिप्पणी नगर्ने बताएको थियो। यद्यपि इजरायलले हालैका वर्षमा सिरियालक्षित आक्रमण गरेको स्वीकार गरेको थियो।
इजरायली रक्षामन्त्री योभ गालान्टले इजरायलको सुरक्षा क्षेत्रका लागि वरिष्ठ अधिकारीहरूसँग सम्पूर्ण अवस्थाको मूल्याङ्कन गरिएको बताएका छन्।
योभ गालान्टले भनेका छन्, ‘अमेरिका र अन्य सहयोगीसँग मिलेर हामी इजरायलको भूभाग सुरक्षित गर्न सफल भएका छौँ। एकदमै सामान्य क्षति मात्र भएको छ।’
इजरायलले उक्त आक्रमणको जवाफ उचित समयमा दिने चेतावनी पनि दिएको छ।
इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि भनेका छन्, ‘हामी क्षेत्रीय स्तरमा गठबन्धन बनाउनेछौँ र उपयुक्त समयमा इरानबाट त्यस आक्रमणको जवाफ दिनेछौँ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानको आक्रमणले व्यापक युद्ध नफैलाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायानले इरानले इजरायलविरुद्ध आक्रमणबारे पहिल्यै आफ्ना छिमेकी र सहयोगीलाई जानकारी गराइसकेको बताएका छन्।
उनले भने, ‘हाम्रो अपरेसनको करिब ७२ घण्टाअघि, हामीले इजरायलविरुद्ध इरानले गर्ने कारबाही निश्चित, अपरिवर्तनीय र वैधानिक छ भनेर यस क्षेत्रका हाम्रा मित्र र छिमेकीलाई जानकारी गराएका थियौँ।’
Shares
प्रतिक्रिया