ad ad

ग्लोबल


पैसा र सम्मान दुवै नपाएपछि श्रीलंकाका डाक्टरहरुले धमाधम छाड्दैछन् देश

२ वर्षमा १० प्रतिशत डाक्टर बाहिरिए, स्वास्थ्य क्षेत्रमा संकट आउने चेतावनी
पैसा र सम्मान दुवै नपाएपछि श्रीलंकाका डाक्टरहरुले धमाधम छाड्दैछन् देश

जनवरी २०२३ मा श्रीलंका छाडेका डा. गामागे अहिले बेलायतको नेसनल हेल्थ सर्भिसमा कार्यरत छन्


सरोज पथिराना
असार २४, २०८१ सोमबार १६:४१,

स्वास्थ्यका हाकिमको हेपाइ नै पर्याप्त थियो। कोभिड–१९ मा सरकारले गरेको व्यवहार धोकाभन्दा कम थिएन। तर, महामारीलगत्तै श्रीलंकामा सुरु भएको आर्थिक संकटले भने लहिरु प्रबोध गामागेलाई टुटाएरै छाड्यो।

यी ३५ वर्षीय डाक्टरले जनवरी २०२३ मा श्रीलंका छाडे। र, बेलायतमा गएर काम गर्न थाले। त्यसअघि उनले श्रीलंकाको राजधानी कोलम्बोबाट १२० किमि टाढा हाटननामक स्थानको सरकारी अस्पतालमा ६ वर्ष काम गरेका थिए।

अहिले उनी बेलायतको नेसनल हेल्थ सर्भिसमा सिनियर हाउस अफिसर छन्।

देश छाड्ने निर्णय लिन सजिलो थिएन।

‘म आफ्नो देशलाई खुब माया गर्छु। त्यो माया कहिल्यै कम हुँदैन,’ गामागे भन्छन्, ‘तर, जति पैसा मैले कमाए पनि त्यत्रो ऋण त तिर्नैपर्ने थियो।’

अर्थतन्त्र ढलेपछि महँगी बढ्यो। २०२२ को अन्त्यमा मुद्रास्फिति ७३ प्रतिशत पुग्यो। त्यतिबेला देश छाड्नुभन्दा अर्को विकल्प गामागेले देखेनन्।

यसरी देश छाड्ने उनी एक मात्र डाक्टर होइनन्। सरकारी डाक्टरहरूको सबैभन्दा ठूलो संगठन जीएमओएका अनुसार गत दुई वर्षमा १७ सयभन्दा बढी डाक्टरले मुलुक छाडेका छन्।  त्यो भनेको श्रीलंकाका जम्मा डाक्टरको झण्डै १० प्रतिशत हिस्सा हो।

मुलुकको यसै पनि नाजुक स्वास्थ्य सेवा प्रणालीमा यसको असर प्रष्ट देखिन्छ। गत वर्षको अप्रिलमा एम्बिलिपितया जिल्ला अस्पतालमा सबै आपतकालीन शल्यक्रिया हप्तौँसम्म बन्द गरिएको थियो। किनकि सो अस्पतालका दुई एनेस्थेसियोलोजिस्टले मुलुक छाडेका थिए। 

काम चलाउन नजिकैको अर्को अस्पतालबाट एकजना एनेस्थेसियोलोजिस्ट झिकाइएको थियो। उनी पनि विदेशमा तालिम लिन गएकी छन्।

कोलम्बोबाट उत्तरपूर्व २ सय किमि टाढा पर्ने अनुराधापुर टिचिङ अस्पतालको पेडियाट्रिक वार्ड पनि भएका तीन जनै डाक्टर बसाइँ हिँडेपछि अस्थायी रूपमा बन्द भएको थियो। जीएमओएले डाक्टरहरूले देश छाडेका कारण करिब १ सय वटा ग्रामीण अस्पताल बन्द हुनसक्ने भन्दै स्वास्थ्यमन्त्री रमेश पथिरानालाई चेतावनी दिएको छ।

डाक्टरहरूको भनाइ छ, यो सबै रोक्न सकिन्थ्यो।

छैन पैसा र सम्मान
गामागेको आधारभूत तलब ६४ हजार श्रीलंकाली रूपैयाँ (२१३ डलर) थियो। ओभरटाइमसमेत गरेर उनले मासिक २ लाख २० हजार रूपैयाँ (७३०) डलर कमाउँथे। 

‘त्यति पैसाले मैले कार चलाउनुपथ्र्यो, खाद्यान्य र घरको भाडा तिर्नुपथ्र्यो, ऋण तिर्नुपथ्र्यो र बुवाआमालाई पनि हेर्नुपथ्र्यो,’ उनले सम्झिए, ‘त्यो सबै गरेपछि मसँग २० हजार रूपैयाँ (६७ डलर) बच्थ्यो। एउटा पार्टीमा गयो भने त्यो पनि सकिन्थ्यो।’

तर, सरकारले गरेको अपमानले उनको निराशालाई झन् बढाइदियो। 

दुर्गम गाउँमा जुनियर डाक्टरका रूपमा काम गर्दा गामागेले कामको अवधि सकिएपछि स्वास्थ्य शिविर चलाउँथे। अर्का एक डाक्टरसँग मिलेर उनले कोभिड १९ महामारीका बेला कन्ट्याक्ट ट्रेसिङ एप पनि बनाए। तर, आफ्नो प्रयासको सराहना गर्नु त कता हो कता, तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षेको सरकारले एउटा निजी कम्पनीलाई त्यस्तै एप बनाउने ठेक्का दिएको उनको भनाइ छ।

‘हामीले राष्ट्रपतीय कार्यदलसामु प्रेजेन्टेसन गर्‍यौँ। उनीहरूले हाम्रो एपबारे राम्ररी सुने र नोट टिपे। केहीपछि अचानक हामीले सुन्यौँ, हाम्रो एप त एउटा निजी कम्पनीले उत्पादन गरेछ,’ उनी भन्छन्।

कोलम्बोस्थित एउटा राष्ट्रिय अस्पतालमा मुटुरोग विशेषज्ञका रूपमा काम गरेका एरान्डा रणसिंगे अराच्चीले देश छाड्नुपर्ने तीन वटा कारण दिए। अहिले उनी उत्तरी आयरल्यान्डमा कार्यरत छन्।

‘प्रमुख कारण पक्कै पनि आर्थिक नै हो। दोस्रो, काम गर्ने ठाउँ राम्रो भएर। र तेस्रो, सुरक्षित भविष्यका लागि,’ यी ३५ वर्षीय डाक्टरले भने।

सरकारबाट मात्र होइन, समाजबाटै सम्मान नपाएको उनको गुनासो छ, खासगरी महामारीको समयमा।

‘महामारीको समयमा हामी थकित थियौँ, तैपनि सकेजति ज्यान जोगाउन लागिपर्‍यौँ,’ उनी भन्छन्, ‘अरु थुप्रै डाक्टरझैँ म कयौँ दिन घर गइनँ, कामको बोझ र घरमा वृद्ध बाआमालाई भाइरस सर्ने डरले।’

महामारीलगत्तै श्रीलंकाको अर्थतन्त्र अभूतपूर्व संकटमा जाकियो। खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक वस्तु किन मान्छेहरूले घण्टौँ लाइन बस्नुपर्‍यो। डाक्टरहरू पनि यसको अपवाद थिएनन्।

डाक्टरहरूको संस्थाले जब डाक्टरका लागि इन्धनको विशेष कोटा तोक्न आग्रह गर्‍यो, तब आम मानिसले त्यसको विरोध गरे। 

‘कयौँ दिन म आफैँ घण्टौँघण्टा लाइनमा बसेँ। त्यो समय त हामी बिरामीको उपचारमा लगाउन सक्थ्यौँ। तर, धेरै मान्छे हाम्रो कुरा सुन्न तयार थिएनन्,’ रणसिंगे अराच्ची भन्छन्।

राम्रो भविष्यको खोजीमा
बढ्दो महँगी, विदेशी ऋण तिर्नमा असफलता र इन्धन, औषधि तथा खाद्यान्न अभावका बीच राष्ट्रव्यापी आन्दोलन चर्कियो, जसले जुलाई २०२२ मा राजापाक्षेलाई सत्ताबाट हटायो। गोताबाय र उनका दाजुभाइ महिन्दा र बेसिललाई नोभेम्बर २०२३ मा सर्वोच्च अदालतले वित्तीय कुव्यवस्थाको लागि दोषी ठहर गर्‍यो।

तर, अवकाशप्राप्त बाबुआमाको हेरचाह गर्नुपर्ने जिम्मेवारी बोकेका जेठा छारा रणसिंगे अराच्ची त्यतिञ्जेल पर्खिन सकेनन्।

उनले अगस्ट २०२२ मै श्रीलंका छाडे।

‘मध्यम ग्रेडको डाक्टर थिएँ श्रीलंकामा। त्यहाँ म करिब ५०० डलर कमाउँथे। बेलायतमा त्यस्तै डाक्टरले ३८०० डलर कमाउँछ,’ उनी भन्छन्।

गामागेले भने केही महिनामै आफ्नो केही ऋण चुक्ता गरिसकेका छन्। 

‘मैले १५ लाख रूपैयाँ (४ हजार ६३० डलर) ऋण तिरेँ। श्रीलंकामै बसेको भए त्यो कल्पना पनि गर्न सकिन्नथ्यो,’ गामागे भन्छन्।

डाक्टरहरूलाई रोक्न उनीहरूको संगठनले विभिन्न सिफारिस गरेको छ। 

‘डाक्टरहरूलाई के लाग्छ भने उनीहरूले पाउने तलब अपर्याप्त छ र उनीहरूले दिने सेवाको अवमूल्यन भइरहेको छ। हामीले पहिचान गरेको प्रमुख कारण यही हो,’ जीएमओएका कार्यसमिति सदस्य हंसमल वीरासूर्या भन्छन्।

करिअर विकासको उचित मार्ग नहुँदा र दुर्गम क्षेत्रमा काम गर्ने डाक्टरलाई कुनै फाइदा नहुँदा पनि उनीहरूले देश छाड्न थालेको वीरासूर्या बताउँछन्।

‘श्रीलंकामा अंहकारले जेलेको र उचनीच गर्ने व्यवस्था छ। डाक्टरहरूले नर्ससँग बस्न र सँगै बसेर खान पनि हुँदैन,’ गामागे भन्छन्, ‘तर, बेलायतमा कसैले कसैलाई त्यसरी कुरा काट्दैन। म त्यस्तो चलनसँग वाक्क भइसकेको थिएँ।’

र पनि, महँगी घट्ने र अवस्था सुध्रिने हो भने केही डाक्टरहरू फर्किने योजनामा छन्।

‘म अनेक मुलुक पुगेको छु। र, कुनै पनि मुलुक श्रीलंकाजस्तो छैन,’ रणसिंगे अराच्ची भन्छन्, ‘श्रीलंकाको अवस्था सुध्रियो भने र हाम्रो कामको दाम पाइने अवस्था भयो भने म खुसी भएर फर्किन्छु।’

तर, त्यसो हुने सम्भावना उनी हाललाई देख्दैनन्। अहिलेलाई उनले उत्तरी आयरल्यान्डलाई नै उनी घर मान्न बाध्य छन्।

(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .