भारत-चीन सीमा क्षेत्रमा पर्ने लद्दाखको वास्तविक नियन्त्रण रेखानजिकै आएको बाढीले बगाएर पाँच भारतीय सैनिकको मृत्यु भएको छ।
सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाखनजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो।
भारतका रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।
उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौँ। यस दु:खद घडीमा ती सैनिकका परिवारका साथमा उभिने छौँ। यो घडीमा सिंगो देश उनीहरूको साथमा छ।’
बीबीसी हिन्दीका अनुसार शुक्रबार यी सैनिकहरूलाई ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दा बाढीले बगाएको हो।
नदी तर्दातर्दै पानीको सतह एक्कासि बढ्दा सो दुर्घटना भएको हो।
दुर्घटना हुँदा ट्याङ्कमा पाँच सैनिक थिए। जसमा एक जेसीओ र चार सैनिक जवान छन्।
मृत्यु भएका सबै सैनिकको शव फेला परेको जनाइएको छ।
Shares
प्रतिक्रिया